ठेकेदारले काम रोक्यो, पहिरो खसेर सडकखण्ड अबरुद्ध

ओखलढुंगा । वर्षातका कारण ठाँउठाँउमा पहिरो झरेपछि ओखलढुंगा रुम्जाटार सडकखण्डमा पुर्ण रुपमा अबरुद्ध भएको छ । कालोपत्रेका लागि भत्काईएको सडकखण्डमा वर्षातका कारण ठेकेदारले काम गर्न छोडेपछि पहिरो खसेर अबरुद्ध भएको हो । कालोपत्रेका लागि माटो फिलिङ गरेर वेश निर्माणको काम गर्दै गर्दा छोडिएको उक्त सडक खण्डमा माथीबाट झरेको पहिरोले सडक नै पुरेको छ । काम छोडेपछि वर्षाका कारण हिलो र पहिरो खसेर आवतजावत पुर्ण रुपमा ठप्प भएको स्थानीयले बताए ।

कालोपत्रेको काम नभएपनि अबरुद्ध भएको सडकखण्ड तत्काललाई खुलाउन ठेकेदारलाई आग्रह गर्दा समेत अटेर गरेको स्थानीयको आरोप छ । अहिले उक्त सडकखण्ड पुर्ण रुपमा बन्द छ । यसले सिद्धिचरण नगरपालिकाको वडा नम्बर ४ र ५ तथा चिसंखुगढी गाउँपलिकाको माम्खा, रातमाटे तथा सेर्ना लगायतका स्थानमा जानुपर्ने यात्रुलाई झन्डै दोब्बर बाटो घुमेर जानुपर्ने बाध्यता छ ।

बाटो खुलाउन ताकेता गर्दा समेत ठेकेदारले सुनुवाई नगरेको सिद्धिचरण नगरपालिकाकी उपमेयर इच्छाकुमारी गुरुङले बताइन् । ‘बर्षामा समेत काम नरोक्ने भनेर काम गरेको अहिले ठेकेदारले काम रोकेको छ’ उनले भने ।

‘ठेकेदारले काम रोकेपछि हिलोबाटो त्यसमाथी माथीबाट पहिरो खसेर सडक नै अबरुद्ध छ’ । एसीयाली विकाश बैँक र स्वीस सरकारको सहयोगमा निर्माण सुरु भएको यस ओखलढुङ्गा–रुम्जाटार सडक खण्डमा भुकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालिन भूकम्पीय सहयोग अन्तर्गत काम थालिएको हो ।

कुल १८ करोड ३० लाख २२ हजार ५२ रुपैंया लागतमा ११.१ किलोमिटर कालोपत्रे गर्ने ठेक्का लागेको सडकको ३.७५ मिटर चौडाईमा अलकत्रा र ७५–७५ सेमीको सोल्डर तथा १ मिटरको ड्रेन गरी ६.२५ मिटर रहनेछ । तर सडकको कुल चौडाई क्षेत्र भने १० मिटर रहनेछ । हाल यस सडक खण्डमा वर्षा लागेको बहानामा निर्माण कम्पनीले सडक चौडा बनाउन खनेको माटो र ढुंगा समेत अलपत्र परेर सडमै छोडेका छन् ।

Leave a Reply

Your email address will not be published.