काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनी बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।
वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घट्न नसकेको हाे।
आर्थिक वर्ष २०७३/०७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको मृत्यु भएकोमा गत आव २०७४/०७५ मा यो संख्या बढेर ८२१ पुगेको काराेबार दैनिकमा समाचार छ।
यो संख्या विदेशमा मृत्यु भई आर्थिक सहायता पाउने युवाको संख्या मात्र हो। आर्थिक सहायतको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोड्ने हो भने अझ बढी हुने देखिन्छ। सबै भन्दा बढी मलेसियामा २ सय ८९ जना साउदीमा २ सय ३ र कतारमा १ सय २३ जना रहेका छन्।