काठमाडौँ । सल्यानको वागचौर नगरपालिका-१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका तीन घर बगाएको छ भने २५ परिवार विस्थापित भएका छन् । गाउँ पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् ।
गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयहरु घर छोडेर विद्यालयमा बसेका छन् । भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ ।
अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घरहरु भासिएको तथा घर वरिपरि पहिरो गएर घर पुरिने अवस्था भएकाले गाउँलेहरु विद्यालयमा बसेको स्थानीय वीरसिंह डाँगीले जानकारी दिए । “यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियौँ, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्यो”, उनले भने ।
पहिरोले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । “विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् । यस्तो अवस्थामा हामी कसरी बस्नु, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं”, स्थानीय पदम खत्रीले भने ।
वाफुखोलाको ओखरेनीमा पहिरोले ठूलो क्षति पुर्याएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका१२ का वडाध्यक्ष दिपककुमार वलीले बताए । “अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको र राहतका लागि पहल गरिनेछ”, उनले भने ।
बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा रहेका छन् ।