चीन – अमेरिका ब्यापार युद्धको अस्थायी युद्धविराम

अर्जेन्टिनाको राजधानी ब्युनोस ऐरेसमा भैरहेको जी -२० को बार्षिक सम्मेलनको साइडलाईन मिटिंगमा चीन तथा अमेरिकाबीच चलेको व्यापार युद्धको अस्थायी युद्धविराम भएको छ । अढाई घण्टा लामो एक डिनर पार्टीमा दुवै देशका राष्ट्रपतिहरुले आपसी ब्यापारमा देखिएको असम्जस्यता अन्त्य गर्दै आपसी सम्बन्धलाई अझ मजबुत पार्न सहमति भएको जनाइएको छ ।

दुवै नेताहरु ब्यापारिक बार्तालाई निरन्तरता दिन का लागि कमसेकम अहिले एक अर्काका उत्पादनमाथि अतिरिक्त कर नथोपर्ने सहमतिमा पुगेका छन् ।

ह्वाइटहाउसको एक बिज्ञप्तिमा राष्ट्रपति ट्रंप २०० बिलियन डलर मुल्यका चिनियाँ सामानहरुमाथि १० % मात्र अतिरिक्त कर कायम राख्न सहमत भएका छन् भनिएको छ । जबकि आगामी जनवरी १ तारिख देखि ति बस्तुहरुमा २५ %  सम्म कर लगाउने घोषणा अमेरिकाले गरेको थियो ।

चीनले त्यसको सट्टामा उल्लेख्य मात्रामा अमेरिकी कृषि उपज खरिद गरि व्यापारिक असन्तुलनलाई घटाउन मद्दत गर्नेछ । अमेरिकालाई चीनसंगको ब्यापारमा गत बर्ष ३७५ बिलियन डलर घाटा लागेको थियो । अमेरिकाबाट के के कृषि उत्पादन खरिद गर्ने भन्ने अझै टुंगो भने लागेको छैन । अमेरिकी प्रशासनको दावी अनुसार चीनले अमेरिकी किसानका उत्पादनहरु तुरुन्त खरिद गर्न शुरु गर्नेछन् ।

त्यसको अतिरिक्त दुवै राष्ट्रपतिहरु साइबर सुरक्षा, प्रविधि हस्तान्तरणको साथै बौद्धिक सम्पत्ति र करमुक्त ब्यवधानहरुको संरचनागत सुधारमा तुरुन्त सहमतिकायम गर्न कुराकानी थाल्न सहमत भएको समाचारमा जनाइएको छ ।

ह्वाइट हाउसको बिज्ञप्तिमा “यदि चीनले ९० दिनभित्र सहमति भएका बिषयलाई कार्यान्वयन गरेन भने अमेरिकाले अहिले वृद्धि गरेको १० %  अतिरिक्त करलाई २५ %  नै पुर्याउनेछ ” भनिएको छ ।

अमेरिकी राष्ट्रपतिले “राष्ट्रपति सीसंगको यो असाध्यै फलदायी मिटिंग भएको र यसले दुवै देशबीच असिमित सम्भाव्यताको द्वार खोलेको” भन्दै चिनियाँ राष्ट्रपतिसंग काम गर्न पाउनु आफ्नो लागि ठुलो सम्मानको बिषय भएको समेत भनेका छन् ।

“आपसी सहयोग विश्व शान्ति र प्रगतिको दिशामा दुवै देशको लागि सबैभन्दा उत्तम उपाय हो” चिनियाँ राष्ट्रपति सी जिन् पिङ्गको भनाइ थियो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ नेताले “उनको देश अमेरिकासंग   साझा चासोका बिषयहरुमा संयुक्त रुपमा काम गर्न र बैचारिक आदानप्रदान गर्न तयार रहेको भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *