उज्यालोले नचायो धिराङका चेपाङलाई

हेटौंडा। मकवानपुरको बिकट राक्सिराङ गाउपालिका वडा नं. ७, धिराङमा बिजुली बलेको छ । स्थानीय शंखरे खोलाबाट उत्पादित ९ किलोवाट् विद्युत्को उज्यालोपछि खुसी भएका चेपाङहरु बिहीबार रातभर नाचगान गरी रमाएका छन् ।

राक्सिराङ गाउँपालिकाको २० लाख रुपियाँ र जनश्रमदान समेत गरी ३२ लाख रुपियाँमा पेल्ट्रिक सेटबाट बिजुली उत्पादन गरिएको हो । पेल्ट्रिक सेटको उद्घाटन गर्दै ३ नं. प्रदेश सांसद् सन्तबहादुर चेपाङले चेपाङ बस्तीमा बिजुली बाल्न पाउने अवसर आएकोमा खुसी ब्यक्त गर्नुभयो ।

उहाँले धिराङसम्म मोटरबाटो पु¥याउन पहल भइरहेको जानकारी दिनुभयो । केही वर्षभित्र मोटरबाटोले पनि मूर्तरुप लिने भन्दै उहाँले गाउँपालिकाले बिकट क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले चेपाङ समुदायमा देखिएको खुसीले आफूलाई थप उत्साहित बनाएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश सचिव कृष्ण सारुमगर र गाउँपालिकाका इञ्जिनियर रुपक सुवेदीलगायत स्थानीय शिक्षकले खुसी व्यक्त गर्नुभएको थियो । हाल ८५ घरमा बत्ती बलेको छ । दुई सय घरमा बत्ती बाल्ने योजना छ । याे खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।

Leave a Reply

Your email address will not be published.