अबको दश वर्षभित्र ‘एशिया कप क्रिकेट’ आयोजना गर्ने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले खेलकुदको विकासका लागि १५ वर्षीय गुरुयोजना मस्यौदा तयार पारेको छ । १० वर्षभित्रमा एशिया कप क्रिकेट तथा १५ वर्षभित्र एशियाली खेलकुदको आयोजना गर्ने सरकारी लक्ष्य रहेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले छलफलमा ल्याएको मस्यौदामा सरोकारवालासँग सुझाव संकलन गरिएको छ । मन्त्रालयले तयार पारेको गुरुयोजनालाई भने जानकारहरु महत्वाकांक्षी भएको बताउँछन् । गुरुयोजनामा पाँच वर्षभित्र दक्षिण एशियाली खेलकुदमा तेस्रो स्थान हासिल गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, ओलम्पिकमा काश्य पदक हासिल गर्ने भनिएको छ । १० वर्षभित्र नेपालले क्रिकेटको एक दिवशीय विश्वकपमा छनोट हुने तथा एशियन गेम्समा स्वर्ण पदक ल्याउने उल्लेख छ ।

१५ वर्षभित्र ओलम्पिकमा रजत पदक हासिल गर्ने तथा एशियाली खेलकुदमा स्वर्ण पदक हासिल गर्ने लक्ष्य समेत सरकारले राखेको छ । गुरुयोजनामा नेपालले १० वर्षभित्र एशिया कप क्रिकेट तथा १५ वर्षभित्र एशियाली खेलकुदको आयोजना गर्ने लक्ष्य राखेको छ । १५ वर्षे गुरुयोजनामा देशका सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने भनिएको छ ।

त्यस्तै सबै नगरपालिका तथा समुदायस्तरमा एक एक वटा सुविधासम्पन्न बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने र मुलुकका सबै बिद्यालयमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण हुने उल्लेख छ । १५ वर्षको योजनामा भने राष्ट्रिय टोलीमा रहेका सबै खेलाडीलाई विदेशमा प्रशिक्षणको व्यवस्था मिलाउने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.