काठमाण्डौँ , २५ साउन – भक्तपुरमा प्रहरीको गोलीबाट अजय तामाङ र गोपाल तामाङको मृत्युको विषय विवादमा परिरहेका बेला सरकारले प्रहरी इन्काउन्टरमै उनीहरुको मृत्यु भएको बताएको छ । सो घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्ट आज गृहमन्त्री रामबहादुर थापाले फेक इन्काउन्टर हल्ला मात्र भएको बताएका हुन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको समेत बताए ।
गृहमन्त्री थापाले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् । ‘२४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ । मुल कुरा त्यो हो ।’
गृहमन्त्री थापाले ११ वर्षीय बालक निशान खड्का अपहरणकारी अजय र गोपाल इन्काउन्टरमै मारिएको दाबी गरेका हुन् । काठमाडौंको काँडाघारीबाट आइतबार अपहरणमा परेका निशानको सोमबार शव फेला परेको थियो । सोही दिन नै प्रहरीको इन्काउटरमा अजय र गोपालको मृत्यु भएको गृहमन्त्री थापाले बताएका हुन् ।
उक्त घटनाको विषयलाई लिएर प्रहरी विवादमा मुझिएको छ । मृतक तामाङका परिवारले आफ्नो छोराहरुलाई नियन्त्रणमा लिएर गोली हानेर हत्या गरेको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन् ।