चिनियाँ दुई अधिवेशनको सन्देश : विश्वमा सहकार्य र परस्पर विश्वास

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको अधिवेशन र चीनको सर्वोच्च संस्थाका रुपमा रहेको राष्ट्रिय जनकाँग्रेसको चौथो सत्र वा अधिवेशन सात दिनसम्म चलेर अघिल्लो हप्ता ऐतिहासिक रुपमा सम्पन्न भएको छ । यी दुई राजनीतिक संस्थाको सन् २०२१ को सम्मेलनले आगामी वर्षमा चीन कस्तो मार्ग लिएर अघि बढ्नेछ र चिनियाँ जनताको भाग्य र भविष्य कुन तरिकाले निर्माण गर्दैछ भन्ने प्रष्ट सन्देश दिएका छन् ।

कोभिड—१९ महामारी पश्चात सम्पन्न यस वर्षको दुई अधिवेशनले आगामी वर्षमा विश्वभरि गरिने सहकार्य र नवनिर्माण तथा कारोनाले थिलोथिलो बनाएको समग्र क्षेत्रको पुर्नउत्थानमा केन्द्रित भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले विश्वव्यापी विकास र सहकार्यमा कस्तो पहल लिनेछ भनेर चनाखो भएर हेरिएको यस बर्षको दुई अधिवेशनले पनि बहुपक्षीयता, मानवकेन्द्रित उच्च गुणस्तरयुक्त विकासमा जोड दिँदै कोभिड—१९ पछिको समयमा थप आशा जगाउने काम गरेको छ । चिनियाँ समाजको विकास यस अर्थमा पनि महत्वपूर्ण छ, किनकी कोभिड महामारीले विश्वका सबै ठूला अर्थतन्त्रले नकारात्मक आर्थिक विकास भोगेको सन् २०२० मा चीनले भने २.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्यो भने पहिलो पटक एक सय ट्रिलियन युआन अर्थात १५.४ ट्रिलियन अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माण गर्न सफल बन्यो । थप चाख लाग्दो त के छ भने सन् २०२१ मा चीनले आफ्नो आर्थिक वृद्धि ६ प्रतिशतले हुने लक्ष्य राखेको छ ।

सन् २०२१ मा आइपुग्दा चीन अब गरिबी उन्मुलन गरी मध्यम आय भएको मुलुक मात्र भएको छैन विश्व अर्थबजारको महत्वपूर्ण खम्बा भएको स्थापित गरिदिएको छ । सन् २०२१ को दुई अधिवेशनले तय गरेका केही उद्देश्यले पनि चीन अब विश्वमा सहयोग, सहकार्य र आपसी हित प्रवद्र्धनमा हातेमालो गर्न तयार रहेको र कोरोना भाइरसको महामारीपछिको अवस्थामा सबै क्षेत्र र देशलाई विश्वासमा लिएर सहयोगी बन्न खुला रहेको स्पष्ट पारेको छ ।

साथै आन्तरिक रुपमा पनि हङ्गकङ्ग मामिलामा नयाँ निर्वाचन प्रणाली कायम गरेर जाने र सन् २०२५ सम्मका लागि पञ्चवर्षीय योजना र सन् २०३५ सम्मका लागि चीनको दिर्घकालीन विकासको अवधारणालाई अनुमोदन गर्ने निर्णयले चीन आन्तरिक राष्ट्रियता अति नै संवेदनशील भएको तथा सम्भावित बाह्य उक्साहटविरुद्ध कठोर भएर अगाडि लम्केको प्रस्टै बुझ्न सकिन्छ । आगामी पाँच वर्ष चीनको नयाँ यात्राको पहिलो आधा दशक हुनेछ जुन आधुनिक समाजवादी देश निर्माणका लागि कोषेढुङ्गा बन्नेछ ।

