बुढानिलकण्ठमा प्रचण्ड-देउवा भेटवार्ता

काठमाडौं । नयाँ सरकार गठनको कसरत गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए ।

दुई नेताबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। भेटका क्रममा सभापति देउवाले पहिला सरकारबाट समर्थन फिर्ता लिन प्रचण्डलाई सुझाएको पनि बताइएको छ ।

भेटमा प्रचण्डले समर्थन फिर्ता लिने भन्दा पनि अविश्वासको प्रस्ताव दर्ता गराउने कुरामा जोड दिएका थिए । यद्यपि प्रचण्डले समर्थन फिर्ता लिने कुरामा कुनै समस्या नरहेको बताएका थिए ।देउवाले अविश्वासको प्रस्ताव दर्ता वा समर्थन फिर्तापछि नयाँ सरकार निर्माण गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) एक ढिक्का हुन आवश्यक रहेको बताएका थिए । ओली सरकारको विकल्प दिने कुरामा काँग्रेस तयार रहेको तर त्यसका लागि परिस्थिति परिपक्व भई नसकेको देउवाको भनाइ थियो ।

नयाँ सरकार गठन गर्ने नगर्नेबारे फाइनल निर्णय दिन प्रचन्डले गरेको आग्रहमा देउवाले पार्टी र जसपाका नेताहरुको छलफलपछि मात्र निर्णय लिने जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *