काठमाडौं २५ साउन । अमेरिकाको एकपक्षीय नाकाबन्दीको कारणले भंग हुने खतराको नजिक पुगेको इरान न्युक्लियर सहमती जोगाउन र कार्यान्वयन गराउन रुसले सक्दो प्रयास गर्ने बताएको छ । इरान न्युक्लियर सहमतीलाई ‘ज्वाइन्ट कम्प्रीहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए)’ पनि भनिन्छ ।
आफुहरुले युएनको निर्णयलाई नाघेर गरिएका कुनै पनि एक पक्षीय नाकाबन्दीको भत्र्सना गर्दछौं भनी रसियन विदेश मन्त्रालयद्वारा मंगलबार जारी गरिएको वक्तव्यमा भनिएको छ । स्मरण रहोस् मंगलबार देखि नै लागू हुने गरि गत सोमबारकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान माथी कडा नाकाबन्दी लगाउने र कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । रुसी विदेश मन्त्रालयको वक्तव्यमा “लामो अनुभवले के देखाउँछ भने दवाबद्वारा इरानबाट कुने किसिमको छुट मिल्न संभव छैन ।” भनिएको छ ।
जेसिपीएओ मा सन २०१५ मा इरान र पि पाँच जोड एकका बिच सहमती भएको थियो । यसमा रुस, फ्रान्स, बेलायत, चीन, अमेरिका जोड जर्मनी एक पक्ष र अर्को तर्फ इरान बिच सहमती भएको थियो । अन्तर्राष्ट्रिय एटोमिक इनर्जी एजेन्सी (आइइए) ले इरानले सहमतीमा उल्लेखित बुँदाहरुको इमानदारीपूर्वक पालना गरिरहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायले यस्तो महत्वपूर्ण उपलब्धीलाई अमेरिकाले आफ्नो पुरानो प्रभूत्व कायम गर्नाका खातीर लत्याएकोलाई मानिरहनु उचित नहुने रुसी वक्तव्यमा उल्लेख गरिएको तथ्य सिन्ह्वाले जनाएको छ ।