पत्रकार अजय अलौकिक आफ्नो टिप्पणीमा लेख्छन् – खासमा चीन दुईवटा शतवार्षिकीमा दुईवटा लक्ष्य भेट्टाउने उद्देश्यले अघि बढेको छ । पहिलो, सन् २०२० सम्ममा पूर्ण रूपमा गरिबी निवारण गरी सन् २०२१ सम्म चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी वर्षमा चीनलाई औसत रूपमा सम्पन्न मुलुक बनाउने र अर्को सन् २०४९ मा, नयाँ चीन स्थापनाको शतवार्षिकीमा चीनलाई आधुनिक शक्तिशाली समाजवाद मुलुक बनाउने लक्ष्य रहेको छ ।

आधुनिक शक्तिशाली समाजवादको बाटोमा अघि बढेको चीनमा अहिले दह्रो आन्तरिक उत्पादन र खपत, अत्यन्तै मजबुत निर्यात व्यापार, एक तिहाई जति उच्च आय भएको जनसंख्या, उच्च गुणस्तरयुक्त विकास, अनुसन्धान र विकासमा जोड, डिजिटल अर्थतन्त्र, प्रविधिमैत्री विकास र नवप्रर्वतन र वैज्ञानिक विकासमा उच्च जोड दिएको पाइन्छ ।

नेपाल चीनको पुरानो र असल छिमेकी राष्ट्र भएकाले बदलिँदो परिवेशमा यी दुई देशबीचको परस्पर सम्बन्ध थप घनिभूत हुने विश्वास गर्न सकिन्छ र चीनको उच्च गुणस्तरको विकासबाट नजिकको छिमेकीका नाताले नेपालले जनस्तरमा पनि प्रशस्त लाभ लिनेमा दुवै पक्षबाट उत्तिकै गम्भीरता प्रर्दशन हुनेछ ।
–––
दीर्घकालीन विकास योजना निर्माणमा सन् २०२१ को चिनियाँ दुई अधिवेशन महत्वपूर्ण- सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले), महासचिव
चीनको शासन प्रणाली सहयोगात्मक रहेको छ । सन् २०२१ को चिनियाँ जनकँग्रेस र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) को दुई अधिवेशनहरु धेरै महत्वपूर्ण रहे । चीनको १४ औँ पञ्चर्वीय योजना पारित भएको छ । यसका साथै यो दुई अधिवेशनले आगामी १५ वर्षका लागि दीर्घकालीन विकासको योजना पनि ल्याएको छ ।

जसले चीनको आर्थिक विकासलाई निरन्तर नयाँ उचाइमा हासिल गर्ने प्रतिबद्धतासहित योजना ल्याएको छ । समग्र चीनको विकासका लागि अग्रगामी योजनासहित विश्वव्यापीकरण, खुलापन र सुधारलाई प्रयोग गर्दै आर्थिक विश्वव्यापीकरणमा थप जोड दिएको छ । चीनको आर्थिक विकासबाट हामी थप लाभान्वित हुन सक्छौँ । चीनले जुन ढंगले राय, सल्लाह र छलफल गरेर सहमतिका अधारमा अल्पकालीन र दीर्घकालीन योजना पारित गरेको छ त्यसले हामीलाई निकै ठूलो पाठ सिकाएको छ ।

कोरोना महामारीले हरेक मुलुकको अर्थतन्त्रलाई कमजोर बनाएको छ । यसबाट उठ्नका लागि आफ्नै राष्ट्रिय योजना बनाउनुपर्छ । मुख्य ठूला अर्थन्त्रन्त्रलाई माथ दिँदै चिनियाँ अर्थतन्त्र अगाडि बढेको छ । नेपालले विआरआइअन्तर्गतको कुनै पनि योजना कार्यान्वयन गर्ने गरी अगाडि बढाएको छैन । हामीले बिआरआईको परियोजना लागू गर्न सक्छौँ । यसका लागि यो दुई अधिवेशनले गरेका घोषणा सहायकसिद्ध छन् ।

