- योगेश खपाङ्गी
आफ्नो स्वार्थसिद्धिका लागि मान्छे यतिसम्म गिर्नसक्छ भन्ने गढीमाइको मेलामा गएर हेरे हुन्छ । आफ्नो मनोकामना पूरा हुने आशामा हजारौं पशु/पंक्षीहरुको सामूहिक हत्या गरिन्छ । ती अबोध पशुहरु कयौं दिनदेखि भोकभोकै हुन्छन् तर तिनलाई न धर्म कमाउन गएका भक्तजन न त मेला आयोजक समितिले नै पेट भर्ने प्रबन्ध गर्छन् !
त्यसो त हाल गढीमाइ मेलामा दिइने पशु बलीको विरोध सर्वत्र भइरहेको छ । तर, पनि यसपटक अघिल्लो पाँच वर्षको मेलामा भन्दा अझ बढी बली दिइएको छ । २०७१ सालको मेलामा ५ हजारको हाराहारीमा राँगा/पाडो बली दिइएको थियो भने यसपटक ८ हजारभन्दा बढी राँगा/पाडो तथा अनगिन्ती बोका तथा हाँस, कुखुरा र परेवा बली दिइएको छ ।
हाल हामी २१ औं शताब्दीको संघारमा छौं । अहिलेको युग उपकरणको युग हो । संसारका अरु देशहरु मंगलग्रहमा पानीको खोजीमा छन् । कतिपय देश हामीले देउती माता भनेर पूजा गर्ने चन्द्रमामा तरकारी खेती गर्ने तथा मानव बस्ती बसाउनका लागि अनुसन्धानरत छन् । हाम्रो हातमा पनि संसारकै लेटेस्ट मोबाइल सेट छ । तर अझै पनि हाम्रो एउटा खुट्टा चन्द्रमा र अर्को खुट्टा गोबरमा भनेजस्तै अवस्थामा छ । घर, स्कुल, बजार, चोक र गल्लीहरुमा रातदिन आधुनिक विश्वका बारे कुरा भइरहेको हुन्छ तर हाम्रा प्रायः नागरिकको सोच धर्मको सवालमा ज्यूँका त्यूँ छ ।
बली रोक्न बुद्धको प्रयास
भारतीय उपमहाद्वीपमा जारी बली प्रथा रोक्न २५ सय वर्ष अघि नै महामानव बुद्धले पनि प्रयास गरेका हुन् तर उनको अभियान केही हदसम्म मात्र सफल भयो । तर, उनको प्रयासले बलीप्रथा निमिट्यान्न हुन सकेन ।
बुद्धको कालमा अहिलेभन्दा झन् बढी बलीको प्रकोप थियो । त्यसलाई पूरै निषेध गर्न असम्भव थियो । त्यसैले उनले त्यसलाई थोरै परिपार्जन गर्ने प्रयासस्वरुप बली दिनुजत्तिकै लाभ यज्ञ गर्दा हुन्छ भन्ने मान्यतालाई प्राथमिकता दिंदै बलीको सट्टा यज्ञलाई बढी प्राथमिकतामा राख्ने प्रयत्न गरे ।
यज्ञ परम्परा अझै जारी छ तर साथ–साथै बलीप्रथा पनि उसैगरी जारी छ ।
बलीमा अन्धविश्वास र हिन्दु धर्म
बलिप्रथाबारे समग्रमा धर्म नै दोषी छ । यसमा बुद्धिज्मलाई एउटै झोलामा राखेर भन्न मिल्दैन । तर इशाई, मुस्लिम वा हिन्दुलगायतका अन्य धर्ममा बलीलाई महत्वका साथ लिइएको छ । यद्यपि, हिन्दुहरुको मूल दर्शनमा बलीलाई गलत ठहर्याइएको छ । हिन्दु दर्शनले अहिंशालाई परमधर्म भनेको छ । छान्दोग्य उपनिषद्मा कलियुगमा धर्मको नाममा हुने बलीलाई गलत काम भनिएको छ । साथै पशुबलीलाई निषेध नै गरिएको छ । तापनि हिन्दुबहुल नेपाली र भारतीय समाजमा बलीप्रथा जारी छ । यसो हुनुमा हिन्दु धर्मका ऐँजेरु ग्रन्थहरुको प्रमुख भूमिका छ, जसले लाभ र सौभाग्यसँग यसलाई जोडेर अन्धविश्वास फैलाए ।
ऐँजेरु ग्रन्थमा बली
सत्यनारायण व्रत कथा, अध्याय ५, श्लोक २२ मा लेखिएको छ –
सत्यसन्यश्र्य साधुमौरध्वजोडभवत ।
