काठमाडौँ । नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लाई संशोधन गरी लागू गर्न माग गरेको छ ।
ती ऐन अगामी भदौ १ गतेदेखि लागू हुँदैछ । सङ्घले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी ती ऐन लागू भएपछि चिकित्सकलाई स्वास्थ्य सेवा प्रवाह गर्न अप्ठ्यारो पर्ने जनाएको छ ।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा डाक्टरलार्इ ५ वर्ष कैद सजाय हुने लगायतका व्यवस्था संशोधन गर्न चिकित्सक संघको माग छ । संशोधन नभए भदौ १ बाट एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने संघले घोषणा गरेको छ ।
सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठले ऐनमा लापरवाही र बद्नियत शव्दको स्पष्ट व्याख्या नभएको हुँदा ती ऐनका कारण चिकित्सकलाई सेवा गर्न अप्ठ्यारो पर्ने बताउनुभयो ।
मुलुकी अपराध संहितामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र हेलचेक्र्याइँले बिरामीको मृत्यु भएमा ३ वर्ष कैदको व्यवस्था भदौ १ देखि कार्यान्वयनमा आउने भएपछि देशभरका चिकित्सकहरुले चर्को बिरोध जनाएका हुन् ।