बालुवाटारमा ओली र नेपाल पक्षको भनाभन

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा दुई समूहबीच भनाभन भएको छ। यसअघिका बैठकहरु बहिष्कार गर्दै आएको बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सहभागी बैठकमा प्रधानमन्त्री ओली र नेपाल पक्षका सांसदहरुबीच सवालजवाफ भएको हो।

बैठकको सुरुवात प्रधानमन्त्री ओलीले गरेका थिए। त्यसक्रममा उनले पुस ५ गतेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंवैधानिक नभएको जिकीर गर्दै संवैधानिक कदम भए पनि अदालतले त्यसलाई नमानेकाले आफूले बाध्य भएर मान्नुपरेको बताएका थिए।

लगत्तै उनले उपमहासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बोल्न समय दिए पनि वरिष्ठ नेता झलनाथ खनालले बीचमै समय मागेर बोलेका थिए। खनालले पार्टी जेठ २ को पुरानै अवस्थामा फर्किनुपर्ने भन्दै त्यसपछि एकलौटी रुपमा भएका निर्णयहरु सच्याउन आग्रह गरेको एक सांसदले बताए । खनालले ‘मरेको संसद ब्यूँतियो, यसमा म माननीयज्यूहरुलाई बधाई दिन्छु’ भनेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए। उनले प्रतिनिधि सभा विघटनलाई राजनीतिक मृत्यु वा हत्या केही पनि भन्न नमिल्ने टिप्पणी गरे।

बैठकमा फ्लोरमा रहेका सांसद घनश्याम भुसालले समय मागेर बोलेका थिए । उनले विगतका निर्णय सच्याउनुपर्ने भन्दै कडाइ पूर्व कुरा राखेको एक सांसदले बताए । दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु योगेश भट्टराई र गोकर्ण विष्टले पनि बोलेका थिए । उनीहरुले पार्टी अध्यक्ष ओलीलाई अभिभावकको भूमिका खेल्न आग्रह गरेका थिए ।

बैठकमा सहभागी अर्का एक सांसदका अनुसार ओली बोलिरहँदा भूसालले तीनपल्ट रोकेर प्रतिवाद गरेका थिए। ‘यो पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने हो भने जेठ २ मा फर्कनुपर्छ। अब एमाले जेठ २ को अवस्थाबाट सक्रिय हुनुपर्छ’, भूसालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘त्यहाँ फर्केपछि एमालेको संरचना पनि त्यहीँ फर्कन्छ। त्यसो हुँदा फागुन २८ यता भएका कुनै पनि निर्णय विधि र पद्धतिसंगत हुँदैनन्, छैनन्। त्यसैले अब जेठ २ मै फर्कौं र छलफल गरौं।’

प्रधानमन्त्री ओली बोलिरहँदा माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टले पनि बीचमै रोकेर आफ्ना कुरा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *