काठमाडौं । डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच मंगलबार साँझ भएको भेटवार्ता सकारात्मक भएको छ ।
शिक्षा मन्त्रालयमा भएको भेटवार्तामा डा. केसीले उठाएको मागबारे छलफल भएपनि सहमति जुटेको छैन ।
केसी र सरकारी वार्ता टोलीले साँझ जारी गरेको विज्ञप्तिमा डा. गोविन्द केसीले उठाएका मध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति हुन नसकेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भोलि बिहान ९ बजे पुनः ती विषयमा छलफल गरेर सहमति जुटाइने निर्णय भएको सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’
विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने विज्ञप्तिमार्फत बताइएको हो ।
शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् ।
यसैगरी, डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि थिए । याे खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।