चाबहिलवासीको प्रश्न ‘कहिले बन्छ हाम्रो सडक’

काठमाण्डौँ , २४ साउन – पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलगायतको टोलीले आज सो सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल मर्मत सम्भार गर्ने प्रतिबद्धता जनाएपछि सो क्षेत्रमा यात्रा गर्ने जोकोहीलाई राहत मिल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला निकायका उच्च अधिकारीलाई बोलाएर काठमाडौँ उपत्यकाभित्र निर्माणाधिन बौद्ध–जोरपाटी र कलङ्की नागढुङ्गा सडकखण्डको मर्मतमा लाग्न निर्देशन दिएका थिए ।

निर्देशनपछि मन्त्री महासेठलगायतको उच्चस्तरीय टोलीले सडकखण्डको निरीक्षण गरेको हो । टोलीले सडकको खाल्डाखुल्डी पुर्ने तथा धुलोे र हिलोको समस्याबाट मुक्ति दिइने प्रतिबद्धता जनाएको हो ।

चाबहिल–साँखु जोड्न कूल १२.५ किलोमिटर सडक स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै अवरोध गरेपछि निर्माणमा ढिलाई भएको हो । सडक छेउका बासिन्दाले मुआब्जा नपाएसम्म काम गर्न नदिने भन्दै सङ्गठित रुपमै अवरोध गर्दै आएका छन् । सकेसम्म उनीहरुको उचित माग सम्बोधन गर्ने सरकारी टोलीले प्रतिबद्धता जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सडक मर्मत र निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ठूलो समस्यामा परेको भन्दै समस्या समाधानमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । सो सडक बनाउन रु एक अर्ब ४५ करोड बजेट छुट्टयाइएको छ ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ र महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले सडक सीमा र स्थानीयले मुआब्जा वितरणमा राखेको माग सम्बोधन गर्न समस्या भएकाले कामले गति लिन नसकेको बताए ।

सो सडक चार खण्डमा विभाजन गरेर छुट्टाछुट्टै निर्माण व्यवसायीलाई दिइएको छ । तर सडक सीमा छुट्टयाउने र मुआब्जा वितरणमा लामो समय लागेकाले समस्या थपिँदै गएको हो ।

स्थानीयले मुआब्जा नपाई घर तथा आवास भत्काउन नदिने, सडक विभागले समन्वय गर्न नसक्ने र स्थानीय निकायले आवश्यकताअनुसार सहजीकरण गर्न नसक्दा सो सडकखण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती हुने गरेको छ ।

माधव नेपालको सुझाव छिटो सक्नुस्ः
स्थलगत निरीक्षणमा सहभागी पूर्व प्रधानमन्त्री नेपालले चाबहिल–साँखु सडक निर्माण छिटो सक्न सुझाव दिए । संसदीय अनुगमन समितिमा समेत रहेका नेपालले सडकको निर्माण अवस्था अनुगमन गर्दै सम्बन्धित पक्षलाई त्यस्तो सुझाव दिएका हुन् ।

मर्मतको काम अगाडि बढेको छ – मन्त्री महासेठ 
मन्त्री महासेठले भदौ १२ भित्रै सो सडकखण्डमा खाल्डाखुल्डी नरहने बताए । सडक सीमा छुट्टाएको स्थानमा २२ मिटर नै, नभएको स्थानमा आठ मिटर सडक मर्मत तथा कालोपत्रे गर्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ ।

स्थानीयवासीले सडक मर्मतमा ध्यान नदिएको, निर्माण व्यवसायीले लापरवाही गरेको तथा सरकारले आफूहरुको गुनासोको सुनुवाइ नगरेको भन्दै पूर्वप्रधानमन्त्री, मन्त्री महासेठलगायतको टोलीसँग गुनासो गरेका थिए ।

स्थानीयले मन्त्री महासेठसँग चाबहिल–साँखु सडक कहिले निर्माण सम्पन्न हुन्छ र हामीले सास्तीबाट कहिले मुक्ति पाउँछौं भन्दै प्रश्न गरे । जवाफमा मन्त्री महासेठले भने, “हामी प्रयासरत छौं, केही समयभित्रै समस्या समाधान हुन्छ ।” रासस

Leave a Reply

Your email address will not be published.