बोल बम : सास्तीको अर्को नाम

  • योगेश खपाङ्गी

हरेक सालको साउनमा झैं यस पटक पनि ‘बोल बम’ नारा लगाउँदै तिर्थ यात्रा जानेको लर्कोे जतासुकै देखिन्छ । बोलबम यात्रीका कारण यो महिनामा प्रायः कतै न कतै सडक जाम भइ नै रहेको हुन्छ । शिवालयमा जल चढाउन जानेको घुइँचो उस्तै छ ।

एउटा करिब पाँच फिट लामो लट्ठीमा दुबैतिर टोकरी बाँधिएको हुन्छ । टोकरीलाई फूल–मालाले सजाइएको हुन्छ । यस्लाई भक्तजनहरु काँवर भन्ने गर्दछन् । यसलाई बोकेर प्रायः पैदलै यात्रा गर्ने प्रचलन छ । काँवर बोकेर तिर्थ जाने भक्तजनहरुले गेरु वस्त्र, टाउकोमा बोलबम लेखिएको फेटा बाँध्ने हुनाले उनिहरुलाई परैबाट शिवभक्त भनेर चिनिन्छ । यसरी पैदलै भारतको बाबाधाम, हरिद्वार तथा अन्य विभिन्न शिवालयमा गंगाजल चढाउन जानेहरुमा अधिकांश युवाहरु र थोरै मात्र प्रौढ पुरुष नै हुन्छन् ।

यसरी कठिन यात्रा गरेर शिवलाई जल चढाएमा शिव प्रशन्न हुने र आफूले चिताएको कुरा पुरा हुने उनिहरुको मान्यता रहिआएको छ । तर आजको वैज्ञानिक युगमा उनिहरुलाई कस्ले बताइदेओस् कि मनको इच्छा पुरा गर्न कुनै धाम जानु पर्दैन, बरु कडा मेहेनत र स्मार्ट आइडिया लगाउनु पर्छ भन्ने !

बाबाधाम यात्रामा ‘ट्र्याजेडी’ :

कुरा दुई दशक अघिको हो । झापा शनिश्चरे बजारमा एक मारवाडी परिवार बस्थ्यो । बाबु, आमा र एक मात्र सन्तान ब्यापार–व्यवसाय गरेर राम्रैसँग बसेका थिए । हरेक साउन जस्तै त्यस पटक पनि लक्का जवान छोरो बोलबमको नारा घन्काउँदै शनिश्चरेभरका युवा टोलीसँग बाबाधामको यात्रामा निस्कियो । यो यात्रा सँधै साउन महिनामै गरिने हुँदा त्यसपटक पनि पानी झम्झम् पर्ने, भेल–बाढी आउने, बाटो–घाटो खराब भएको थियो । तर भक्तजनको जिदको अगाडी कस्को के लाग्छ र ! खराब मौसमको पर्वाह नगरी टोली कठिन यात्रा गर्दै काँवर यात्रामा निस्कियो, तर मोरंगको कानेपोखरीमा पुल वर्षेभेलले बगायो । स्थानीय मानिसहरुले त्यसमा एउटा रुख ढालेर वारपार गर्ने व्यवस्था त गरे तर त्यसै ढलेको रुखमा चिप्लिएर उनि गडगडाउँदो भेलमा खसे । मानिसहरुले बचाउनुपूर्व नै उन्ले प्राण त्यागे । पानीले भुक्क फुलिएको लाश केही दिन पनि त्यो मारवाडी परिवारको आँगनमा थियो । परिवारको रुवावासीले त्यहाँको दृष्यहृदयविदारक भएको थियो ।

बाबाधाम यात्राको क्रममा खालीखुट्टा यात्रा गरेका कारण फर्किएको धेरै दिनसम्म काँवरयात्री थला नै पर्छन् । कतिको पाकेटमारले त्यस्तै बिजोग गराउँछन् । कोही बाटो भुलिएर त्यस्तै सास्ती पाउने गरेको प्रशस्त उदाहरण छ ।

असार–साउन महिना वास्तवमा हिँडडुल गर्ने मौसम हुँदै होइन । तर हिन्दूहरुको अधिकांश तिर्थयात्रा साउनमा नै हुने गरेको छ । यस्तो यात्राले ज्यानको जोखिम त हुन्छ नै खेतिपातीको काममा समेत असर पार्ने गरेको छ । त्यसमाथि काँवर यात्रामा जाने क्रममा धेरैजस्तो लाई ऋण पनि लाग्छ ।

मैमत्ता बोलबम यात्री :

काँवर यात्रामा जाने अधिकांश युवा नै हुनेहुनाले यात्राको क्रममा मैमत्ता भएर हिडिरहेका हुन्छन् । प्रायः युवाले अत्यधिक शिवबुटी (गाँजा,भाँग, धतुरो) ग्रहण गर्ने हुनाले होस्चेत गुमाएको अवस्थामा भेटिन्छन् भने कतिपय चै रक्सी÷बियर समेत खाएका हुन्छन् । काँवरयात्री मोटरसाइकिलमा सवार छन् भने फेटा बाँधे पछि पुग्छ, हेलमेट लगाउनु पर्दैन । अरुलाई हेलमेट लगाउँदा तुरुन्त चिट काट्ने ट्राफिक प्रहरी पँहेलपुर लुगा देखेपछि हेलमेट नलगाएको कुनै पर्वाह गर्दैन, मानिलिऔं उनिहरुको टाउको धातुको होस् ।

बोलबम यात्राको क्रममा मैमत्ता भएकै कारण कयौं युवाहरुको झडप भएर अकालमै ज्यान गएको र कतिपय चैं बेखर्ची भएर बिजोग भएको, टिकट भाडा तिर्न नसकेर ट्रेनको टिटीले पक्डेर जेलको हावा सम्म खानुपरेको समाचार भारतीय अखवारहरुमा छापिइरहेको हुन्छ । तर यस्तो कुरामा भक्तजनले थाहा नपाए जस्तो नै गर्नेगरेका छन् ।

शिव खुसी पार्न गंगाको जल शिवलिंगमै किन ?

पौराणिक कथाहरुमा गंगालाई पार्वतीको बहिनी रहेको उल्लेख छ । गंगा शिवको मस्तिस्क स्थानबाट बहेको चित्रहरुमा देखाइन्छ । तर टाउकोबाट निस्किएकी गंगालाई शिवको लिंगमा राख्दा शिव खुसी हुने कुराको कुनै तुक भने भेटिदैन ।
पैदल यात्राको के अर्थ ?

हिन्दू देवी–देवताको वासस्थान कथित तरिकाले प्रायः अप्ठ्यारा स्थानमै हुने गर्दछ । त्यसैले त्यस्ता स्थानमा पूण्य कमाउन जानु फलामको च्युरा चपाउनु जत्तिक्कै हुन्छ । तापनि भक्तजनहरु कठिन यात्रा गरेर दर्शनका लागि जाने गरेका छन् । यसरी जबरजस्ती बसको यात्रामा जानेहरुको वर्षेपिछे दूर्घटना भएर अकालमै ज्यान गएको समाचार सुन्नमा आइरहेको हुन्छ । त्यस्तो भएमा उनिहरुलाई कतिपयले ‘पापी थिए होला, त्यसैले भगवानले प्राण हरण गरे’ भनेको समेत सुनिन्छ । धार्मिक यात्रामा एक त ज्यान गयो, त्यस पछि पापी पनि भनाइ माग्नु दुःखपूर्ण कुरा त हो नै, तापनि जति कठिन यात्रा उति पुण्य कमाइने हिन्दूहरुको मान्यता रहिआएको छ । त्यसैले धार्मिक यात्रामा अझ दुःख झेल्ने मनसायले खाली खुट्टै लामो दूरी पार गर्ने चलन छ । तर यसरी यात्रा गर्दा अधिकांशको खुट्टामा फोका उठेर देवालय र पुण्यमा ध्यान कम, खुट्टाको दुखाइमा बढी गएको प्रष्ट देखिन्छ ।

यसरी कठिन यात्रा गरेर पनि प्रायः कसैको पनि मनोकामना पुरा भएको भन्ने कुनै पक्का दृष्टान्त छैन । कसै कसैको पुरा भएको भएता पनि त्यसो हुनुमा उस्ले गरेको कडा मेहेनतले नै भएको हुन्छ ।

कठीन धार्मिक यात्रा गरेर पनि सफलताको लागि पुजा–पाठ–तिर्थ–ब्रत बस्नुको के अर्थ रह्यो ? – ‘समयबद्ध’मा प्रकाशित

Leave a Reply

Your email address will not be published.