काठमाडौं, २७ कात्तिक । आज पनि हामीले तपाईमाझ गत कात्तिक २६ गते (हिजो) सम्प्रेशन गरिएका विभिन्न मुख्य समाचारहरुलाई संक्षेपमा प्रस्तुत गरेका छौं । गत कात्तिक २६ गतेका दिन विशेष समाचारहरु प्रकाशन तथा सम्प्रेशन भएका छन् ।
कात्तिक २६ गते सम्प्रेशन गरिएका मुख्य समाचारहरु यस प्रकार छनः
१. वैदेशिक रोजगारीबाट फर्केकालाई सरकारले १० लाख कर्जा दिने
काठमाडौं । राष्ट्र बैंकले विदेशबाट फर्किएर व्यवसाय कर्जा लिन चाहनेहरुलाई १० लाख रुपैयाँ कर्जा दिन थालेको छ । वैदेशिक रोजगारीमा सिकेको सीप अनुसार स्वदेशमै व्यवसाय गर्न चाहनेलाई सरकारले आर्थिक वर्ष २०७५।७६ मा बजेटमा व्यवस्था गरे अनुसार कर्जा दिन थालेको हो ।
विदेशबाट फर्किएर व्यवसाय कर्जा लिन चाहनेहरुलाई पायक पर्ने शाखाबाट सेवा लिन आग्रह राष्ट्र बैँकले आग्रह समेत गरेको छ । ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्य्विधि, २०७५’ स्वीकृत भइ कार्यान्वयनमा आएसँगै राष्ट्र बैंकले ११ कात्तिकमा नै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको थियो । विदेशमा सिकेको सीप अनुसारको व्यवसाय वा उद्यम गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँ दिने योजना समावेश गरेको थियो ।
कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आफू ६ महिना कुनै देशमा सम्वन्धित तालिम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वःघोषणा गर्नुपर्ने छ ।
२. विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग
काठमाडौँ । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ ।
त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे पनि अदालतको निर्देशनलाई पालना गर्न आयोगले आफ्नो स्रोत र साधनले भ्याएसम्म अध्ययन गर्ने कार्य शुरु गरिएको उनले बताए ।
वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मात्र मतदानको अधिकार सीमित नगरी विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रबन्ध गरी व्यवस्थित गर्नेतर्फ आवश्यक कदम चाल्नु भनी गत चैत ७ गते सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।
नेपाल जस्तै बाहिर कामदार पठाउने एशियाली मुलुकमा मतदाता अधिकारसम्बन्धी व्यवस्थाको अध्ययन गरी हामीसँग मिल्ने प्रणाली हेरेर मात्र प्रक्रिया शुरु गर्न उपयुक्त हुने आयोगले सोच बनाएको छ ।
विदेशमा बसेको भएतापनि नेपाली नागरिकता नत्यागेको र अन्य कुनै पनि देशको नागरिकता नलिएको, मतदानका लागि कानूनबमोजिम उमेर पूरा भई मतदाता परिचयपत्र भएको तथा कूटनीतिक निकायले तयार गर्ने लगतमा अद्यावधिक भएको व्यक्तिलाई ‘एक्सटर्नल भोटिङ’ का लागि योग्य मानी सोही अनुसारको व्यवस्था गर्न पनि अदालतले भनेको छ ।
प्रवक्ता सुवेदीले भने, “आगामी आवधिक निर्वाचनमा विदेशमा रहे बसेका नेपालीलाई मतदानको अधिकार दिने सन्दर्भमा पक्कै पनि कुनै न कुनै नमूना अपनाउनुपर्ने हुन्छ र त्यसमा हामी जान सक्छौँ ।” विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने सिलसिलामा बृहत् अध्ययन गर्न आगामी वर्षका लागि अर्थ मन्त्रालयसँग रकमको व्यवस्था गर्न अनुरोध गर्ने आयोगले बताएको छ ।
विश्वका विभिन्न मुलुकको अन्तरिक कानून फरक–फरक हुने भएकाले कतिपय देशले भनेको समय र दिनमा बिदा नदिन सक्ने सम्भावनालाई दृष्टिगत गरी त्यहाँको कानूनअनुसार मतदानको अधिकार पाउने कि नपाउने भन्ने पक्ष पनि बुझ्न अदालतले सरकारलाई भनेको थियो । निर्वाचन आयोगले विदेशमा रहेका नागरिकको मतदान अधिकारबारे विभिन्न मुलुकले अपनाएको सफल अभ्यासलाई नमूना आधार बनाएर योजना अघि बढाउने आयोगले सोच बनाएको छ । श्रम मन्त्रालयबाट कामदारका लागि गएका ५० औँ लाखले श्रम स्वीकृति लिएका तथा वैदेशिक कामदारमा रहेका अभिलेखबाहेक विभिन्न पेशा र व्यवसायमा २० लाख बढी नेपाली विदेशमा रहेको बताइएको छ ।
मतदानमा भाग लिन पाउने नागरिको सार्वभौम र लोकतान्त्रिक अधिकार भएकाले उक्त अधिकार दिलाउने सन्दर्भमा चाहिने आवश्यक कानून निर्माण गरी अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदानमा सहभागी हुनसक्ने वातावरण मिलाउन अदालतले सरकारलाई सुझाव दिएको थियो । विदेशमा रहेका नागरिकलाई मतदानको अवसर प्रदान गर्ने सन्दर्भमा आइपर्ने चुनौती, निर्वाचन खर्च, प्रविधिको प्रयोग, समयावधि, नागरिको पहुँच, राजनीतिक दल र उम्मेदवारको तयारीलगायतका पाटो पक्षलाई मसिनोसँग अध्ययन र विश्लेषण गर्न आवश्यक रहेको निर्वाचनका क्षेत्रमा काम गर्दै आएका अनुभवी बताउँछन् ।
आदेशमा भनिएको छ, “प्रत्यक्षरुपमा विदेशस्थित कूटनीतिक निकायमा, प्रतिनिधिमार्फत, हुलाकमार्फत वा विद्युतीय मतदानमध्ये कुन विकल्पको प्रयोग गर्दा अधिक नागरिकलाई स्वच्छ, निश्पक्ष, धाँधलीरहित र गोप्य तरिकाबाट आर्थिक र व्यवस्थापकीय भारबहन गर्नसक्ने गरी मतदानको अवसर प्रदान गर्न सकिन्छ सो सम्बन्धमा विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतसँग परामर्श गरी आवश्यकता परे नमूना मतदान गरी उपयुक्त व्यवस्था मिलाउनु ।”
कतिपय देशले अझै सन्देह मानिरहेका तथा नेपालभित्रै पनि विद्युतीय मतदान प्रयोग गर्ने विश्वसनीय हिसाबले हेर्न नसकेको अवस्थामा सोचेजस्तो बाह्य मुलुकमा रहेका नागरिकलाई मतदानमा भाग लिने व्यवस्था मिलाउनु निकै चुनौती भए पनि आयोगको पहल अदालतको आदेशको पूर्ण कार्यान्वयन गर्नेतर्फ लक्षित हुने आयोगले जनाएको छ ।
सङ्घीय संसद्ले निर्माण गर्ने कानून र सरकारले तय गर्ने विधिका आधारमा मात्र विदेशमा रहेका नेपाली नागरिकलाई रहे बसेकै देशबाट आयोगले मतदानमा सहभागी गराउन सक्नेछ । आगामी दिनमा कुनै पनि नेपाली नागरिकलाई मतदानबाट बञ्चित हुन नपर्ने ढङ्गबाट आयोगले निर्णय लिने प्रवक्ता सुवेदीले बताए ।
३. क्रिश्चियन धर्मको प्रचार(प्रसार गर्ने अष्ट्रेलियन १ महिलासहित ४ पक्राउ
बर्दिया, २६ कात्तिक । बर्दियाको गुलरिया बजार क्षेत्रमा क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिडेका एक अष्ट्रेलियन महिला सहित ४ जनालाई पक्राउ गरिएको छ । घर घर पसेर धर्मको प्रचारप्रसार गर्दै हिडेको सुचनाका आधारमा सोमबार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनिहरुलाई कार्यालयमा झिकाई चेकजाँच गर्दा घर घरमा गएर धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र जंग शाहिले बताए ।
चेकजाँच गर्ने क्रममा ती व्यक्तिहरुबाट बाइबलहरु, क्रिश्चियन धर्म प्रचार सम्बन्धि भिडियो र अन्य धेरै पर्चा पम्पलेटहरु र क्रिश्चियन धर्मका धेरै मात्रामा किताबहरु बरामद भएपछि प्रहरीको जिल्ला लगाइएको समेत निमित्त प्रमुख जिल्ला अधिकारी शाहीले बताए ।
शाहीले भने, ‘ग्रुप बनाएर छ्याप्छ्याप्ती धर्म प्रचारका लागि घरदैलोमा हिँडेको सुचना प्राप्त भएपछि हामीले अनुसन्धान थालेर पक्राउ गरि प्रहरीको जिम्मा लगाएका हौं ।’ प्रहरीले इसाई धर्म प्रचार गर्दै हिडेका पासपोर्ट साथमा नभए पनि पासपोर्ट नम्वर एन ७००७३७११ भएको बताउने अष्ट्रेलियन महिला क्याटीया ग्रान, नेपालगञ्ज निवासी श्वेता मानन्धर र श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका वार्ड नम्वर ६ बर्दियाका दलबहादुर तिरुवा गरि ४ जना नेपालीसहित १ जना अष्ट्रेलियन महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।
भिजिट भिषामा नेपाल छिरेकी विदेशी महिलाले धर्म प्रचारमा लागेको पाइएकाले अनुसन्धान पश्चात उनलाई अध्यागमन विभाग कालिका स्थान काठमाडौं पठाइएको एसपी मैनालीले जानकारी दिए ।
४. ‘छानबिन समितिले दिएको प्रतिवेदन तत्काल सार्वजनिक नगर्नु भुल’
रामेछाप, २६ कात्तिक स्नेपाली काङ्ग्रेसका युवा नेता उदयशम्शेर राणाले निर्मला पन्तको घटनाको छानबिन समितिले दिएको प्रतिवेदन तत्काल सार्वजनिक नगर्नु सरकारको भुल भएको बताएका छन् ।
सदरमुकाम मन्थलीमा काङ्गे्रसका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले पीडित पक्षका गुनासो नसुन्नु लगायत विषयमा पनि सरकार दोषी रहेको बताउँदै साढे तेत्तीस किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई समात्दा समेत सरकारले छानबिनलाई ओझेलमा पारेको आरोप लगाए ।
५.स्थानीय तहको रकमले साडी किनेर बाँडेपछि चर्को आलोचना
रौतहट, २६ कात्तिक । छठ पर्वका ब्रतालु महिलाका लागि रौतहटमा जनप्रतिनिधिहरुले निःशुल्क साडी वितरण गरेका छन् । केहि दिनदेखि नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतले विपन्न, दलित, असाहय तथा शहीद परिवारका सदस्यलाई साडी वितरण गरेका हुन् ।
विभिन्न स्थानीय तहले बजेट नै छुट्याएर तथा जनप्रतिनिधिले व्यक्तिगतरूपमै छठ पर्वको व्रत बस्ने महिलालाई साडी वितरण गरेका हुन् । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता तथा उपप्रमुख किरण ठाकुरले नगरभित्र रहेका ब्रतालु महिलाहरुलाई साडी वितरण गर्नुभएको हो । छठ पर्वलाई व्यवस्थित गर्नका लागि गौर नगरपालिकाले ६ लाख ७० हजार रुपैयाँ रकम विनियोजन गरेको छ । नगर प्रमुख गुप्ताका अनुसार प्रत्येक वडालाई २० हजारको दरले घाट सजावट र ३५ हजारको दरले साडी वितरण तथा नगर प्रमुखले एक लाख र उपप्रमुखले ७५ हजार गरी ६ लाख ७० हजार रुपैया छठको लागि विनियोजन भएको हो ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र यादव र उपप्रमुख सिमल साहले व्रतालुलाई साडी वितरण गर्नुभएको छ । आफ्नो दुई महिनाको तलब भताले शहीद परिवार तथा अपाँगलाई साडी वितरण गरेको माधवनारायण नगरपालिकाका उपप्रमुख सिमल साहले बताए । राजदेवी नगरपालिकामा पनि छठको व्रत वस्ने महिलाहरुका लागि नगरपालिका तथा जनप्रतिनिधिहरुको तर्फबाट निशुल्क साडी वितरण गरिएको छ ।
दुर्गा भगवती गाउँपालिकाका वडाध्यक्ष धर्मेन्द्रकुमार झाले आफ्नो अहिलेसम्मको सम्पूर्ण तलबको रकमले चार सयभन्दा बढी व्रतालुलाई साडी बाँडेको बताएका छन् । गरुडा नगरपालिका ८ का रामलाल राय यादवको अगुवाईमा ५० व्रतालु र ९ का वडाध्यक्ष राजेश सहनीले एक लाखभन्दा बढी मूल्य बराबरको साडी बितरण गरेको दावी गरेका छन् ।
६. नक्कली सुनलाई सक्कली सुन भन्दै ४० लाख ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भन्दै ठगी गर्ने ६ जना प्रहरीको फन्दामा परेका छन् । उनीहरुले नक्कली सुनलाई सक्कली सुन हो भनी प्रलोभनमा पारी १ किलोग्राम नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ ठगी गरेका हुन् ।
प्रहरीका अनुसार पक्राउमा सुनसरी धरान उपमहानगरपालिका-१७ का २५ वर्षीय पवन वि.क., धनुषा जनकपुर नगरपालिका-९ का ३५ वर्षीय मनिष ढुङगाना, सर्लाही हरिवन-९ का २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार, सर्लाही लालबन्दी नगरपालिका-१९ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, धनकुटा राजारानी गाउँपालिका-६ का २५ वर्षीया सलिना शेर्पा भन्ने संगिता राई र पर्सा विरुवागुठी-१ का २९ वर्षीय सन्तोष कुमार लामा रहेका छन् ।
गत कात्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाए। पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँ समेत प्रहरीले बरामद गरेको प्रहरीले बताए । उनीहरुमाथि थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
७. बाख्रा चराउन गएकी ११ वर्षीया बालिका तीन भारतीयद्वारा बलात्कृत
बर्दिया, २६ कात्तिक । बर्दियाको बढैयातालमा बाख्रा चराउन सीमापारी गएकी एक नेपाली बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बडैयाताल गाउँ पालिका वडा नम्बर ८ स्थित नेपाल भारतको सीमा क्षेत्र नजिक पर्ने जंगलमा ३ जना भारतीय नागरिकको सामुहबाट ११ वर्षीया नेपाली बालिका बलात्कृत भएकी हुन् ।
नेपाल भारत सीमाना नजिक बाख्रा चराउन गएकी बढैयाताल ८ बस्ने ११ वर्षीया बालिकालाई एक्लै भएको अवस्थामा उनिहरुले सामुहिक बलात्कार गरेको पीडित बालिकाकी आमाले प्रहरी समक्ष जानकारी गराएकी छन् । पीडित बालिकालाई बाख्रा चराउन गएका अन्य गोठालाहरुले अचेत अवस्थामा उद्धार गरि प्रहरी चौकी कालिका प्रहरीलाई जानकारी दिएका थिए ।
बलात्करमा संलग्न एक जनालाई भाग्दै गरेको अवस्थामा स्थानीयको सहयोगमा नियन्त्रणमा लिई प्रहरी चौकी कालिकामा बुझाएइएको छ, भने अन्य २ जनालाई इलाका प्रहरी कार्यलय मैनापोखरले भारतीय नागरिकसँगको समन्वयमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
८. अब दशैंमा जस्तै अन्य चाडपर्वमा पनि नयाँ नोट !
काठमाडौं, २६ कात्तिक । नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ ।
मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीले मनाउने विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट सटही सुविधा प्रदान गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
विभागका अनुसार नववर्ष, उभौली पर्व, बुद्धजयन्ती, गाईजात्रा, गौरापर्व, हरितालिका, संविधान दिवस, गणतन्त्र दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानकजयन्ती , उधौली पर्व, योमरी पुन्हि(ज्यापु दिवस), क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्रि, फाल्गुपूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसमा नयाँ नोट सटही गर्न सकिने छ ।
९. बर्थ डे पार्टीमा बालिका र युवतीलाई बोलाएर सामूहिक बलात्कार
लहान । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् ।
पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चार जनाको नाम नखुलेको प्रहरीको भनाइ छ ।