ओलीविरुद्ध लड्न खनाल-नेपाल समूहको आव्हान

काठमाडौँ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेतामाथि नै कारबाहीको डन्डा चलाएपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले ओलीविरुद्ध एकैसाथ तीन रणनीति अगाडि सारेका छन् ।

आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको गम्भीर आरोपसहित ओलीले नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि खनाल–नेपाल समूहले ‘काउन्टर रणनीति’ बनाएको छ ।

मंगलबार खनाल–नेपाल समूहको स्थायी कमिटी वैठकले ओलीको पछिल्लो कदम अस्वीकार गर्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । ११ नेताहरुले संयुक्त विज्ञप्तिमार्फत ओलीबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई नै बिसर्जन गर्ने दूष्प्रयत्न भइरहेको तथा राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेको बताएका छन् । यसका लागि संघर्ष गर्ने उनीहरुको निर्णय छ ।

‘नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन्,’ खनाल–नेपाल समूहले जारी गरेको वक्तव्यमा छ ।

पार्टी एकतालाई विखण्डन गर्ने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट, भेला तथा पार्टीको कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरेको भन्दै ओलीले सोमबार नेपाल र रावललाई कारबाही गरेका छन् । ओलीको कारबाही कदम र खनाल–नेपाल समूहको पछिल्लो रणनीतिले एमालेका दुवै समूहबीचको विवाद बढ्ने देखिएको छ ।

चैत्र ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेला, आफूनिकट केन्द्रीय कमिटीका सदस्यहरुको पछिल्ला बैठक र कारबाहीपछिको अवस्था मूल्याङ्कन गर्दै खनाल–नेपाल समूहले ओलीविरुद्ध लड्न देशभर प्रतिवाद, राजनीतिक–वैचारिक भण्डाफोर र सबै कमिटीको पुनर्गठनको अभियान अघि बढाउने रणनीति लिएका हुन् । प्रतिवादअन्तर्गत नेपालले आफू र रावलमाथिको कारबाहीविरुद्ध आवाज उठाउने, यसलाई अस्वीकार गर्ने नीति लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *