बादलको ठाउँमा निर्वाचन गर्न एक करोड बढी खर्च

काठमाडौं। निर्वाचन आयोगले जेठ ६ गते हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनका लागि १ करोड भन्दा बढी खर्च लाग्ने बताएको छ।

आज एक विज्ञप्ति जारी गर्दै आयोगले उपनिर्वाचनका लागि एक करोड ६१ लाख ३० हजार रुपैयाँ बराबरको अनुमानिक बजेट सार्वजनिक गरेको हो।

‘२०७८ जेठ ६ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ तयार गरेको छ। उक्त कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा रू १ करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा लेखी पठाउन आयोगबाट निर्णय भएको हुँदा सो अनुसार नेपाल सरकार अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले जनाएको छ।

बादल माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। एमाले प्रवेश गरेका थापालाई माओवादीले कारवाही गरेपछि उनको पद गुमेको छ।

राजनीतिक दलसम्बन्धि ऐन २०७३ अनुसार एउटा दलबाट निर्वाचित सांसदले अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिने उल्लेख छ। दल त्यागको सूचना सम्बन्धित सदन वा सभामुख वा अध्यक्षले सदन वा सभालाई दिएर वा सचिवालयको सूचना पाटीमा टाँस भएपछि त्यस्तो सदस्यको स्थान रिक्त भएको मानिनेछ ।

पद रिक्त भएको ३५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। सोहीअनुसार जेठ ६ गते निर्वाचन हुन् लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *