इंग्ल्याण्ड र डेनमार्क यूरो कपको सेमिफाइनल प्रवेश

काठमाडौँ । इंग्ल्यान्ड र डेनमार्क यूरो कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति युक्रेनलाई ४-० ले हराउँदै इंग्ल्यान्ड र चेक रिपब्लिकलाई २-१ ले हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेका हुन् । अर्को दुई टोली स्पेन र इटाली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

गएराति भएको खेलमा युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डका लागि ह्यारी केनले दुई तथा ह्यारी मगुयर र जोर्डन हेन्डरसनले एक-एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा रहिम स्टर्लिङको पासमा केनले गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको शुरूआतमै मगुएरले गोल गरे ।

खेलको ५०औं मिनेटमा केनले दोस्रो गोल थपे भने ६३औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को अग्रता दिलाए ।

यसअघि भएको खेलमा चेकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । सन् १९९२ मा यूरो कप उपाधि जितेयता डेनमार्क सेमिफाइनलमा पुग्न सकेको थिएन ।

डेनमार्कका लागि थोमस डेलानी र कास्पर डोलबर्गले तथा चेकका प्याट्रिक सिकले गोल गरे । डेनमार्कले खेलको पाँचौं मिनेटमै डेलानीको गोलमार्फत अग्रता लिएको थियो । त्यस्तै, खेलको ४२औं मिनेटमा डोलबर्गले डेनमार्कका लागि दोस्रो गोल गरे ।

दोस्रो हाफको ४९औं मिनेटमा सिकले चेकका लागि गोल गरेका थिए । त्यसपछि लगातार खेलमा दबाब बनाए पनि चेकले गोल थप्न सकेन ।

अब फाइनल प्रवेशका लागि डेनमार्क र इंग्ल्यान्ड तथा स्पेन र इटाली भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *