अष्ट्रेलियामा एनआरएनएको चुनावी रन्को : सहसचिव पदमा जोशीले दिए उम्मेद्वारी 

काठमाडौँ । शनिवार अर्थात् ३१ जुलाईमा हुन गइरहेको अस्ट्रेलिया एनआरएनए चुनावमा नेपाली सूचना प्रविधि विज्ञ तथा समाजसेवी राकेश जोशीले सहसचिव पदमा उम्मेदवारी दिएका छन् ।

जोशीले एनआरएनए अस्ट्रेलियाको चुनावमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उम्मेदवारी दिएका हुन् । आफ्नो उम्मेद्वारीबारे जानकारी दिँदै उनले आपतमा परेका नेपालीको सहयोगमा आफू निरन्तर क्रियाशील रहेकाले जीत सुनिश्चित भएको बताए ।

उनका अनुसार समाजसेवा होस् वा राजनीति जहाँ युवाको संलग्नता हुन्छ, त्यो सफल हुने गर्दछ, त्यो चाहे स्वदेशमा होस वा विदेशमा । त्यही उचाइ हासिल गर्नका लागि सहसचिवको पदका लागि उम्मेदवारी दिएको जोशीको भनाइ छ ।

अस्ट्रेलियामा अप्ठयारोमा परेका नेपाली विद्यार्थीहरुलाई सहयोगी हात बन्दै आएका समाजसेवी जोशी एनआरएनए अस्ट्रेलियाका लागि परिचित नाम हो । विभिन्न सामाजिक काममा संलग्न जोशीले सन् २०१४ देखि अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रमा संलग्न भई विभिन्न इभेन्टसमेत आयोजना गर्दै आइरहेका छन् ।

भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरोजस्ता विभिन्न प्राकृतिक प्रकोपका बेला सामाजिक कार्यहरूमा जोशी संलग्न हुँदै आइरहेका छन् । उनी लामो समयदेखि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा समेत संलग्न छन् भने अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वास्थ्य समस्यामा सहजकारी भूमिका निर्वाह पनि गरिरहेका छन् ।

त्यसैगरी जोशी आप्रवासी विद्यार्थीहरूका शिक्षा क्षेत्रमा आइपर्ने समस्या समाधानमा निरन्तर लागि परेका व्यक्तिसमेत हुन् । उनका इभेन्टहरूमा स्थानीय सासंदहरु समेतको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपालबीच मैत्री सम्बन्ध बलियो बनाउन मद्दत पुर्‍याएको छ ।

युवा उद्यमशीलत, अस्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुवैमा सामाजिक कामको विकास र व्यवस्थापनमा जोशीको प्रभावकारी भूमिका देखिदै आएको त्यहाँस्थित नेपालीहरु बताउछन् ।

मुख्यतः नेपाली समुदायमा केन्द्रित रहेर अस्ट्रेलियामा नेपालीहरूलाई ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्‍याउने जोशीको लक्ष्य छ । नेपाल र नेपाली संस्कृतिको प्रवर्धनका लागि विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी दुई देशलाई नजिक ल्याउन योगदान पुर्याउने उनले योजना पनि अघि सारेका छन् ।

कोभिड १९ को प्रकोपका कारण चुनाव अनलाइन मार्फत हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *