पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुल्ला पत्र

  • मदनकुमार अधिकारी

पूर्वराजा श्री ज्ञानेन्द्र शाहमा मेरो तर्फबाट नमस्कार तथा यहाँको ७३औं जन्मदिवसको अवसरमा केही ढिलै भएपनि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।

धेरैदिन देखिको धोको थियो कि तपाईंको नाममा एउटा खुलापत्र लेखुँ तर अनुकूल मिलिरहेको थिएन । केही ढिलै भएपनी,  यतिबेला तपाईंको जन्मोत्सवको अवसर पारेर यो पत्र लेख्ने जमर्को गरेको छु ।  स्वभावत: म गणतन्त्रबादी भएपनी तपाईँलाई यो पत्र लेख्दैगर्दा आफ्ना राजनैतिक आग्रह र पूर्वाग्रहका पोका-पन्तुराहरू अलि परै राखेर आत्मीक तलबाटै लेख्ने ईमानदार प्रयत्न गरिरहेको छु भन्नेकुरा समेत तपाईलाई अवगत गराउन चाहन्छु ।

श्रद्धेय पूर्वराजा ज्यू !

हाम्रो गाउँमा विद्यालय थिएन ५-७ किलोमीटर हिंडेर किसानपुर भन्ने ठाउँमा पढ्न जानु पर्दथ्यो,  अनि हरेक पुस १,  १४,  २७ र कार्तिक २२ मा ‘हाम्रो राजा हाम्रोदेश,  प्राणभन्दा प्यारो छ” भन्दै दिनभरी दस गाउँ घुमेर नाराजुलुस लाउन पाउँदा मलाई स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो । यो कुनै बनावटी कुरो होईन,  यथार्थ हो । कार्यक्रममा स्थानीय पञ्चहरू र स्थानीय प्रहरी-प्रशासनका मान्छेहरू उपस्थित भै राजा, राजतन्त्र र राष्ट्रियताका बिषयमा एक से बढकर एक भाषण दिंदा बेलाबेलामा पररर ताली पिट्ने म जस्ता विद्यार्थीहरू समेत यतिबेला समय-सुनामीले घुमाएर,  बटारेर,  पछारेर गणतन्त्रबादी बन्न पुगिएछ, यसका पछाडिका मिहिन र विहंगम कारणहरू खोज्दै र केलाउँदै जाने हो भने अर्को महाभारत नै तयार हुन्छ । अहिले त्यता नजाउँ ।

