चोरीको आरोपमा तीन जना समातिए

रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले छुट्टा छुट्टै चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्लाको मुसिकोट नगरपालिकाका विभिन्न ठाउँमा चोरी गर्ने तीन जनालाई चोरी गरेको सामाग्री, नगद सहित सार्वजनिक गरिएको थियो ।

चोरीको आरोपमा आठविसकोट नगरपालिका ७ स्थायी घर भएका तर अहिले खलंगामा बस्दै आएका २१ बर्षीय महेश बुढालाई गत २७ गते विभिन्न सामान र नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयक प्रहरी उपरिक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार बुढाको साथबाट काँसको थाली ६ वटा, काँसको कचौरा ११ वटा, सुनको बेरुवा औठी ३ वटा, सुनको सिक्री एक थान नियन्त्रणमा लिइएको छ ।

यस्तै चाँदीको सिक्रि २ थान, कस्तुरीको दाह्रा एक थान र ७ हजार ३० रुपैयाँ नगद समेत फेला पारेको प्रहरीको भनाई छ । उनले खलंगाको मठका राजकुमार पुन र बिवा समाल गिरीको घरको ताला फोडी सुनका गहना तथा काँसको भाँडा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताए ।

यस्तै महिलाले लगाउने म्याक्सी लगाएर चोरी गर्ने अन्य दुई जनालाई पनि प्रहरी पक्राउ गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ का २३ बर्षीय बलबहादुर कामी र रुकुम पूर्व सिस्ने गाउँपालिका ८ का २१ बर्षीय धनबहादुर सार्कीलाई पक्राउ गरिएको उनले जनाए । उनिहरुले मुसिकोट नगरपालिका ५ पोखराकी एक महिलालाई जबरजस्ती करणी गर्ने र धनमाल उट्ने उद्धेश्यले महिलाको पहिरनमा गएर चोरी गरेको बताइएको छ ।

दुवै जनाले कोठा भित्र गएर महिलालाई घाँटी थिचि भुइमा लडाई बोल्न नदिएर घरभित्र रहेको बाकसबाट ८३ हजार रुपैयाँ नगद चोरी गरेको प्रहरीको भनाई छ । उनिहरुको दुवैलाई गत २३ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको सबैलाई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published.