काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आजबाट विदामा बसेपछि वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन् । सर्वोच्च अदालतको रोलक्रममा दोस्रो रहेका मिश्रले आजबाट पेशी तोक्ने उनका सचिवालयले जनाएको छ । प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवार्इ समितिबाट बहुमतले अस्वीकृत भएका जोशी आइतबार (आज)बाट बिदा बस्ने भएका छन् ।
सर्वोच्च अदातलमा भावि प्रधानन्यायाधीशका लागि योग्यता पुगेका न्यायायाधीशहरूमध्ये वरिष्ठता आधारमा जोशीपछि मिश्र र त्यसपछि चोलेन्द्रशमशेर जवरा रहेका छन् । अब भावि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया फेरी अघि बढाउन न्यायपरिषद्ले संवैधानिक परिषद्मा सूची पठाउनुपर्ने हुन्छ ।
न्यायापरिषद्को अध्यक्ष कामु प्रधानन्यायाधीश जोशीले बैठक नबोलाएमा त्यो प्रक्रिया अवरुद्ध हुनसक्ने कतिपय संविधानविद्को भनाइ छ । तर वरिष्ठतम् न्यायाधीश मिश्रले त्यसका लागि बैठक बस्नै नपर्ने बताएका छन् ।
उनले न्याय परिषद् सचिवालयले वरिष्ठताक्रम हेरेर पठाउन सक्ने जानकारी दिए । नयाँ सिफारिस हुने प्रधानन्यायाधीशले पनि संसदीय सुनुवाइृ समितिको सामना गर्नुपर्नेछ । शुक्रबार नेपालको संवैधानिक इतिहासमा पहिलो पटक संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानन्यायाधीश संसदीय सुनुवार्इ समितिले अस्वीकृत गरेको थियो ।