काठमाडौँ, २७ साउन – सरकारले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्ने भएको छ ।
२००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति मान्न सरकार सकरात्मक रहेको छ । शुक्रबार रामप्रसाद राई स्मृति प्रतिष्ठान र रामप्रसाद राई फाउण्डेशन नेपालले जननायक राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै संयुक्त रुपमा बुझाएको अनुरोधपत्र बुझ्दै प्रधामन्त्री केपी शर्मा ओलीले अब केहि दिनभित्र नै सबै पक्षसँग आवश्यक परामर्श गरेर निर्णय गरिने बताएका छन् ।
यसै गरी उपराष्ट्रपति नन्दकिशोर पुनलाई पनि अनुरोधपत्र बुझाइएको छ । उपराष्ट्रपति पुनले परिवर्तनका संवाहक राज्यबाट राष्ट्रिय विभूतिबाट सम्मान गरिनु पर्ने विचार व्यक्त गर्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।
प्रतिष्ठानकी अध्यक्ष तारादेवी राई र फाउण्डेशनकी अध्यक्ष सुष्मा राईले दुवै संस्थाका तर्फबाट संयुक्त रुपमा प्रधानमन्त्री र उपराष्ट्रपतिलाई अनुरोधपत्र बुझाएका थिए । अध्यक्षद्वयले सरकार सँग राईलाई शिघ्र राष्ट्रिय विभूति घोषणा गर्न जोड दिएका छन ।
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न जनस्तरबाट लामो समय देखी माग हुँदै आइरहेको छ ।