डडेलधुरा , २३ साउन- डडेलधुरा हलिया मुक्त पुनःस्थापना कार्यक्रमको रकममा ३ करोड ३८ लाख रुपैयाँ अनियमितता भएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेलधुरा मालपोत कार्यालयका सहायक दान बहादुर बिक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुनःस्थापना कार्यक्रमको रकममा अनियमितता गरेको आरोप लगाए छन।
उनीहरुले प्रतिव्यक्ति २० हजारको दरले घुस लिएर ३ करोड ३८ लाख रुपैयाँ जम्मा पारेको प्रमाणित भइसकेको भन्दै कडा कारवाहीका लागि सरकार सँग माग गरेका छन ।
घुस लिएको प्रमाणित भएपछि केही रकम उनीहरुले फिर्ता गरेको बताउँदै उनले भने, ‘त्यही बहानामा छुट दिने काम नहोस् ।’
डडेलधुरामा १ हजार ५ सय ५८ जना हलिया पुनःस्थापित भइसकेका छन् ।
करिब २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुनःस्थापना कार्यक्रम अन्तर्गत सेवा लिने क्रममा रहेको सो कार्यक्रम अन्तर्गत सरकारले घर निर्माण , मर्मत र जमिन खरीदका लागि भनेर करिब ३ लाख २५ हजार, १ लाख २५ हजार र २ लाख रुपैयाँ जिल्ला मालपोत कार्यालय मार्फत उपलब्ध गराउँदै आएको जनइएको छ।