सरकारले ‘सामुद्रिक राहदानी’ ल्याउँदै- न समुद्र छ न त पानीजहाज नै !

काठमाडौ‍ं । सबैलार्इ थाहा भएकै कुरा हो, नेपालमा समुद्र छैन र सीधा समुद्रसम्मको पहुँच पनि छैन। न यहाँ पानीजहाज नै छ। तर सरकार भने ‘सिम्यान्स पासपोर्ट’ अर्थात सामुद्रिक राहदानीको व्यवस्था गर्न लागेको छ।

नेपालीमा चर्चित उखान छ( नानी पाउनु कहिले कहिले, कोत्रो बुन्नु अहिले । सरकारले पनि यही उखानसँग ठ्याक्कै मेल खाने गरी राहदानी ऐनमै सिम्यान्स पासपोर्टको व्यवस्था गर्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षभित्र नेपाललाई समुद्रसँग जोडेर पानीजहाज चलाउने दाबी गरेकै आधारमा परराष्ट्र मन्त्रालयले राहदानी ऐन २०७५ सम्बन्धी प्रस्तावित ऐनमै सामुद्रिक राहदानी प्रदान गर्ने व्यवस्था समावेश गरेको हो।

नयाँ ऐन लागू भएपछि राहदानी ऐन २०२४ मा उल्लेख ४ वटा राहदानी बाहेक सिम्यान्स र सर्भिस पासपोर्ट राहदानी थप गरिएको आजको कारोबार दैनिकमा खबर छ।

सर्भिस राहदानी राष्ट्रसेवक कर्मचारीका लागि प्रयोगमा ल्याइने छ भने सिम्यान्स राहदानी पानीजहाज वा समुद्रमा काम गर्ने नेपाली चालकदेखि मजदुरलगायत प्रयोगकर्ताका लागि जारी गरिनेछ। हाल सरकारले कूटनीतिक(रातो), विशेष (निलो), साधारण( हरियो) र यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट कालो) गरी चार प्रकारका राहदानी जारी गर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार सर्भिस राहदानी र सिम्यास राहदानी थप गरिएको हो।

यसैगरी, सरकारले राहदानी दुरुपयोग गर्नेमाथि पनि कडा नीति अपनाउने भएको छ। राहदानी दुरुपयोग गर्ने र दुरुपयोगमा मतियार रहेकाविरुद्धको कारबाहीलाई प्रभावकारी बनाउन कैद र विगो र जरिवानाको मात्रा बढाएको छ।

Leave a Reply

Your email address will not be published.