चुनाव हारेर पनि माओवादी नेताले गरे जनप्रतिनिधिको भन्दा राम्रो काम

नुवाकोटका पिछडिएका गाउँवस्तीमा गुणस्तरिय शिक्षा र स्वास्थ्य सेवाको पहुँच पुर्याउन विगत लामो समयदेखि सहयोग अभियान सञ्चालन गर्दै आएका समाजसेवी जगत बहादुर गुरुङले बेलकोटगढी नगरपालिकास्थित मदानपुरको एक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा २०७४ सालको स्थानिय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाका मेयरका प्रत्यासीसमेत रहेका गुरुङले मदानपुरको चन्दादेवी माध्यामिक विद्यालयलाई शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रम समारोहकाबीच एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

आर्थिक श्रोत साधन तथा भौतिक संरचनाको अभावजस्ता समस्यामा वर्षौँदेखि गुज्रिरहेको बेलकोटगढी नगरपालिका वडा नं. १२ मा अवस्थित विद्यालयको गुणस्तरिय शिक्षाका लागि उक्त सहयोग रकम हस्तान्तरणगरेको गुरुङले बताए । थोरै मात्रै भएपनि विद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तरउन्नतिका लागि योगदान गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको उनको भनाइ छ ।

सो अवसरमा माओवादी केन्द्र नुवाकोटका नेता नविन पुडासैनी, बेलकोटगढी नगरपालिकाका उपमेयर कविता ढुंगाना, विद्यालयका प्रद्यानाध्यापक हरिशरण पाण्डे, शिक्षक-अभिभावक संघका अध्यक्ष धनबहादुर तामाङ, योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) बेलकोटगढीका संयोजक अमर तामाङलगायतले समाजसेवी गुरुङको योगदानले शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा ठूलो मद्दत पुगेको चर्चा गरेका थिए ।

निर्वाचन जितेर गएकाहरुले जनताले तिरेको करबाट प्राप्त बजेट पनि जनताकै हित र समाजको विकासमा न्यायपूर्ण  ढंगले वितरण नगरिरहेको अवस्थामा गएको स्थानिय निर्वाचनमा बेलकोटगढी नगरपालिकाको मेयर पदमा हारेर पनि व्यक्तिगत पहलमा विद्यालयलाई सहयोग गरेकोमा सहभागीहरुले नेता गुरुङको खुलेर प्रशंसा गरेका थिए ।

करिब तीन सय विद्यार्थी अध्ययनरत मदानपुरको चन्दादेवी माध्यामिक विद्यालय वर्षौँदेखि अभिभावक र सहयोगीहरुले दिएको चन्दाकै भरमा सञ्चालन हुँदै आइरहेको शैक्षिक संस्था हो ।

यसका साथै केही दिनअघि दिपावलीको समयमा बेलकोटगढी नगरपालिकाकै वडा नं. ९ बाघखोर सिउरेनीस्थित एक विद्यालय सञ्चालनको लागि एक लाख रकम सहित अभिभावकहरुलाई नेता गुरुङले खाद्यान्न सहयोग गरेका थिए । विद्यार्थी अभावको कारण देखाएर खारेजीमा परेको उज्वल तारा आधारभूत विद्यालय स्थापना गरी सञ्चालनको लागि उनले रकम सहयोग गरेका हुन् ।

बालबालिका विद्यालय पठाई पठनपाठन गराउन प्रोत्साहनस्वरुप विद्यालयमा अध्ययनरत विद्यार्थीका करिब एकसय अभिभावकहरुलाई एक/एक बोरा चामल, प्रतिव्यक्ति पाँच केजी दाल र एक/एक लिटर तेल नेता गुरुङ्गले सहयोग गरेका थिए ।

उनले हालै मात्र बेलकोटगढी वडा नं. ६ का एकसय ८० वृद्धवृद्धालाई न्यानो कपडा पनि वितरणगरेका थिए । गौलिङ्गेश्वर माध्यामिक विद्यालयमा एक कार्यक्रम आयोजना गरी गुरुङले उक्त वडामा सामाजिक सुरक्षा भत्ता लिइरहेका ठूलो संख्यामा रहेका वृद्धवृद्धाहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरेका हुन् ।

दर्जनौँ विद्यालय, स्वास्थ्य क्षेत्र, सामाजिक संघसंस्था र समुदायका निम्नस्तरका नागरिकहरुलाई आर्थिक तथा अन्य भौतिक सहयोग गर्दै आएका नेता एवं समाजसेवी गुरुङले समाजप्रति आफ्नो व्यक्तिगत योगदानसँगै मानवीयताको भावनालाई जागरुक गराउन ठूलो भूमिका खेलेको नुवाकोट जिल्लाका आम नागरिकहरुमा गहिरो विश्वास स्थापित भएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *