काठमाडौं । ओखलढुङगाका १३ बस्तीका १ सय ३७ घर जोखिममा परेका छन् । भुकम्प गएको तिन बर्ष पुरा भएपनि यी बस्ती स्थान्तरण हुन नसक्दा जोखिममा बस्न बाध्य भएको स्थानिय बताउँछन् ।
भूकम्पबाट अति प्रभावित ओखलढुंगाका स्थानान्तरण गर्ने घोषणा गरिएका १६ मध्ये अहिलेसम्म तीन बस्ती मात्रै स्थानान्तरण गरिएको छ । तीन बस्तीका ४८ घरधुरी मात्रै सुरक्षित स्थानमा सरेका छन् भने १३ बस्तीका १ सय ३७ घरपरिवार जोखिमयुक्त स्थानमै बस्न बाध्य छन् ।
भूकम्प अतिप्रभावित जिल्ला ओखलढुंगाका चिसंखुगढी गाउँपालिका–७ को मम्खाको डाडाँगाउँ र भदौरेका ३७ घरधुरी, खिजिदेम्वा गाउँपालिका–१ रंगेनीको गैरीगाउँ र मझुवाका ३९ घरधुरी, मोलुङ गाउँपालिका–३ हर्कपुरको केराबारी बजारका १७ घरधुरी र वडा नं–५ प्राप्चाको केउरीनीका ६ घरधुरीलाई जोखिमपूर्ण बस्ती घोषणा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगाअन्तर्गत अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रवक्ता सुनिता अधिकारीले बताएको खबर अन्नपुर्ण पोष्टमा छ ।