भेनेजुएला । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले कराकसमा एउटा कार्यक्रममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा ड्रोन विस्फोट भएको अधिकारीहरूले बताएका छन्। विस्फोटमा उनलाई कुनै चोटपटक नलागे पनि सातजना सैनिक घाइते भएका छन्।
सञ्चारमन्त्री होर्खे रोड्रिगुएजले राष्ट्रपतिको ज्यान लिने उद्देश्यका साथ विस्फोट गराइएको बताएका छन्। खुला मैदानमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति मडुरोले भाषण गरिरहँदा उनीसहित कार्यक्रममा सहभागी अरूले अचानक माथि हेरे र उनीहरू तर्सिए। त्यसपछि टेलिभिजन प्रसारणमा आवाज बन्द भयो। टेलिभिजनको प्रसारण बन्द हुनुअघि दर्जनौँ सैनिकहरू भागिरहेको दृश्य देखिएको थियो।
पछि भेनेजुएलाको एनटीएन २४ टीभी च्यानलले भिडिओ फूटेज पोस्ट गरेको थियो जसमा राष्ट्रपति मडुरोको आवाज काटिएको र झ्यार्र आवाज आएको थियो।