देहार्ध क्रक चैश्छित्त्वादत्त्वा मोक्षमवाप ह ।।
अर्थात्, धार्मिक तथा सत्यवति साधु मोरध्वज नामको राजा भए । उसले आराले चिरेर आफ्नो छोराको आधा शरीर भगवान विष्णुलाई अर्पित गरेर मोक्ष प्राप्त गरे ।
सत्यनारायण ब्रत कथामा उल्लेखित साधु मोरध्वज अघिल्लो जन्ममा गरेको सत्वव्रतको प्रभावले जन्मिएको भनिएको छ । त्यसको कथा यस्तो छ –
एकपटक भगवान आफ्नो भक्त राजा मोरध्वजको घरमा साधुको भेषमा पुगे । भगवानले राजालाई भने, ‘तिमी र तिम्री रानी दुबैले आफ्नै हातले आफ्नो छोरालाई आराले चिरेर उसको मासु पकाएर मलाई खुवाऊ र आफूहरु पनि खाऊ । यसो गर्दा तिमीहरुमध्ये कसैको पनि आँखामा आँशु आउन हुँदैन, अन्यथा म रुष्ट भएर तिमीहरुलाई श्राप दिनेछु ।’
राजाले साधुले भने अनुसार नै गरे । साधुले उनीहरुलाई त्यो मासु खान बाध्य पारे । जसै उनीहरुले आफ्नो भागको मासु खाए । साधुले रानीलाई आफ्नो छोरालाई बोलाउन आग्रह गरे । त्यसपछि रानीले छोराको नाम दिएर बोलाइन् ।
रानीले बोलाउने बित्तिक्कै मुस्कुराउँदै उनीहरुको छोरा प्रकट भए । राजा र रानी अति प्रशन्न भए । उनीहरुको सबै इच्छा पूरा भयो । साधु अदृश्य भए । राजा–रानी मृत्युपश्चात् स्वर्ग गए ।
यो र यस्ता कथाहरुका कारण आजपर्यन्त आमजनको अवचेतन मनमा नरबलीप्रतिको धारणा जरा गाडेर बसेको छ । भारतमा अंग्रेजले सन् १८४५ मा नरबलीलाई दण्डनीय अपराध घोषित गरेको थियो । त्यसपश्चात् नरबलीको घटनामा कमी आयो तर पशुबली रोक्नका लागि कुनै ठोस कदम चाल्न सकेको छैन । अझै पनि नेपाल र भारतमा फाट्टफुट्ट नरबली दिइएको समाचार सुन्न पाइन्छ ।
यसका अलावा बालबालिकालाई स्कुले पाठ्यपुस्तकमा पढाइने पञ्चतन्त्र र हितोपदेशसमेत बलीका लागि उत्तिकै जिम्मेवार छन् । त्यसमा पनि शूद्रक वीरवरको कथा उत्तिकै आज पनि लोकप्रिय छ । कथामा वीरवरलाई लक्ष्मीले भन्छिन्, ‘यदि तिमीले आफ्नो सबैभन्दा सुन्दर छोराको सर्वमंगला देवीको मन्दिरमा बली चढायौ भने तिम्रो राजाको राज्य चिरस्थायी हुन्छ ।’
त्यसपछि वीरवरले आफ्नो छोराको बली चढाउँछ । लगत्तै आफूलाई पनि बलीमा चढाइदिन्छ । बली पाएर देवी प्रशन्न हुन्छिन् अनि देवीले उसलाई र उसको छोरालाई पुनर्जीवित गरिदिन्छिन् । दोस्रो दिन उसलाई राज्य पनि इनाममा प्राप्त हुन्छ ।
यस्ता अन्धविश्वासपूर्ण कथाहरुकै कारण बालमस्तिष्कमा बलीप्रति सकारात्मक धारणा विकसित हुँदै जान्छ । उसको मनमा घर गरेको बलीले बुढेसकालसम्म पनि छोड्दैन । जसले गर्दा जतिसुकै कपाल किन नपकाओस् उसको बचकाना जस्ताको त्यस्तै रहन्छ र बलीका लागि सदा उत्सुक रहन्छ ।
अब के ?
अमानवीय गढीमाईको मेलाको चर्चा विश्वभरिकै सञ्चारमाध्यले प्रमुखताका साथ प्रचारप्रसार गरिरहेका छन् । यसले विश्वभर नै नेपालको आधुनिक छवीलाई कालो पोत्ने काम गरिरहेको छ । धर्मका नाममा फैलिएका यस्ता कुकर्मलाई तत्काल रोक लगाएर जनतालाई धार्मिक पाखण्डको चङ्गुलबाट निकाल्न जरुरी छ । ‘समयबद्ध‘ बाट