जुम्लाकी एक बालिकाको सन्देश- ‘अब जन्मदिनमा केक काट्ने होइन बिरुवा रोप्ने हो’

सुर्खेत । पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ । जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहरी क्षेत्रमा नै बढी देखिन्छ ।

जन्मदिनको महत्वलाई अनुत्पादक बनाउँदै लैजाने संस्कारलाई रुपान्तरण गर्न र यो अवसरलाई मानव जीवन पद्धतिको दिगो तथा न्यायोचित सहयोगी बनाउन जुम्लाकी एक बालिकाले उदाहरणीय काम गरेकी छन् ।

एशिया इन्टरनेश्नल मोडेल इङ्लिस विद्यालय (एम्स) जुम्लाको कक्षा ७ मा अध्ययनरत छात्रा रीता पछाइले बुधबार आफ्नो १३ औँ जन्मदिनको अवसरमा धुपीको बिरुवा रोपेर सबैलाई वातावरण संरक्षण गर्न सन्देश दिइन् ।

हजारौँ रुपैयाँ खर्च गरेर धनीले मात्र जन्मदिवस मनाउन सक्छन् भन्ने मानसिकतालाई निरुत्साहित गर्न र मानव गतिविधिकै कारण वातावरणमा परेको नकारात्मक प्रभाव कम गर्न बिरुवा रोपिएको छात्रा पछाइले बताइन् ।

उनले भनिन्, “फेरिएको जीवनशैली एवं विकासका नाममा दिनहुँ भित्रिने प्लाष्टिकजन्य सामग्रीले आज वातावरण प्रदूषित बन्दै गएको र जलवायुमा प्रतिकूल असर परेको छ, जसबाट हामी निर्दोष बालबालिका पनि प्रभावित छौँ ।”

“धेरैले जन्मदिवसको महत्वलाई पैसाको दम्भसँग साटेको देख्छु, केक काटेर खानेभन्दा नाक मुखमा पोतेको देख्दा उदेक लागेर आउँछ, जसको उपलब्धि सामान्यतः अधिक खुशी साट्नुबाहेक अन्य त्यस्तो केही देख्दिन,” छात्रा पछाइले भनिन् ।

त्यतिमात्र होइन, उनले हरेकलाई आफू धर्तीमा टेकेको दिनलाई होटल, प्लाष्टिक र बोतलसँग नजोडी रुख रोपेर मानवतावादी कर्ममा समाहित हुन आग्रह गरे ।

 

“धेरैले जन्मदिवसको महत्वलाई पैसाको दम्भसँग साटेको देख्छु, केक काटेर खानेभन्दा नाक(मुखमा दलेको देख्दा उदेक लागेर आउँछ, जसको उपलब्धि सामान्यतः अधिक खुशी साट्नुबाहेक अन्य त्यस्तो केही देख्दिनँ म”

 

एम्स स्कूलका संस्थापक मनोज बुढाथोकी मगरले बालबालिकाको जन्मदिनलाई केक चकलेटसँग नभई ज्ञान विज्ञानसँग जोडिएको बताए ।

“सभ्य संस्कारको जननी समाज हो, सुसंस्कार सिकाउने समाजभित्र कुनै एक परिवार मात्र नभई त्यसमा अपेक्षित भूमिका राख्ने एउटा अंग विद्यालय पनि हो, जसले सही संस्कृति, संस्कार, सभ्यता, ज्ञान, सीप र अवधारणा विजारोपण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ,” संस्थापक बुढाथोकी मगरले भने।

उक्त स्कूलका प्रधानाध्यापक चन्द्रबहादुर महतले छात्रा पछाइले रुख रोपेर मानव, वन र वातावरणबीच अन्योन्याश्रित सम्बन्ध छ भन्ने महत्व दर्शाएको बताए । यद्यपि यो कार्यलाई समाजले अनुशरण गर्नुपर्नेमा उनको जोड छ ।

केही समययता गरीब, असहाय, अशक्त, अनाथ बालबालिका र सरसफाइ क्षेत्रमा योगदान पुर्याउन एम्सले विद्यालयमा अध्ययनरत बालबालिकाको जन्मदिन सबैका लागि प्रेरणादायी स्रोत भएको उनको भनाइ थियो ।

दुई वर्षदेखि सञ्चालनमा रहेको आधारभूत तहको उक्त विद्यालयमा हाल ८८० बालबालिका अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published.