काठमाण्डौँ , २१ साउन, आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको सार्वजनिक गर्दै , प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन ।
मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा निकाली समृद्ध नेपालको सपना साकार पार्न सबैले गतिशीलता अपनाउन आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।प्रविधिमन्त्रालयलेले डिजिटल नेपाल निर्माण, सार्वजनिक प्रसारण सेवा गठन, हुलाक सेवाको आधुनिकीकरण, सुरक्षित मुद्रणालय स्थापना, नेपाल टेलिकमको गुणस्तर सुधार, कानूनी र नीतिगत विषयमा सरलीकरणसहित विगतभन्दा फरक शैलीमा एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ ।
“तोकिएको समयमा तोकिएको लक्ष्यअनुसार काम सम्पन्न गरेर बजेट खर्च गर्न र आर्थिक वृद्धिमा लाग्न आवश्यक छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “चैत महिनमा काम गरेर बजेट पुगेन भन्ने प्रथा अन्त्य गर्नुपर्छ । हामी हरेक तीन महिनामा प्रगति विवरण लिन्छौँ र त्यसमाथि प्राविधिक अनुगमन पनि गर्छौँ ।
कमिशन वा नातागोताका आधारमा सामान खरीद वा कामको जिम्मेवारी दिएको पाइएमा सम्बन्धि व्यक्ति वा निकायलाई कारवाही गरिने स्पष्ट गर्दै उहाँले हरेक निर्णय विचार गरेर मात्र गर्न निर्देशन दिनुभयो । उहाँले चलचित्रसँग सम्बन्धित बक्स अफिस प्रणालीलाई काठमाडौँ उपत्यका बाहिर पनि लगिने जानकारी दिनुभयो ।
आमसञ्चार नीति प्राथमिकतामा
मन्त्रालयको कार्ययोजना पुस्तिकामा नेपालको संविधानानुसार सञ्चार तथा सूचना समृद्ध नीति र कानूनहरुको पुनरवलोकन, संघीयतानुसार सञ्चार क्षेत्रको पुनःसंरचना, राष्ट्रिय आमसञ्चार नीतिको कार्यान्वयन, प्रसारण संस्थाको नियमन, प्रसारण संस्थाको डिजिटलाइजेशनका विषय समावेश छन् ।
कार्ययोजनामा देशव्यापी रुपमा रेडियो, टेलिभिजन, टेलिफोन र इण्टरनेट सेवाको पहुँच विस्तार, दूरसञ्चार सेवाका लागि ब्रोडब्याण्ड पूर्वाधार विस्तार, प्रादेशिक रुपमा प्रकाशन र प्रसारण, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणलगायत विषयहरु पनि रहेका छन् ।