प्रज्ञा–प्रतिष्ठानको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले के भने ?

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानको दुई वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रतिष्ठानका कुलपति उप्रेतीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले प्रतिष्ठानका तर्फबाट दुई वर्षको प्रतिवेदन एकै साथ बुझाइनुले सरकार–प्रतिष्ठान दूरी बढेको महसुस भएको उल्लेख गर्दै अब यस्तो नहुने बताउनुभयो । “कवि नभए पनि कविमन भएको सरकार छ,” उहाँले भन्नुभयो, “प्रतिष्ठानले गरेका सबै कार्य सकारात्मक छन् । प्रतिष्ठानका प्रयासहरूमा सरकारले सहयोग गर्छ ।” उहाँले मुलुकको अबको यात्रा समृद्धिको रहेको भन्दै समयसापेक्ष साहित्य लेखिनुपर्नेमा जोड दिनुभयो ।

कुलपति उप्रेतीले दुई वर्षमा ९३ वटा अध्ययन अनुसन्धानको काम भएको जनाउँदै प्रतिष्ठानले दुई वर्षमा देशभर १ सय १४ वटा गोष्ठी, सम्मेलन, कार्यशाला र अनुसन्धान गराएको उल्लेख गर्नुभयो । उहाँले सीमित स्रोत र साधनका बाबजुद पनि प्रज्ञा–प्रतिष्ठानले उल्लेख्य उपलब्धि हासिल गरेको प्रस्ट पार्नुभयो । उहाँले यसबीचमा दर्जनौँ अनुसन्धानमूलक ग्रन्थ प्रकाशित भएको बताउनुभयो ।

सो अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, उपकुलपति डा. विष्णुविभु घिमिरे, मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी र प्राज्ञ परिषद्का सबै सदस्यहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.