पूर्वराजा ज्यू !
सायद २०५९ को उत्तरार्धको समय हुनुपर्छ, मलाई तपाईंको नाममा एउटा पत्र लेख्ने हुटहुटी चल्यो । साथै मनमा कताकता डर समेत थियो किनकी मैले तपाईंलाई कुनै स्तुतीगान लेख्न आँटेको थिईन, अपितु राजनीतिशास्त्रको विद्यार्थीको नाताले मेरो बिचार तपाईँलाई सम्प्रेषण गर्न चाहेको थिएँ, देशमा शंकटकाल रहेको तथा मेरो गाउँमा दर्जनौंको निर्मम हत्या भैसकेको सन्दर्भमा पुरै ‘फर्म’मा रहेको तपाईंलाई तपाईंको रूचीभन्दा बाहिर गएर मैले सुझाव दिनु भनेको आफ्नो घाँटीमा आफैं फन्दा लगाउनु सरह कठीन कार्य हो भन्ने कुरा बुझ्दाबुझ्दै पनि मैले तपाईंलाई ‘राष्ट्रनायक सरकार!’ भन्ने सम्बोधनबाट चिठी शुरू गरेर आफ्नो सोझो सुझाव दिएको थिएँ । मैले पत्रमा माओबादी-राजाबादी एकताबाट देश चलाउने विधि सर्बोत्तम हुने अन्यथा बल प्रयोगबाटै बिद्रोही दमन गर्ने सोचिएमा राजतन्त्र नै जोखिममा पर्नसक्ने भन्दै यसबारे गम्भीर भएर सोच्न अनुरोध गरेको थिएँ । पत्र पठाएको करिब डेढ महिना पश्चात् त्यसको जवाफ,  पत्र मार्फतै प्राप्त भएको थियो । “तपाईका कुराहरू श्री ५ महाराजाधिराज सरकार समक्ष जाहेर गरिएकोले सो को जानकारी गराईन्छ” भन्दै पशुपतिभक्त महर्जन, श्री ५ महाराजाधिराजको प्रमुख नीजी सचिवालयको हस्ताक्षर सहित प्राप्त भएको पत्र अहिले पनी मेरो पुस्तक राख्ने दराजको कुनै कुनामा हुनुपर्छ । मैले वा म जस्ताले दिएको सुझाव तपाईंसमक्ष पुग्यो वा पुगेन त्यो थाह हुने कुरै भएन तर सच्चीतसमशेर जबरा, नीक्षसमशेर राणा तथा कमल थापा जस्ता जब्बर राजनैतिक पण्डाहरूको राजनैतिक ज्ञान मात्र सुन्ने र बुझ्ने शक्तिशाली दरवारको अघिल्तिर हामीजस्ता अदनाको आर्तनाद सुनिने कुनै कुरै हुँदैन भन्ने मलाई लागेको थियो । पुर्खाको २३८ बर्षे नासो गुमाएर अन्तिम राजाको किर्तिमान धारण गर्नुपर्दा तपाईंका कष्ट र पीडा कति होलान् भनेर अनुमान गर्दा नि नमिठो लाग्छ । आवरणमा एक राजा रहेपनी पर्यावरणमा तपाईं एक सामान्य मानव हुनुको नाताले, मानवीय संवेदना बुझ्न कठिन छैन ।

भाग्य हो वा दुर्भाग्य थाह छैन तर नियतीले तपाईलाई अनौठो अवसर जुराईदियो । राजकाज के हो भन्ने केही पनि थाहा नहुने बाल उमेरमै राणाको दाउपेचमा श्रीपेंच धारण गर्नुपर्यो भने आफ्नै दाजुको वंश बिनास भएको अकल्पनीय परिस्थितीमा श्रीपेंचको भार उठाउनु पर्यो तर यी दुवै अवसर तपाईंकालागी प्रीतकर हुन सकेनन् र हुनसक्ने कुरा पनि थिएनन् ।

बल मात्र राजनीती हो भन्ठान्ने तपाईंका लागि राजनीती एक खेला र कला पनि हो भनेर बुझ्न गाह्रो थियो किनकी तपाईं स्वयं राजपरिवारको सदश्य भएपनी तपाईंको नसामा, तपाईको रगतमा र तपाईंको सफ्टवेयरमा राजनीती छँदै थिएन । तपाईंको भाव र स्वभावमा त पुस्तक, गीत, संगीत, प्रकृति, प्रेम र व्यापार थियो । हो यहिंनेर भूल भएको हो । ‘ब्लण्डर’ भएको हो । राजपरिवारको एक सदस्यको नाताले तपाईं राजनीतिबाट पुरै निरपेक्ष हुनुहुन्थ्यो भनेर भन्न खोजेको हैन । मैले बिचार गरेर ल्याउँदा, तपाईँलाई एक अनुदार राजनीतिमा रुचि भएको पात्रको रूपमा पाएको छु । आफ्ना पिता  दिवंगत राजा महेन्द्रलाई ठूलो आदर्श मान्ने अनि दिवंगत राजा विरेन्द्रको सुधारवादी शैलीप्रती आक्रामक ढंगको असहमति राख्ने तपाईंको सोच नै प्रकारान्तरमा तपाईंको राजनैतिक अवसानको मुख्य कारण बन्न पुग्यो ।

तपाईका पिता दिवंगत महेन्द्रमा राज्य संचालनका निम्ति एक सुस्प्ष्ट भिजन, मिसन र त्यसका लागि आवश्यक पर्ने साहस समेत थियो भने तपाईका जेष्ठ भ्राता दिवंगत विरेन्द्रमा राज्य संचालनको निम्ति यथेष्ट भिजन, मिसन, सृजनशिलता भएपनी आवश्यक साहस वा हिम्मत थिएन तर अन्यथा नमान्नु होला, तपाईंमा राज्य संचालनका निम्ति भिजन, मिसन र साहस यी सबै अवयवहरूको अभाव भएकै कारण ‘सूर्य-चन्द्र रहेसम्म हाम्रा राजारानी’ भनेर प्रचार गरिएको सुब्यवस्थित राजसत्ता तपाईंले स्पर्श गरेको सात बर्षमै स्वाहा भयो । यसो भनिरहँदा केवल तपाईंकै अयोग्यता वा असक्षमताका कारणले राजतन्त्र ढलेको हो भन्नु चाहिँ भूल हुनेछ । बाह्य संसारसंग एकाकार हुँदै गएको नेपाली समाज र गाउँ नै गाउँले बनेको नेपालको ग्रामीण क्षेत्रमा ब्याप्त असमानता, दमन र सामन्तबादी अर्घेल्याईं अनि आमजनताको अन्तस्करणमा रहेको स्वतन्त्रता,  समानता र न्याय प्राप्ती गर्ने चाह बीचको अन्तरसंघर्ष र यसले जन्माएका जनताका विप्लवी आकाँक्षाहरू राज्य संचालकले बुझ्नै नचाहेको वा नसकेको स्थितीमा चाकरी, गुलामी, रवाफ र आडम्बरमा अडिएको दरवारिया शैली अनि त्यही शैलीले निर्देशित भै चलेको सत्ता आखिर अझै कति नै टिक्न सक्थ्यो र ?

२०६५ साल जेष्ठ २९ गते आफ्नो खानदानी गद्दी गुमाई आफ्नो श्रीपेंच र राजदण्ड नेपाल सरकारलाई बुझाउँदै गर्दाको तपाईंको अनुहार र अनुहारको भाव मलाई अझै याद छ । एउटा राजाको निम्ति गद्दी गुम्नु सबैथोक गुम्नु जस्तै नै हो । गद्दी गुमाउने संसारका धेरै राजा/बादशाहहरूले आफ्नो राज्य नै छोडेर नयाँ मुलुक, नयाँ ठाउँमा गई बसेका अनेकौं दृष्टान्त पाईन्छन् तर तपाईँले यो दुर्दान्त दुखद क्षणमा समेत देश त्याग गरेर पलायन हुनुको साटो,  मणि हराएको नाग झैं बिक्षिप्त हुँदा समेत देशमै बस्ने जुन निर्णय लिनुभयो यो निर्णय वास्तवमै तारिफयोग्य निर्णय हो । यसबाट तपाईको यो राष्ट्रप्रतिको कर्तब्य र प्रीत नि झल्किएको छ । हुन त केही मान्छेहरूले यतिबेला बोलेको सुन्ने गरेको छु, त्यो के भने हाम्रा नेताहरू कोही राष्ट्रबादी रहेनछन्, एउटा राजा मात्र राष्ट्रबादी रहेछन् भनेजस्ता कुराहरू सुन्दा मलाई २०६३ सालको जनाअन्दोलन चरमोत्कर्षमा रहेको बेला भारतीय दूत करण सिंहका अघिल्तिर तपाईंले गद्दी जोगाउनको लागि नझुक्नुपर्ने हदसम्म झुकेपनी जनताको आन्दोलनको तिब्रता र उष्णताका कारण त्यो झुकाईको परिणाम तपाईंको पक्षमा नआएको कुरा संझना हुन्छ जुन धेरैलाई थाह छैन । जे भएपनी तपाईंमा देशप्रेमको गहकिलो भाव चाहिँ नभएको होईन । तपाईंको सजल कवि हृदयले तपाईंलाई देशभक्त नबनी बस्नै र बाँच्नै पनि दिंदैन ।

पूर्वराजा ज्यू !
देश गणतन्त्रमा गएको नि एघार बर्ष भैसक्यो । जनताले सोचेजस्तो सन्तुष्टि गणतन्त्रले दिन नसकेको पनि सत्य हो अनि गणतन्त्र प्रतिको असंतुष्टीकै कारण फेरि राजतन्त्र फर्किने वा फर्काईने छ भनेर सोच्नु चाहिँ कसैगरी पनि सत्य होईन । यो कुरा तपाईंले जत्ती चाँडो बुझ्नु हुनेछ, उत्ति चाँडो तपाईंका दुख, पीडा र तनाव कम हुनेछन् । बिगतका बर्षहरूमा तपाईंले तिर्थाटनका नाममा होस् वा धर्म संस्कृती रक्षाको आवरणमै किन नहोस् या फेरि कुनै फाउन्डेसन वा समाजसेवाको बहानामै किन नहोस्, आफ्नो राजनैतिक स्पेस खोज्ने जुन भरमग्दुर प्रयत्न गरिरहनु भएको छ, सारा समय, शक्ति र श्रम खर्च गरिरहनु भएको छ, मेरो बुझाईमा त्यसको कुनै औचित्य छैन । केही हजार जनसाधारणहरू, राजनीतिको सुख्खा लागेका केही नेताहरू, भुमिकाबिहीन भएका केही प्रशासकहरूले तपाईको वरिपरि घुमेर ‘राजा आउ, देश बचाउ’ भनेकै भरमा यो देशमा अब राजतन्त्र फर्किनेवाला छैन भनेर तपाईंले बुझ्न जरूरी छ । साँच्चै राजतन्त्र फर्कन सक्छ भने सैनीक कू बाट, पचासौं लाख जनताको बृहद आन्दोलनबाट वा अहिलेको राजनैतिक नेतृत्वले आम सहमतिको आधारमा राजतन्त्र पुनर्स्थापना गर्ने निर्णयबाट मात्र यो देशमा अब राजतन्त्र फर्कन सक्छ तर माथीका कुनैपनी अवस्था पटक्कै विद्यमान नरहेको परिप्रेक्षमा तपाईंले अब फेरि राजा बनेर राजकाज चलाउने भड्काव योजना बाट मुक्त हुन जरूरी छ । भारतको जस्तो हिन्दुको नाममा राजनीती गरेर नेपालमा कहिल्यै राजनैतिक लाभ यसकारण पनि हासिल हुन सक्दैन कि, धार्मिक सहिष्णुताको बिराट भावले दीक्षित आम नेपाली जनता, धर्मान्ध हुँदै अर्काको धर्मस्थान तोडफोड गर्न र बिपरित धर्मका मान्छेको घर-गोठ जलाउन अनि महिला र युवतीहरूको बलात्कार गर्न कहिल्यै उद्दत हुँदैन । अर्थात धर्मान्धतामा कैद भएर मर्न र मार्न पछि नपर्ने संस्कृति नभएको नेपालमा हिन्दु राजनितीबाट मोदी उदाए झैं उदाईहाल्छु भन्ठान्नु त केवल सोम शर्माको ‘सातु-सपना’ भन्दा उन्नत सपना हुँदै होईन । कृश्चियन धर्म प्रचारकले चलाएको सेन्ट जोसेफ जस्तो स्कूलमा ‘योहोबा’को प्रार्थना गरेर हुर्केको तपाईँको बचपन अनि पुरै युरोपेली रंग-ढङ्गमा जमेको र रमेको पूर्वराजपरिवारको जीवनशैलीको बावजुद हिन्दु र हिन्दुत्वको नारा लाएर हिंड्दा कतिजनाले पत्याउलान् भन्ने यक्षप्रश्न यथावतै रहेको छ ।

पूर्वराजा ज्यू !
सत्ता र शक्तिको अभिष्ट पूर्तीकै लागि तपाईंको राजनैतिक अभियान हो भने भन्नु केही छैन तर यदि देश सेवा, समाजसेवा र जनसेवाको लागि हो भने के राजनैतिक रूपमै दौडादौड गर्नु जरूरी छ र ? प्रष्ट हुन जरूरी छ, राजनीति त मात्र एउटा क्षेत्र मात्र हो अनि यस्ता अनेकौं क्षेत्र छन् जहाँबाट मुलुक र मुलुकीको बृहत्तर कल्याणको निम्ति असाध्यै धेरै काम गर्न सकिन्छ । तपाईं एक कवि हृदय भएको तथा पर्यावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा गहिरो अभिरूची र लामो अनुभव संगालेको ब्यक्तित्व हुनुहुन्छ । करिब २० बर्षसम्म महेन्द्र प्रकृति संरक्षण कोषको सल्लाहकार भै कामगर्दा अनि त्यसैको सेरोफेरोमा संसारै घुमेर प्रकृति, पर्यावरण र वन्यजन्तुको अध्ययन र अनुसंधानमा तपाईँले लगानी गर्नुभएको आफ्नो जीवनको सर्वाधिक उर्जाशील युवा उमेरको के कुनै मोल छैन र ? तपाईँका पर्यावरणीय अनुभवहरूलाई एकीकृत र केन्दृकृत गरेर तपाईंले अर्जेका असाध्य ज्ञान-शिपलाई देशसेवामा लगाउन सक्दा त्यसले कति विशाल र विहंगम प्रभाव पैदा हुन सक्छ र कसरी ब्यापकरूपमा देशको कल्याण गर्न सकिन्छ भन्नेकुरा तपाईंले सोचेकै हुनुपर्दछ भन्ने ठानेको छु । गोरखा तपाईको गृहजिल्ला हो र शाह वंशीय राजतन्त्रको सत्व र अस्तित्वसंग एकाकार एक ऐतिहासिक स्थल पनि हो । तपाईंले गोरखा जिल्लालाई युरोपेली स्टाण्डर्डमा बिकास गर्छु भनेर अघि बढदा तपाईँलाई कसले रोक्ला र ? अनि गोरखालाई सुखी, खुशी र समृद्ध ऐतिहासिक जिल्लाको रूपमा बिकसित गर्न सक्नुभयो भने तपाईंको कुनचाहिं बन्द ढोका नखुल्ला र ? त्यत्ती ठूलो योजना नि छोडिदिनुस्, यो देशकै सर्वाधिक पिछडिएको र वञ्चितिकरणमा परेको दूरदराजको कुनै एउटा गाउँपालिका वा नगरपालिकालाई छनौट गरी एउटा आदर्श मानवबस्तीको रूपमा त्यसलाई बिकास गर्नमा जुट्नुहोस त ! सारा जिन्दगीमा नपाएको आनन्द र सन्तुष्टीको शुभारम्भ त्यही बिन्दुबाट प्रारम्भ भैहाल्छ तर यस्ता कार्य राजनैतिक लाभ पाउने कुत्सीत मनोभावका साथ किमार्थ नगर्नुहोला तर लडिलडी राजनैतिक अनुकुलता तपाईंकै गोदमा आईपुग्छ भने बिश्राममा बसेको अजिंगरले मुखमै आएको आहरालाई ‘दैवी वन्दोबस्त” ठानेर सहजरूपमा ग्रहण गर्नु कहाँ गलत मानिन्छ र ? जीवन सहज छ, छनौटका अवसर पर्याप्त छन् तर आफ्नै वैचारिक घेरा र तपाईंका वरिपरि उभिएका लोभिपापीकोहरूको फन्दा काट्न नसक्दा तपाईं आफ्ना हजारौं आशा, उमंग, रचना र सृजनशिलताको मौन-मलामी त बनिरहनु भएको छैन ? देश हैन, एकपटक निरपेक्ष भावका साथ, साक्षीभावमा गएर आफ्नो मनोदशाको अध्ययन गर्नुहोला, जवाफ त्यहिं पाउनुहुनेछ ।

स्वभावजन्यरूपमा तपाईं एक कुशल र चतुर व्यापारी हो । संसारमा कतैपनि ब्यापारीले स्वयं सत्ता चलाउँदैन अपितु सत्ता संचालकलाई आफ्नो दवाब र प्रभावमा राखेर आफू अनुकुल निर्णय गराउँछ तर तपाईंलाई उकासेर अनि उचालेर ज-जस्ले राजनैतिक बागडोर थाम्न उक्साए अनि तपाईंका सुषुप्त भावलाई ‘हो सर्खार! हो सर्खार !!’ भन्दै जसले जगाए अन्ततोगत्वा तिनैले तपाईंलाई गहिरो गर्तमा खसाए । ती मान्छेहरूलाई चिन्नुहोस, ती नै तपाईंका सबैभन्दा ठूला शत्रुहरू हुन् । तपाईंमा भएको विशाल ब्यापारिक र ब्यवस्थापकीय ज्ञान नेपाल र नेपालीका निम्ति बरदान बन्न सक्छ । सगरमाथाको पानीलाई “एभरेष्ट वाटर”को नामले ब्राण्डिङ्ग गरेर संसारलाई बेच्ने अभियानको ब्राण्ड एम्बेसडरको रूपमा संसार घुम्दाको कल्पना गरेर हेर्नुस् त अथवा नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादित जैविक हरियो चिया (Organic Green Tea) को प्रवर्धन गर्दै संसारलाई चिया बेचेरै नेपालको ब्यापारघाटा संतुलन गरिदिने उद्घोषका साथ अभियान चलाउनुस् त ! तपाईं स्वयं यी र यस्ता बिषयहरू राम्ररी बुझ्न सक्नुहुन्छ तर तपाईंले बिरासतमा पाउनुभएको ‘शाही मनोदशा’ले तपाईंलाई नयाँ परिस्थितिमा नयाँ निर्णय लिन रोकिरहेको छ अनि त्यसैमा अल्झेर तपाईं आफ्नै योग्यता र क्षमताप्रती घोर अन्याय गरिरहनु भएको छ भनेर मैले भनिरहँदा, तैंले गलत भनिस् भनेर भन्न सक्नुहुन्छ र?

यो पत्र पढ्दैगर्दा, तपाईंलाई यस्तो नि लाग्न सक्छ कि, तपाईंको राजनैतिक अभियानमा बाधा पुर्याउन वा तपाईंलाई राजनैतिक रूपमा हतोत्साहित पार्न यो पत्र लेखिएको होस्,  यदि त्यस्तो लाग्छ भने म निवेदन गर्न चाहन्छु, तपाईं डिप्लोम्याट बोली बोल्न छोडेर सिधै गणतन्त्र बिरूद्ध राजतन्त्र पुनर्स्थापना गर्ने हक्की योजना घोषणा गरेर मैदानमा निस्कनुहोस् र आफूले सोचेको र रोजेको राज्यब्यवस्था कायम गरि छोड्नुहोस् । खालिखुट्टा घंगारूको लौरो बोकेर हिंड्ने केही दर्जन जब्बर क्रान्तिकारीहरूले तपाईंको अभेद्य भनिएको दैवीसत्ता दस बर्षमा धरासायी पार्न सक्छन् भने यत्तिको श्रोत, साधन र ज्ञानले सम्पन्न तपाईंले सक्नुहुन्न भन्नसक्ने ह्याउ र हिम्मत मसंग छैन तर जीवनको उत्तरार्धमा रहनुभएका पूर्वराजा ज्यू ! जीवनको उत्तरार्धका श्वास फेर्दै गर्दा तपाईमा कुण्ठा, छट्पटी, अवसाद र निराशा हैन अपितु आनन्द, शान्ति, सन्तुष्टि, वैभवता र सृजनशिलताको भावधारा बग्नुपर्छ भन्ने मेरो आशय हो ।

सर्सा, धनुषाबाट

Leave a Reply

Your email address will not be published.