प्रधानमन्त्रीको जन्मोत्सव : सांस्कृतिक विचलन तथा पार्टी आचार संहिताको उल्लंघन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगेर मनाए । ठूलो तामझाम र दलबलसहित हेलिकप्टर लिएर जन्मदिन मनाउन पुर्ख्यौली थलो पुगेका ओलीको शैली कुनै राजामहाराजको भन्दा कम थिएन । आफूलाई सर्वहारावादी पार्टीको नेता मान्ने प्रधानमन्त्रीको जन्मोत्सव मनाउन सात वटा हेलिकप्टर प्रयोग गर्नु, केक ओसार्न हेलिकप्टर प्रयोग गर्नु, नेपालको नक्सा अंकित केक काट्नु अशोभनीय कार्य हो ।

जन्मदिनमा केक काट्ने चलन हाम्रो मौलिक संस्कृति होइन । आजकाल जन्म, मृत्यु, पास्नी, बिवाह, ब्रतबन्ध जस्ता धार्मिक तथा सांस्कृतिक कार्यहरुमा केक काट्ने प्रचलन बढेर गएको छ । हुन् त केक काट्नु आफैमा खराव संस्कृति त नहोला, तर आयातित संस्कृतिमा रमाएर आफ्नो मौलिक संस्कृति भुल्दै जाँदा अन्ततः हामी कहाँ पुग्छौ ? यो भने गम्भीर चिन्ताको विषय हो । जन्मदिन मनाउने हाम्रो आफ्नै मौलिक संस्कृति छ । जन्मदेखि मृत्युसम्मका विभिन्न कार्यहरु गर्ने चलन पूर्वीय संस्कृतिमा पनि विद्यमान छ । तर आफ्नो मौलिक संस्कृतिलाई छाडेर हामी किन आयातित संस्कृतिको मोहमा फसिरहेका छौ ? किन हाम्रो आफ्नै संस्कृतिलाई नियमित बनाउन सकिरहेका छैनौ ? के हामी पश्चिमा संस्कृतिको दास बन्नै पर्ने हो त ? अझ  देशको प्रधानमन्त्री जस्तो व्यक्ति नै पराइ संस्कृतिको प्रवर्द्धक जसरी आयातित संस्कृतिमा रमाउन थालेपछि आम मान्छेले चै के सिक्ला ? अहिले यी र यस्तै प्रश्नहरु उठिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ‘राजसी’ शैलीमा मनाएको जन्मोत्सवले कम्युनिष्टहरुले भन्ने गरेको सर्वहारा संस्कृतिको नराम्रोसंग धज्जी उढाएको छ । कम्युनिष्टहरु आयातित संस्कृतिका पक्षपाती हुँदैनन् भन्ने गरिन्छ । बरु उनीहरु सर्वहारा वर्गीय संस्कृतिका अनुयायी हुन्छन् । तडकभडक गरेर धुमधामसंग जन्मदिन मनाउनुलाई उनीहरु आलोचनाका दृष्टिले हेर्ने गर्छन् । तर आफूलाई माक्र्सवादी संस्कृतिको अनुयायी ठान्ने कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सत्तामा पुगेपछि भने पुरानै बुर्जुवा र सामन्ती संस्कृतिको अनुसरण गरिरहेका हुन्छन् ।

प्रधानमन्त्री ओलीले त झन् हेलिकप्टरबाट बोकिएको १५ किलोको केट काटे । करिब ६ हजारलाई भोज खुवाएर आफूलाई महाराजाको रुपमा प्रस्तुत गरे । आफैले जारी गरेको पार्टीको आचार संहितालाई लत्याउँदै उनले सरकारी निवास बालुवाटारमै धुमधामसंग केक काटे । त्यसपछि लावालस्करसहित सात वटा हेलिकप्टर लिएर पुर्ख्यौली घर पुगेर नेपालको नक्सा आकृतिको केक काटे । वर्ग पक्षधरता, व्यहारिकता र क्रान्तिकारी रूपान्तरणको सर्वहारा सांस्कृतिक  मान्यतालाई केकसंगै एकै गाँसमा खाइदिए ।

शासकहरुको सोच, शैली, व्यवहार र क्रियाकलापहरूमा आमुल परिवर्तन नहुँदासम्म राजनीतिक परिवर्तनको खास गुन्जायस रहँदैन । कम्युनिष्टहरुले भन्ने गरेको सांस्कृतिक रुपान्तरण, सांस्कृतिक क्रान्ति, सांस्कृतिक आन्दोलन सायद त्यसैका लागि भनिएको होला । तर अहिले नेकपाका नेताहरुको चालचलन, क्रियाकलाप, कार्यशैली र व्यवहार हेर्दा सांस्कृतिक हैन हाँस्कृतिक जस्तो देखिएको छ । त्यहि भएर होला एक महिना पहिले आफैले हस्ताक्षर गरेर कार्यकर्ताका लागि पठाएको आचार संहिता प्रधानमन्त्रीको गोजीको खेलौना बन्न पुग्यो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री स्वयंले आचार संहिता उल्लंघन गरेपछि अन्य नेता-कार्यकर्ताका हकमा के हुने ? पार्टीको आचार संहिता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाई कारवाही हुनु पर्छ कि पर्दैन ?

नेकपाले गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न निर्देश गरिएको थियो । उक्त आचार संहिताको दोस्रो बुँदामा जन्मदिन, ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्न भनिएको थियो । तर, प्रधानमन्त्री आफैले आचारसंहिता विपरित आफ्नो जन्मदिनको कार्यक्रमलाई असुहाउँदो गरि भव्य बनाए । औपचारिकताकै लागि भएपनि सबै नेता-कार्यकर्तालाई आचारसंहितामा बाँध्ने नेकपाको प्रयासलाई भत्क्याउन प्रधानमन्त्री नै लागेपछि अरुको के लाग्छ र ?

अझ उदेक लाग्दो कुरा त सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले ओलीको जन्मोत्सव मनाउन सार्वजनिक विदा नै दियो । गणतन्त्रमा प्रधानमन्त्रीको जन्मदिन मनाउन सार्वजनिक बिदा दिनु घोर सामन्ती चिन्तनको उपज हो । यो चाकडीवादको भद्दा नमुना हो । सांस्कृतिक विचलनको उत्कर्ष हो ।

एकपछि अर्को विवाद र काण्डमा फसेर अलोकप्रियताको शिखरमा पुगेको सरकार सर्वहारावादी कम्युनिष्ट प्रधानमन्त्रीको तडक–भडकपूर्ण राजसी ठाँटमा मनाएको जन्मोत्सवले फेरीअर्को विवादमा फसेको छ । यसले कम्युनिष्ट पार्टीले भन्ने गरेको सांस्कृतिक रुपान्तरणको प्रश्नमाथि नै प्रश्न उठाईदिएको छ । आचार संहिता नै बनाएर सांस्कृतिक रुपान्तरणको प्रयास थालनी गरेको सत्तारुढ नेकपामाथि पनि यहि प्रश्न उठेको छ । नेकपाले यसको जवाफ दिनुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *