काठमाडौं २५ साउन । सिरियाको पश्चिमी शहर मस्याफमा गत शनिवार कार बम हमलामा मारिएका सिरियाका वैज्ञानिक डा. अजिज अस्बारको हत्याको स्वागत गरेको छ । इजरायलका यातायात तथा गुप्तचर सेवा सम्बन्धि मन्त्री इसरायल काट्जले उक्त हत्याको स्वागत गरेका छन् तर त्यसमा आफ्नो देशको संलग्नता नरहेको दावी उनको छ ।
मन्त्री काट्जले भनेका छन् – “डा. अजिज आतंकवादी गतिविधिमा संलग्न रहेकोले उनको संसारबाट भएको बिदाईको स्वागत गर्छु ।”

यसै बिच इजरायली सरकारको अहिलेसम्मको मौनता भंग गर्दै इजरायली रक्षा मन्त्री अविग्डोर लाइवरम्यानले “प्रत्येक दिन मध्यपूर्वमा सयौं बिस्फोटनहरु हुने गर्छ र त्यसको सबै दोष हामी माथि थोपरिने गरिन्छ, त्यसैले हामी यस घटनालाई गम्भीरतापूर्वक लिदैनौं” भनेर इजरायलको च्यानल २ न्युजलाई बताएको भनी रसिया टुडेमा जनाइएको छ ।
अमेरिकी अखवार ‘द न्युयोर्क टाइम्स’ले इजरायलको गुप्तचर संस्था मोस्साद यो घटनाका लागि जिम्मेवार रहेको रिपोर्टिङ गरेको थियो । गत सोमबार एक अज्ञात स्रोतको हवाला दिंदै सो अखवारले मोस्सादले लामो समयदेखि डा. अजिजलाई खोजी गरिरहेको थियो । “डा. अजिज इरानसँग मिलेर यस्तो मिसाइलको निर्माण गरिरहेका थिए, जसले सयौं माइल टाढाका इजरायली शहरहरुलाई सटिक किसिमले ध्वस्त पार्न सक्छ” भन्ने ‘द न्युयोर्क टाइम्स’को स्रोतको दावी थियो ।
त्यसैगरि गत अप्रिलमा मलेसियाको राजधानी क्वालालाम्पुरमा प्यालेस्टानी ड्रोन रकेट प्रोग्रामका विज्ञ फादी मोहमद अल–वत्सको हत्या भएको थियो । सो हत्यामा पनि इजरायली गुप्तचर संस्थाकै हात रहेको विश्वास गरिन्छ ।