काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी तथा जनवर्गीय संगठनको एकता ५ भदौभित्रै गर्ने तयारी थालेको छ। प्रदेश, जिल्ला तथा जनसंगठनको एकता गृहकार्यका लागि गठित कार्यदललाई ५ भदौभित्र एकीकरणको काम सक्न नेकपाका अध्यक्षद्वयले निर्देशन दिएका छन्।
साउन २५ भित्रै कार्यदललाई आफ्नो प्रतिवेदन पार्टीको केन्द्रीय सचिवालयमा बुझाउन, ५ भदौभित्र प्रदेश तथा जिल्ला र जनसंगठनको केन्द्रीय समितिको एकीकरण सक्न र १५ भदौभित्रै एकीकरण भएका सबै कमिटीको पहिलो बैठक सक्ने गरी कार्ययोजना तयार पार्न नेकपाले कार्यदलमा आन्तरिक सर्कुलर गरेको अन्नपूर्ण पोस्टमा खबर छ।
जनसंगठनहरूको एकीकरण गर्न गठित कार्यदलले एकता घोषणाको अन्तिम तयारीका लागि पार्टी नेतृत्वको निर्णय पर्खन थालेका छन्। कतिपय जनसंगठन एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम, कमिटीको आकार, झण्डा, स्थापना मितिलगायतका विषय अन्तिम चरणमा पुर्याए पनि एकीकृृत संगठनको नेतृत्वका विषयमा भने कार्यदलमा छलफलसमेत हुन सकेको छैन।