काठमाडौं । ऐतिहासिक, पुरातात्विक र राष्ट्रिय सम्पदाको रानीपोखरी काठमाडौं र सिंगो देशको गौरब बोकेको पोखरी हो । कुनै बेलाको यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणालेबनाएको त्रि चन्द्र कलेज छ्न् भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो विद्यालय दरबार हाईस्कूल रहेको छ। रानीपोखरीलाई वरीपरी फलामको बारले बारिएको छ। रानीपोखरीको बार भित्र ठूलो हाती र त्यस माथि राजा प्रतापमल्ल, रानी र छोराको मुर्ती स्थापित गरिएको थियो।

आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई।सं। १६६५मा यो पोखरी निर्माण गरेका थिए। पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए। एकसय असी मिलर लम्बाइ र १४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ। वि।सं। १९९०को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन्।

वि.सं. २०७२ साल बैशाख १२ गतेको बिनाशकारी भुकम्पमा मन्दिरको गजुर सहित मन्दिर क्षति भयो । भुकम्प गएको एक बर्ष पारि २०७३ बैशाख १२ गते राष्ट्रपति बिध्यादेबि भण्डारीले पुनस्निर्माण कार्षको सिलन्यास गर्नु भएको थियो । अहिले पुनःनिर्माणको पर्खाईमै छ रानीपोखरी ।
रानी पोखरीको बिचमा बालगोपाल महादेवको मन्दिर छ, यो मन्दिर बर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुने गरेको छ। तत्कालीन राजा प्रताप मल्लले यस पोखरीमा नेपालभित्रका र यसको सीमाभन्दा बाहिरका पचासौं तीर्थस्थलहरुबाट पवित्र जल बोकाएर ल्याएर संकल्प सहित भर्न लगाएका थिए । यसर्थ रानीपोखरीमा वर्तमान नेपालको पूरै भूभाग र छिमेकी देशको पवित्र तीर्थस्थलको समेत आस्था जोडिएको इतिहासकारहरु बताउँछन् ।
इतिहासकारहरुले अत्यन्तै ‘प्रतापी’ भन्ने गरेका प्रताप मल्लले आफ्ना ‘महाराजाधिराज नेपालेश्वर राजराजेन्द्र श्रीश्री जयचक्रवर्तेन्द्र मल्ल देव’ का नाममा बनाउन लगाएको पोखरीमा भारतीय भूमिमा रहेको वाराणसीस्थित गंगा नदीको जलदेखि भक्तपुरको सिपाडोलकोसम्मको जल भरेका थिए ।
रानीपोखरी एउटा संरचना मात्र होइन, योसँग मल्लकालीन पोखरी निर्माण शैली र काठमाडौंको पानी वितरण प्रणालीको पहिचान जोडिएको छ।
त्यतिबेला सबैजसो पोखरीको पिँध र डिल कालो माटोले बनेको हुन्थ्यो। पोखरीभित्र कम्तिमा दुईवटा इनार हुन्थे। एउटा इनारबाट पानी आपूर्तिको काम गरिन्थ्यो र अर्कोबाट निकासको ।
रानीपोखरीमा सातवटा इनार खनिएको इतिहासकारहरुको भनाइ छ। यी इनारबाट काठमाडौंका विभिन्न टोलमा पानी आपूर्ति हुन्थ्यो। अहिलेसम्म थाहा भएअनुसार तीनधारा पाठशालामा जाने पानी रानीपोखरीकै हो। सुन्धाराको हिटीमा हामीले केही वर्षअघिसम्म पानी आइरहेको देख्थ्यौं। त्यसको स्रोत पनि रानीपोखरी नै हो। त्यहाँ टुँडिखेल हुँदै कुलो खनेर पानी लगिएको थियो।
अहिले केही आम जनमानसका साथै बौद्धिकहरुमा समेत भ्रम छ कि, रानीपोखरी उबेलाका राजा प्रताप मल्लले बनाउन लगाएका हुन् र त्यसैले यो काठमाडौंको मात्रै सम्पदा हो । तर यो राजधानीको मात्र नभइ सिंगो देशकै चिनारी बोकेको गौरबको सम्पदा हो । त्यस्तै रानीपोखरीलाई यो अबश्थाबाट माथि उठाउन र पुरानै स्वरुपमा फर्काउन जरुरी छ । हाम्रो पहिचान र सम्पत्ति भनेकै यिनै पुरातात्विक संरचना हुन्। तिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।