विवेकशील र ‘दरबार’बीच एकता हुने

संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रहको लाइन पारित गरेको रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले एकता गर्ने निर्णय गरेको हो ।

प्रवक्ता शरदराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा बैठकले पार्टी एकताको सहमतिपत्रलाई अनुमोदन गरेको जनाइएको छ । पार्टी एकताको घोषणा कार्यक्रम चाँडै राखिने र एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने विज्ञप्तिमा जनाइएको छ । मिश्रले नै एकीकृत पार्टीको एकल नेतृत्व गर्ने पनि बताइएको छ ।

सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझाको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुने पाठकले बताएका छन् । यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने उनले जानकारी दिए । एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १ सय ७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ ।

सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो । २०७१ सालदेखि भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको थियो ।

अध्यक्ष मिश्रले अन्य पार्टीहरुसँगको एकतामा जोड दिए पनि विवेकशील साझा आफैँमा भने विभाजनउन्मुख छ । मिश्रले संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहका लागि गरेको प्रस्ताव विवेकशील साझा पार्टीले हालै अनुमोदन गरेको थियो । उक्त प्रस्ताव मिलन पाण्डे समूहले भने अस्वीकार गरेको छ । जसका कारण राजनीतिक र वैचारिक रुपले दुईधार भइसकेको विवेकशील साझा पार्टी वैधानिक विभाजनको बाटोमा समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *