काठमाडौँ, २२ साउन – एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।
थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यू–२३ टोलीसँग खेल्नेछ । थाइल्याण्डको १० दिने प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । नेपाली राष्ट्रिय यु–२३ टोली साउन १८ गते थाइल्याण्ड गएको हो ।
नेपाल एसियन गेम्समा समूह डीमा छ । नेपालसँगै जापान, भियतनाम र पाकिस्तान समूहमा छन् । एसियाड भदौ २ गते औपचारिक रुपमा शुरु भए पनि फुटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ ।
प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना सिनियर खेलाडी पनि खेल्न पाउनेछन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ ।
नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी र छिरिङ गुरुङ छन् । रासस