गण्डकीमा विपक्षी गठवन्धनद्वारा सुरक्षा माग

काठमाडौँ। गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त वक्तब्यमार्फत पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणा सार्वजनिक गर्दै सांसदहरुको सुरक्षा मागेका हुन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको सुनिश्चितता गरियोस् ।’

प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पीसीआर रिपोर्टहरूको छानबिन गरी प्रयोगशालाहरूको विश्वसनीयताको जाँच गर्न माग गर्दै अस्पतालको सीसीटीभी हार्डवयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि उनीहरुले माग गरेका छन् ।

तीन दलले पछिल्ला घटनाक्रम सम्बन्धमा आठ बुँदे धारणा पनि सार्वजनिक गरेका छन्। मुख्यमन्त्रीविरुद्ध  अविश्वासको प्रस्ताव पेस हुने भएपछि विधेयक अधिवेशन हठात् अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन खीमविक्रम शाही अस्वभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नका साथसाथै जीवनरक्षाको समेत आग्रह गरिएको शृंखलाबद्ध घटनाक्रमले आफूहरूलाई दुखित् र आश्चर्यचकित बनाएको उनीहरुले बताएका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली, माओवादीका हरिबहादुर चुमान र जसपाका हरिशरण आचार्याले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *