काठमाण्डौँ ,२५ साउन – नेपाली काङ्ग्रेस पार्टी जिल्ला कार्यालयले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेशकुमार यादवले वर्षा र सिँचाइको उचित व्यवस्था नहुँदा यहाँका कृषक मारमा परेको भन्दै सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा स्थानीय नेता ध्रुव देवले राजविराज नगरपालिकाले अदालतको आदेशलाई लत्याउँदै राजनीतिक प्रतिशोधका कारण आफ्नो घर भत्काएको आरोप लगाउनुभयो ।
नगरपालिकाले पूर्वसूचना बिना आफ्नो घर तोडफोड गरेको बताउँदै उहाँले भित्री सडक बिस्तारका नाममा आफ्नो घरलाई मात्र लक्षित गरी तोडफोड गरिएकामा आपत्ति पनि जनाउनुभयो ।
साउनको अन्तिम सातासम्ममा पनि करिब आधा प्रतिशत धान रोपाइँ भएपछि कृषकहरु मारमा परेका छन ।
यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नभएको र १५ दिन अगाडिको वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीले खेतीयोग्य जमीन डुबानमा परेका कारण जिल्लामा ३५ प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
किसानले सधैँ आकाशे पानीको भरमा खेती गर्नुपर्दा पनि सरकारले सिँचाइको उचित व्यवस्था गर्न नसकेका कारण अधिकांश खेतीयोग्य जमीन बाँझै रहने गरेको सम्बद्ध कृषकको भनाइ थियो ।
जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये साउनको अन्तिम समयमा ४१ हजार ५०० हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो ।
मुलुककै पुरानो नहरका रुपमा रहेको चन्द्रनहर जीर्ण भएको र जिल्लामा रहेका अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनालेसमेत खेतीको समयमा खेतमा पानी हाल्न नपाउँदा यहाँ धान रोपाइँ ढिलाइ हुने गरेको कृषकको गुनासो छ ।