काठमाण्डौँ, २२ साउन -इरानमाथि संयुक्तराज्य अमेरिकाले कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेको थियो । उक्त घोषणा पछि संयुक्तराज्य अमेरिकाले इरानमाथि दण्ड सहितका प्रतिबन्धहरु लगाउने जनाएको हो ।
दुई चरण गरेर लगाइने अमेरिकी प्रतिबन्धहरुमध्ये पहिलो पटकमा अमेरिकी बैंक नोटहरु तथा कार र गलैंचा समेतका प्रमुख उद्योगहरुको पहुँचसम्बन्धी रहेका छन् । यो भन्दा अघि पनि इरानीहरुले प्रतिबन्धका प्रभावहरु अनुभव गरिसकेका छन् । सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेलगत्तै इरानको मुद्रा रियालको मूल्यमा आधा गिरावट आइसकेको छ ।
राष्ट्रपतीय निर्वाचनको समयदेखि नै राष्ट्रपति ट्रम्पले इरानसँगको आणविक सम्झौताका बारेमा आपत्ति जनाउँदै आएका हुन।सोही अनुरुप राष्ट्रपति ट्रम्पले यसै वर्षको मे ८ तारिखमा आणविक सम्झौतासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए ।
सोमबार पुनः उक्त सम्झौताको बिरोध गर्दै ट्रम्पले , “इरानले आणविक बम बनाउने कुरालाई रोक्ने मुख्य उद्देश्य यो सम्झौताले पूरा गर्दैन, यो भयङ्कर, एकपक्षीय सम्झौता पूर्णतः बिफल भइसक्यो” भनेका थिए । सम्झौतामा हस्ताक्षर गर्ने अन्य राष्ट्रहरु – बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र यूरोपेली युनियन– का नेताहरुले ट्रम्प समक्ष इरान सम्झौताबाट पछि नहट्न आग्रह गरेका थिए । उनीहरुले अमेरिकी नेतृत्वलाई इरान मामिलामा एक्लै अघि नबढ्न र बहुराष्ट्रिय सम्झौताप्रति बैमनस्य नराख्न अनुरोध पनि गरेका थिए ।
उक्त सम्झौताले आणविक हातहतियार निर्माण गर्नबाट इरानलाई रोक्ने विश्वास गरिएको थियो । अमेरिकाको दोस्रो चरणको प्रतिबन्ध नोभेम्बर ५ बाट लागू हुनेछ । यो प्रतिबन्धले इरानको तेल बिक्रीलाई रोक्नेछ, र यसले अझ बढी नोक्सान बनाउनेछ । तर प्रतिबन्धका बाबजूद चीन, भारत र टर्की समेतका धेरै मुलुकले इरानबाट पेट्रोलियम खरिदलाई नरोक्ने सङ्केत दिएका छन् । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफले ट्रम्पको कदमले अमेरिका कुटनीतिक रुपमा एक्लिएको बताउँदै तर अमेरिकी प्रतिबन्धले केही अबरोध भने नल्याउनु उल्लेख गरेका छन ।
सोमबार कार्यकारी आदेश जारी गर्दै राष्ट्रपति ट्रम्पले नयाँ प्रतिबन्धहरुले तेहरानमाथि वित्तीय दबाब सिर्जना गर्ने बताए । उनले भने, “यो प्रतिबन्धले इरानी धम्कीमाथि व्यापक र दिगो समाधानका लागि दबाब दिनेछ । साथै, यसबाट क्षेप्यास्त्र निर्माण र क्षेत्रीय हानिकारक गतिविधिहरु रोक्न सहयोग पुग्नेछ ।” यूरोपेली युनियनका कुटनीतिक प्रमुख फेडेरिका मोघेरिनीले बेलाय, फ्रान्स र जर्मनी समेतका यूरोपेली युनियनमा आबद्ध मुलुकहरुले वासिङ्टनको यो कदमप्रति खेद व्यक्त गरेको बताए ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यूरोपेली आर्थिक संस्थाहरुले इरानसँग बैधानिक व्यापारका कार्यहरुलाई निरन्तरता दिनेछन् र हामी उनीहरुको संरक्षण गर्नेछौं ।” धेरैवटा यूरोपेली फर्महरुले अमेरिकी दण्डजरिमानाको डरले इरान छाडिरहेका छन्, र ट्रम्पले पनि इरानसँग व्यापार व्यवसाय गरिरहने कम्पनी र व्यक्तिले “गम्भीर परिणाम” भोग्नुपर्ने चेतावनी दिएका छन् । प्रतिबन्धले इरानभित्रै पनि तनाबको वातावरण सिर्जना गरेको छ, र धेरैवटा सहर बजारमा प्रदर्शन र हडतालहरु भइरहेका छन् ।
इरानी सहरहरुमा खानेपानीको अभाव, मूल्य वृद्धि हुन थालेको छ भने राजनीतिक नेतृत्वका बिरुद्धमा व्यापक असन्तुष्टी व्यक्त गर्न थालिएको छ । इरानभित्र भइरहेका पछिल्ला घटनाक्रमका बारेमा सामाजिक सञ्जालबाट आइरहेका विवरणहरुको भने स्वतन्त्र पुष्टी हुन सकेको छैन । ट्रम्पले इरानसँग विस्तृत सम्झौता गर्नेतर्फ आफू खुला रहेको बताएका छन् ।
उनले भने, “यस्तो सम्झौताले ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र आतङ्कवादलाई इरानले गरेको सहयोगजस्ता हानिकारक कृयाकलापहरुलाई पूर्ण रुपमा रोक्नु पर्दछ ।” तर इरानी राष्ट्रपति हस्सन रौहानीले अमेरिकी आग्रहलाई बेवास्ता गरिरहनु भएको छ । “उनीहरु इरान बिरुद्ध मनोवैज्ञानिक युद्ध आरम्भ गर्न चाहन्छन्,” रौहानीले राज्य नियन्त्रित टेलिभिजनमा भने, “यी प्रतिबन्धहरुको कुनै अर्थ छैन ।”