भस्त्रिका प्राणायाम किन र कसरी गर्ने ?

  • हेम लक्ष्मी श्रेष्ठ

प्राणायाम भनेको प्राणको आयाम हो । अर्थात प्राण + आयाम = प्राणायाम । कुनैपनि कार्य गर्नका लागि हामी स्वस्थ रहनु आवश्यक छ । शरीर स्वस्थ र सबल अनि मन शान्त र आनन्दीत पार्नका लागि यो प्राणायाम गर्नु आवश्यक छ ।

योग दर्शनका अनुसार ‘तस्मिन सति श्वासप्रश्वासयोर्गतिविच्छेदः’ प्राणायामः (प.यो.सु. २.४९) अर्थात् आसन सिद्ध भएपछि श्वास प्रश्वासको गतिलाई रोक्नु वा नियन्त्रण गर्नु नै प्राणायाम हो । प्राणायाम गर्नका लागि श्वास भित्र लिनुलाई पुरक र श्वास भित्र लिईसकेपछि एकछिन भित्रै रोकेर राख्नुलाई भित्रि कुम्भक भनिन्छ । श्वास बाहिर फ्याँक्नुलाई रेचक र श्वास बाहिर फ्याँकिसकेपछि एकछिन बाहिर श्वास रोकेर राख्नुलाई बाह्य कुम्भक भनिन्छ । यसरी प्राणायाम गर्नका लागि पुरक, कुम्भक र रेचक क्रियाहरु गरिन्छन् । प्राणायाम गर्नु भनेको श्वास लिनु र छोड्नु मात्र नभै हावाका साथमा प्राण शक्ति वा जीवन शक्ति (Vital force) लाई पनि लिनु हो । अर्थात् हाम्रो शरीरलाई चाहिने वा नभई नहुने अक्सिजन पनि लिनु हो । प्राणायाम श्वास प्रश्वासको व्यायामको एउटा पद्धति हो जसको कारणले फोक्सो बलियो हुन्छ । प्राणायाम द्वारा मनका विकारहरुको सजिलै समाधान गर्न सकिन्छ । यसको अभ्यासले शरीरमा रहेको प्राण शक्तिलाई सक्रिय बनाउँछ । महर्षि पतञ्जलिका योग दर्शनको सूत्र अनुसार ‘ततः क्षीयते प्रकाशावरणम् । (प.यो.सु./५२) अर्थात प्राणायामको अभ्यासले ज्ञानरुपी प्रकाशलाई छोपेर राख्ने सबै खाले क्लेशहरु क्षीण हुन्छन् र ज्ञानको उदय हुन्छ । तेसै गरी अर्को सूत्र ‘धारणासु च योग्यता मनसः (प.यो.सु.२/५३)’ अर्थात प्राणायामले मनलाई शान्त तथा विचारशुन्य बनाउँछ जसले गर्दा मन धारणा अभ्यास गर्न योग्य बन्दछ ।

प्राणायाम मुख्यतया आठ प्रकारका मानिन्छन् । जसमा पाँचवटा क्रियात्मक र तिनवटा ध्यानात्मक छन् । यहाँ ति पाँचवटा क्रियात्मक मध्ये एकवटाको उल्लेख गर्ने जमर्को गरेकी छु ।

पहिलो प्राणायाम भस्त्रिका : जब सम्म श्वास चल्छ तब सम्म जीवन चल्छ । यो शाश्वत सत्य हो । हामीले याद गरेर वा नगरेरै पनि हामीले श्वास फेरिरहेको हुन्छौं । यसरी हामीले श्वास लिंदा बाहिरबाट अक्सिजन लिन्छौ भने भित्रबाट कार्बनडाईअक्साईड वा विजातिय पदार्थ प्रश्वासको माध्यमबाट बाहिर फालिरहेका हुन्छौं । साधारण रुपमा श्वास लिरहँदा हामी लगभग ५०० मी.ली. अक्सिजन मात्र हाम्रो शरीर भित्र लिन सक्छौं भने गहिरो श्वास प्रश्वासमा ५ हजार देखि १० हजार मी.ली. अतिरिक्त अक्सिजन लिन सक्छौं । यसरी लिएको श्वास फोक्सोमा गएर रक्तकोशीका द्वारा अवशोषित भई हृदयमा त्यहाँबाट आर्टरीमा हुँदै शरीरको समस्त कोशीकाहरुमा गएर हामीलाई ऊर्जा प्रदान गर्छ । भस्त्रिका प्राणायाम नितान्त फोक्सोको व्यायाम हो । श्वास लिंदा विभिन्न मांशपेशिहरु खुम्चन्छन् र Thorasic cavity को घनत्व बढ्न गई हावा भित्र जान्छ । यस प्रकृयामा Intercostal muscles खुम्चन्छन् । जसले गर्दा करङ्ग माथी र बाहिर तर्फ तानिन्छ । यसरी मांसपेशिहरु खुँचींदा Thorasic cavity को ठाउँ बढ्ने र चाप घट्ने हुन्छ जसले गर्दा वायूमण्डलको चाप छातीभित्रको चाप भन्दा बढी हुन्छ । फलस्वरुप हावा फोक्सो भित्र पस्छ र फोक्सो फुल्छ । जब Intercostal muscles शिथिल हुन्छन् तब करङ्गहरु तल र भित्र तर्फ जान्छन् जसले गर्दा Thorasic cavity को चाप वायूमण्डलको चाप भन्दा बढी हुन्छ र फेक्सो खुम्चीन्छ अनि शरीर भित्रको हावा बाहिर निस्कन्छ ।

शरीरका बाह्य अंगहरुलाई मजबुत तथा निरोगी बनाउनका लागि विभिन्न खाले व्यायाम तथा कसरतहरु छन् । तेसैगरी शरीरका भित्रि अंगहरुको निरोगी तथा मजबुतीका लागि गरिने व्यायाम भने यहि प्राणायामहरु हुुन् । कुनै पनि प्राणायाम गर्ने विधि वा तरिका हुन्छ । त्यसका कसले गर्न हुने कसले नहुने भन्ने सावधानी हुन्छन् । अनि तिनिहरुबाट कस्ता खाले लाभ प्राप्त गर्न सकिन्छ भन्ने जानकारी थाहा पाउन सकिन्छ ।

विधि :
कुनै पनि सजिलो आसनमा बस्ने । महर्षि पतञ्जलिका अनुसारः ‘स्थिरसुखमासनम्’ (प.यो.सु./४६) अर्थात् कुनै पनि आसनमा स्थिर भएर सुखपूर्वक रहनु । जस्तै ः बज्रासन, सुखासन, पद्मासन, अर्धपद्मासन वा स्वस्तिकासन ।
कम्मर, ढाड र गर्धनलाई सिधा राख्ने । पेटलाई खिंचेर छाती भन्दा भित्र राख्ने ।

हत्केलालाई माथीतिर फर्काएर हात घुंडामाथी राख्ने । यसो गर्दा कुहिना हल्का खुम्चीएको अवस्था हुन्छ । हातका औंलालाई ज्ञान मुद्रामा (दुबैे हातको चोरी औंला र बुढी औंलाको टिप्स जोड्ने, बांकी तिनवटा औंलाहरुखुल्ला राख्ने ) ।
आंखा बन्द राख्ने र शरीरलाई आराम पूर्वक शिथिल बनाउने ।

अब नाकको दुबै प्वालबाट गहिरो लामो श्वास लिने र त्यसरी नै लिएको श्वासलाई बाहिर फाल्ने ।
व्यक्तिको सामथ्र्य अनुसार यो तीन प्रकारले गर्न सकिन्छ । मन्द गतिबाट, मध्यम गतिबाट र तीव्र गतिबाट । यो प्राणायाम पाँच मिनट देखि दश मिनट सम्म गर्नुपर्दछ । 

सावधानी : 
धेरै जोडले श्वास लिने फाल्ने गर्नु हुँदैन । श्वास भित्र लिने र बाहिर फाल्ने गति बराबर हुनुपर्दछ ।
यो प्राणायाम गर्दा श्वास भित्र लिंदा पेटलाई फुलाउनु हुँदैन ।

जसको मुटु तथा फोक्सो कमजोर छ उसले मन्द गतिबाट गर्नुपर्दछ ।

उच्च रक्तचाप, मुटुको समस्या, अल्सर, हर्निया, कोलाईटिस, आँखाको नानीको समस्या, ग्लुकोमा, ढाडको नसा च्यापिएको अवस्था आदिमा यो प्राणायाम गर्नु हुँदैन ।

फाईदाहरु :
धेरै अक्सिजनको आपूर्ति गराउँछ साथै कार्बनडाईअक्साईडलाई सजिलै सँग बाहिर निष्काशन गर्छ जसले गर्दा प्राण तथा मन स्थिर रहन्छ ।

रुघा खोकी, एलर्जि, श्वास प्रश्वास सम्बन्धि रोग, दम, साइनस आदि सबै कफ सम्बन्धि रोगहरुलाई निर्मूल पार्छ ।
फोक्सो सबल बन्छ र हृदय तथा मष्तिष्कलाई शुद्ध प्राणवायू (अक्सिजन) मिल्नाले आरोग्य लाभ हुन्छ ।
थाईराईड, टन्सिल आदि घांटीका समस्त रोगहरु निर्मूल हुन्छन् ।

रगत शुद्ध हुन्छ तथा शरीरका विषाक्त र विजातिय पदार्थहरुको निष्काशन हुन्छ ।

भस्त्रिका प्राणायाम गर्दा एक प्रकारको ताप उत्पन्न हुन्छ जसले शरीरको विजातिय मलहरु नष्ट हुन्छन् । नसाहरु बलिया हुन्छन् ।

रोग सँग लडने क्षमता पनि तिनै व्यक्तिसँग हुन्छ जसलाई मानसिक तनाव हुंदैन । अतः अहिले कोरोना (कोभिड १९) जस्तो विजातिय पदार्थको महामारीले मन त्रसित भइ शरीर अस्वस्थ भएको बेला हरेक व्यक्तिले व्यायामका साथै यो प्राणायामको अभ्यास गर्न आवश्यक छ । धुम्रपान तथा मदिरापान स्वस्थ्यका लागि हानिकारक भएकाले त्यसको त्याग गर्नुका साथै स्वस्थ र सन्तुलित आहार लिनु पनि उत्तिकै जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *