जसपाका चार सांसद बर्खास्त : सभामुखलाई महन्थको छुट्टै पत्र

काठमाडौँ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री खान गएका लुम्बिनी प्रदेशका चार सांसद बर्खास्त प्रकरणमा जनता समाजवादी पार्टी (जसपा)को विवाद सतहमा देखिने गरी बाहिर आएको छ । बिहीबार लुम्बिनी प्रदेशसभाले जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुत्त गरेपछि जसपा विवाद छताछुल्ल भएको हो ।

जसपा संसदीय दलको कार्यालयले केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार पार्टी सदस्य र सांसदबाट निकालेको सूचना दिएपछि चारै जनालाई राजनीतिक दल सम्बन्धी ऐन र प्रदेशसभा नियमावलीअनुसार पदमुक्त गरिएको छ ।

पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री बन्न गएको भन्दै पाण्डेय, यादव, रायमाझी र पाण्डेलाई मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिले बर्खास्त गर्ने निर्णय गरेको थियो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले भने बिहीबार लुम्बिनी प्रदेशसभालाई पत्र लेखेर केन्द्रीयस्तरबाट प्रदेशसभा सदस्यलाई कुनै कारबाही नभएको दाबी गरेका छन् ।

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरलाई ठाकुरले लेखेको पत्रमा जसपाले ६ सदस्यीय संसदीय दललाई प्रजातान्त्रिक तरिकाले निर्णय गर्ने अधिकार दिइएकोे उल्लेख गरेका छन् । जसपा वरिष्ठ नेता राजेन्द्र महतो अध्यक्ष ठाकुरको यो निर्णयको पक्षमा देखिएका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुुराम भट्टराई, अर्का वरिष्ठ नेता अशोक राईलगायत भने चारै सांसद बर्खास्तको पक्षमा खुलेरै लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *