एमाले र जसपाका बिद्रोही जनप्रतिनिधिले भदै २२ सम्ममा सनाखत गर्नुपर्ने

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गर्ने जनप्रतिनिधिले निर्वाचन आयोगमा पुगेर अनिवार्य रूपमा सनाखत गर्नुपर्ने भएको छ ।

नयाँ दर्ता भएको पार्टीमा २१ दिनभित्र प्रवेश गर्दा आफ्नो पद सुरक्षित रहने ऐनको व्यवस्था अनुसार एमालेबाट विभाजित भएको समाजवादी र जसपाबाट विभाजित भएको लोसपामा प्रवेश गर्ने जनप्रतिनिधिले निर्वाचन आयोगमा पुगेर आफ्नो सनाखत गर्नुपर्ने भएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ को उपदफा (२) क राजनीतिक दल सम्बन्धी नियमावली २०७४ (दोस्रो संशोधन अध्यादेश) को नियम ५ को उपनियम (७) क बमोजिम नयाँ दल गठन भएको मितिले २१ दिनभित्र (भदौ २ देखि २२ सम्म) प्रदेशसभाका सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा स्वमं उपस्थित भै सनाखत गर्नुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

नयाँ दलमा प्रवेश गर्न चाहेमा मात्र सनाखत गर्नुपर्ने भएकोले प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यहरूलाई सो सम्बन्धी सूचना सम्बन्धित प्रदेशसभा र स्थानीय तहमार्फत प्रवाह गरी सनाखत गर्ने व्यवस्था प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले मिलाउने व्यवस्था आयोगले गरेको छ ।

नयाँ दल रोज्ने जनप्रतिनिधिले सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा/स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लगेर सनाखत गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *