१३ बर्षको कलिलो उमेरमै ब्यवसायिक गायन यात्रा शुरु गरेकी चर्चित गायिका मिलन नेवारले आफ्नो सांगीतिक यात्रा भारतको आसामबाट सुरु गरेकी हुन् । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान, पदक र पुरस्कारबाट सम्मानित मिलन सन् २००३ मा भारतको देशब्यापी सुरसंगम राष्ट्रिय रियालिटी प्रतिस्पर्धामा उपबिजेताको सम्मानले विभूषित भइन् । पद्मभुशन नौसाद अली, गजल गायिका पिनाज मशानी र शास्त्रीय संगीत गायिका शुसिला रानी पाटेल जस्ता बलिवूडका चर्चित सांगीतिक हस्तीहरु निर्णायक रहेको उक्त कार्यक्रमको सफलता पश्चात मिलनको सांगीतिक उचाईले अन्तरराष्ट्रिय रुप लिन गयो ।
नेपाली कला संस्कृतिप्रतीको आफ्नोपन र प्रेमले मिलनलाई सन् २०११ मा मातृभूमि नेपालतर्फ तान्यो । नेपाल आगमन पश्चात करिब दुई दर्जन राष्ट्रिय पुरस्कार तथा सम्माननीय राष्ट्रपतिबाट नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार पाएकी छन् ।
देश-विदेशमा नेपाली कला संस्कृतिको पहिचानलाई गायन क्षेत्रबाट उचाई दिन तल्लिन मिलनले विभिन्न १२ भाषा-भाषिमा गरेर करीब २००० बढी गीत तथा १०० भन्दा बढी चलचित्रमा आवाज दिएकी छिन् ।
यसका साथै उनी सामाजिक अभियानमा पनि सक्रीय भएकी छन् । देशको एक नागरिकको हैसियतले ‘Milan Charity Foundation’ नामक संस्था सुरु गरेर ‘Singing for Society’ नारा लिएर अघी बढेकी छन् । आफ्नो सांगीतिक प्रस्तुति तथा सामग्रीबाट आउने रकमको २० प्रतिशत रकम समाज सेवामा खर्चिने बताएकी छन् । सो संस्था मार्फत सघन अभाव, आवश्यकता र विभेद हटाउने सहयोगी भूमिका खेलीरहेकी मिलनले हालैबाट असहाय र द्वन्द पिडित बालबालिका रहेको सहिद स्मृति आवाशीय माध्यमिक बिध्यालय, इटहरी -१९, स्कुलको सहयोगमा आफ्नो अभियान केन्द्रित गरेकी छिन् ।
मिलनले हालै बजारमा आफ्नो चौथो एल्बम ‘मिलन यात्रा’ ल्याएकी छन् । रास्ट्रभक्ति, नारी समर्पण र संदेशमुलक विभिन्न सात गीतहरुको संगालो ‘मिलन यात्रा’मा समाबेश गरिएको छ । सबै प्रकारका नेपाली मौलिकता र लयहरुको बेजोड मिश्रण सहित प्रस्तुत गरिएको उक्त एल्बमबाट उठेको अधिकतम रकम समाज सेवामा खर्चिने मिलनले बताएकी छन् । हाल उनी आफ्नो पाँचौं एल्बम ‘मिलन-२’ ल्याउने तयारीमा छिन् ।
गायिका ‘मिलन अमात्य’ को आगामी सांगीतिक यात्रा तथा प्रस्तुति ‘मिलन नेवार’ नाम बाट अघि बढाउने कुरा ‘जनदिशा’लाई बताएकी छन् ।