कञ्चनपुर । कञ्चनपूरमा गत शनिबार रातिदेखि भइरहेको वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै जनजीवनसमेत प्रभावित बनेको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर भारत ओहोर–दोहोर अवरुद्ध भएको छ।
महाकाली नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेज (बनबासा) पुलमा चारपाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।
शनिबार गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख १७ हजार ४०० क्युसेक रहेको प्रहरीले जनाएको छ। गड्डाचौकी प्रहरीले बिहान १० बजेदेखि पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारीसाधन रोक लगाइएको थियो ।
लामो समयदेखि पुल जीर्ण भएका कारण भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्दा आवागमनमा रोक लगाउँदै आएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले महाकालीमा पानीको बहाव बढ्दै गएको जानकारी दिए। उनले पानीको बहाव बढेसँगै महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रहसमेत गरिएको बताए।