काठमाडौँ – ‘स्तनपान जीवनको आधार’ भन्ने मुल नाराका साथ यस वर्षको स्तनपान दिवस मनाइँदैछ । साउन १६ देखि २२ सम्मसंचालन हुने स्तनपान सप्ताहमा स्तनपानका विभिन्न विषयको बारेमा नागरिकलाई जानकारी दिइइने छ ।
विश्व स्तनपान सप्ताह तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर गुणराज लोहनीले विभाग अन्तर्गत स्वीकृत हुने अस्पतालले स्तनपान कक्ष नबनाएसम्म स्वीकृती नदिने बताए । आज विभागमा स्तनपान कक्षको पनि शुभारम्भ गरेको छ ।
कार्यक्रममा सार्वजनिक गराइएको जानकारी अनुसार नेपाल जनसांख्यीक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार नेपालमा पूर्ण रुपमा स्तनपान गराउने आमाको संख्या ६६ प्रतिशत रहेको छ । यो शिशु जन्मेको ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या हो । यस्तै शिशु जन्मेको १ घण्टा भित्रमा स्तनपान गराउने आमाको संख्या ५५ प्रतिशत रहेको तथ्याड्ढ छ ।
स्तनपानले शिशुलाई चौतर्फी बृधि—विकासका लागि चाहिने कार्बोहाईड्रेट, प्रोटिन, बोसो, भिटामीन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा प्रदान गर्दछ । तयारी अवस्थाको, सजिलै पाउन सकिने, शिशुले चाहेमा जुनसुकै वेला ख्वाउन सकिने आमाको दुध अत्यन्त पोषिलो पदार्थ हो ।
स्न २००१ देखि अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको देखिन्छ । सन् २००१ मा ६८.३ प्रतिशत ,२००६ मा ५३, सन् २०११ सम्म ६९.९ प्रतिशत आमाले ६ महिनासम्म स्तनपान गराएका थिए भने सन् २०१६ मा घटेर ६६.१ प्रतिशतमा पुगेको देखिन्छ ।
यस्तै शिशु जन्मेको १ घण्टा भित्रमा स्तनपान गराउने आमाको संख्या भने झनै घट्दै गइरहेको छ ।
काठमाडौँ उपत्यकामा सन् २०१४ को सरकारी तथ्याङ्क अनुसार शिशु जन्मेको १ घण्टाभित्रमा स्तनपान गराउनेको संख्या ४१ प्रतिशत रहेको छ ।