दशैं नजिकिंदो छ । अब टोल–टोल र घर–घरमा ‘मार्रा’ भनेर छाती पिटेको आवाज सुन्न पाइने छ । जुवा खेल्दा कौडा फाल्ने जुवाडेको उत्तेजनावस छाति पिटेरर मार्रा भन्ने गर्दछन् ।
त्यसो त नेपालमा जुवाको खाल जुनसुकै बेला चलिरहेको हुन्छ । सेटिङ नमिल्दा कहिले काहीं प्रहरीले जुवाडेहरुलाई पक्डिटोपलेको पनि हुन्छ । तर चाडबाडका बेलामा जुवा खेल्दा प्रहरीले पनि नदेखेझैं गरिदिन्छ, जसले गर्दा जुवा संस्कृति नेपाली चाडको एक अभिन्न अङ्ग बन्न गएको छ ।
जुवा संस्कृति हिन्दुहरुको सनातन परम्परा हो । हिन्दुहरुको विभिन्न धर्मग्रन्थमा जुवाको उल्लेख गरिएको छ । थाहा भए अनुसार जुवा खेल्नुलाई गलत परम्परा भन्ने हो भनी हिन्दुहरुको कुनै ग्रन्थमा कहीं कतै उल्लेख गरिएको पाइँदैन । महाभारतमा ‘धर्मराज’ युधिष्टिरले सारा श्रीसम्पत्तिसहित पाँच भाइकी साझा पत्नी द्रौपदीलाई जुवामा हारेको त हजारौं वर्षदेखि सुन्दै आएको कथा हो । त्यसै जुवाका कारण उनीहरु १३ वर्षसम्म वनबास जानुपरेको थियो ।
त्यसैगरी जुवाका सम्बन्धमा राजा नलको कथा पनि उत्तिकै प्रसिद्ध छ । राजा नलले जुवामा हार्दा आफ्नी प्रिय पत्नी दमयन्तीलाई राति नै छोडेर हिँड्नु परेको थियो ।
जुवा : एक ताज्य परम्परा
प्राचीन भारतीय समाजमा जुवा खेल्नु गौरवको कुरा थियो । कसैले जुवा खेल्न आमन्त्रित गरेमा त्यसलाई अस्वीकार गर्नु सभ्यताका विरुद्ध थियो भनी भारतीय इतिहासकारहरुले उल्लेख गरेका छन् । नेपाल पनि हिन्दु परम्परागत समाजकै अङ्ग भएको हुँदा यहाँ पनि त्यस्तै अवस्था थियो होला भनी सहज अनुमान गर्न सकिन्छ । तर आजको सभ्य समाजले जुवाका कारण जुवाडेहरुको घर–परिवारको उठीबास भएको, दुःख, दर्द झेलेको, कलह भएको सबै देखेको छ । त्यसैले आज जुवा खेल्नु राम्रो मानिंदैन । तर हिन्दु धर्म र संस्कारमा गर्व गर्नेहरुका लागि के जुवा एक गौरवपूर्ण खेल हो त ? होइन भने आफ्नी प्रिय पत्नी समेतलाई जुवामा हार्ने तथा खुला सभामा स्वास्नीको इज्जत लुटिँदा चुपचाप बस्ने युधिष्ठिरजस्ता व्यक्तिलाई किन धर्मराज, आदर्श पुरुष भनिन्छ ? बुहारीको इज्जत लुटिँदा ट्वाल्ट्वाल्ती हेर्ने अरु सबैलाई किन भगवानको दर्जा दिइन्छ ?
छल, कपट र जुवालाई किन गौरवपूर्ण तरिकाले घोकिरहने ?
आदिदेव महादेवलाई देवताको पनि देवता भन्ने गरिन्छ । धर्मग्रन्थहरुका अनुसार महादेव पनि जुवा खेल्न पारंगत थिए । महादेव पत्नी पार्वतीले आफ्नो पुत्र गणेशलाई पनि जुवा खेल्न सिकाएकी थिइन् ।
जुवा खेल, खेल होइन, एक कपट पनि हो । हिन्दु धर्मले जुवाडे र कपटीहरु भगवान भन्न सिकाउँछ ।
प्राचीन कथा अनुसार विष्णुले पार्वतीलाई छल्न प्रयत्न गरेका थिए । विष्णुले थुप्रै महिला र पुरुषहरुलाई छलकपट गरेका थिए । तर, तिनै कपटी विष्णुलाई हिन्दुहरुले ईश्वर मान्नु दुःखद कुरा हो ।
भौतिकवादको कसीमा ईश्वरको अस्तित्व कतै छैन । मार्क्सवादको ‘ब्याक बोन’ भनेको भौतिकवाद हो । तर नेपालका आफूलाई मार्क्सवादी भनाउने दार्शनिक, नेतागण, कार्यकर्ता र समर्थक समेत मन्दिर–मन्दिर धाउने तथा जुवा खेल्ने गरेका छन् । यदि कार्ल मार्क्स आज जीवित भएका भए सम्भवतः नेपालका यस्ता नक्कली कम्युनिस्टलाई कार्वाहीको उर्दी जारी गरिसकेका हुन्थे ।
प्राचीन समयमा जुवा संस्कृति सुरु गर्ने कथित महापुरुष एवम् श्रद्धाका पात्र तथा देवतागणलाई अब त आजको कसीमा घोटेर हुर्नु पर्छ कि पर्दैन ? जसले जुवालाई परम्परको रुपमा सुरु गरे र जसले गलत कार्य हो भनी प्रतिबन्ध लगाइरहेका छन् । दुई पक्षमध्ये कुन बढी बुद्धिमान् भनी मान्नु पर्छ ? उत्तर सहज छ– प्राचीन आदर्श देवतागणभन्दा आजको मानिस बुद्धिमान् छ ।
त्यसैले विगत जे–जस्तो भए पनि आजको समाजले संस्कृतिको नाममा खेलिने जुवाजस्ता विकृतिलाई परम्परा र संकृतिको नाममा टाउकोमा बोकेर हिंड्नुभन्दा त्याग्नु नै बुद्धिमानी हुन्छ । – ‘समयबद्ध’ साप्ताहिकमा प्रकाशित