१ करोड भन्दा बढी लगानीमा बनेको पाल्पाको जडिबुटी प्रशोधन उद्योग बन्द

पाल्पा । पाल्पालाई जडिबुटी क्षेत्रमा नमूना जिल्ला बनाउने उद्देश्य संकटमा परेको छ । जडिबुटी प्रशोधन उद्योग बन्द भएपछि प्रशोधन यन्त्र अलपत्र मात्र परेको छैन, कच्चा पदार्थको उपयोगिता पनि हुन सकेको छैन । यसले रोजगारीमा समेत संकट ल्याएको छ ।

वनजंगल तथा कान्लामा पाइने जटिबुटी प्रशोधन गर्ने उद्देश्यले स्थापना गरिएको पाल्पाको जडिबुटी प्रशोधन केन्द्र अहिले बन्द अवस्थामा छ । तिनाउ गाउँपालिकाको झुम्सामा विक्रम संवत् २०५७ मा उद्योग स्थापना गरिएको थियो ।

सहकारी मार्फत् सञ्चालन गरिएको उद्योगमा तितेपाती, काउलो, हर्रोबर्रो, तेजपात, दालचिनी, अमला, पाखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रालगायतका जडिबुटि प्रशोधन गरी विक्रि हुँदै आएको थियो । बजारको अभाव र विज्ञ नहुँदा उद्योग सञ्चालनमा समस्या भएको सञ्चालक बताउँछन् ।

उद्योग संचालनको लागि सहकारीमा आवद्ध ९० जनाले १ करोड भन्दा बढी लगानी गरेका थिए । उद्योग सञ्चालन भए प्रदेशकै आयस्रोत हुनसक्ने स्थानीय बताउँछन् । प्रदेश नम्बर ५ सरकारले चासो दिए उद्योग सञ्चालन गर्न सकिने उनीहरुको राय छ । करोडौँ लगानीमा संचालित उद्योग सफलतापूर्वक संचालन भएको थियो । तर, बन्द हुँदा लगानीकर्ता निराश भएका छन् भने स्थानीय युवासमेत रोजगार गुमाउनुपरेको छ ।

Leave a Reply

Your email address will not be published.