गरिबी निवारणको सन्दर्भमा चीनले जुन ढंगले सफलता प्राप्त गरेको छ । हामीले त्यहाँबाट पनि धेरै कुरा सिक्नुपर्ने छ । स्थानीय जनतालाई आयआर्जन र व्यावसायीकरणमा लगानी गर्दै गरिबी निवारण गर्न सकिन्छ भन्ने चिनियाँ पाठ हो । चिनियाँ कम्युनिष्ट पार्टीले विकासको स्तरलाई पहिचान गरेर चीनमा आधारभूत समाजवादको निर्माणका लागि धेरै मेहनत गर्यो । चिनियाँ विशेषतासहितको समाजवादका लागि उनीहरुले आफ्नो समस्या पहिचान गर्दै चार महत्वपूर्ण आधारस्तम्भमा दृढतापूर्वक कार्यान्वयनमार्फत लक्ष्य प्राप्तिमा खटिए ।

चीनले विकासको सैद्धान्तिक अवधारणालाई निश्चित गर्ने र योजनाबद्ध विकासमा काम गर्ने ग¥यो । चीन यहाँ पुग्नुमा सैद्धान्तिक अवधारणाको प्रष्टता नै महत्वपूर्ण छ र चरणबद्ध रुपमा चीन यहाँ आइपुगेको छ । यसका आधारमा नै चीनले सन् २०५० मा आधुनिक समाजवाद निर्माणको तहमा पुग्ने दूरदृष्टि राखेको छ ।

अन्तर्राष्ट्रियस्थित अत्यन्तै जटिल छ । महाशक्ति अमेरिकी राष्ट्र आफ्नो प्रभावलाई कायम राख्न नकारात्मक बाटो लिएको छ । विश्वमा उसले अरुको विकासलाई नरुचाउने, अवरोध गर्ने गलत रणनीतिलाई कायम राखेको छ । चीनका लागि यो एउटा चुनौती हो । तर पनि विश्व बहुध्रुवीय अवस्थामा गएको हुँदा सबै मुलुकहरु मिलेर हल गर्न सक्षम हुनुपर्छ र नयाँ विश्वव्यवस्था स्थापनार्थ काम गर्नुपर्ने हुन्छ । शान्तिपूर्ण विकासमा महामहिम राष्ट्रपति सि जिन पिङको नेतृत्वमा चीन सरकार सफलतापूवर्क अगाडि बढिरहेको छ । यससन्दर्भमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र समग्र चिनियाँ समाजलाई नयाँ शान्तिपूर्ण विश्व व्यवस्था र बहुध्रुवीयता कायम गर्न सफलता मिलोस् । मेरो शुभकामना छ ।
–––
आधुनिक समाजवादको यात्रामा चीन –अनुपरञ्जन भट्टराई (अध्यक्ष, नेपाल चीन कार्यकारी परिषद्)
हालै सम्पन्न चिनियाँ दुई अधिवेशनले छिमेकी मुलुकसँगको सहकार्य, सहसम्बन्ध, विकास र साझेदारी र बिआरआई सहकार्यमा नयाँ जोड दिएको छ । विश्वमा स्थिरता, बहुपक्षीयता, प्रविधिमैत्री विकास र समान हैसियतामा सहकार्य गर्नका लागि चीनको यो अधिवेशनले सबैका लागि ढोका खोलेको छ ।

विशेषगरी कोभिड–१९ विरुद्ध लड्न क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति स्थापना गर्नमा चीनको भूमिका र सहयोग विश्वले अपेक्षा गरेको छ । उक्त अधिवेशनले गरेका घोषणा हाम्रो लागि धेरै महत्वपूर्ण छन् । किनकी यसले चीनको छिमेकीसँग र बेल्ट एण्ड रोडसँग सम्बन्धित मुलुकहरुलाई थप सहकार्य गर्ने र विकासमा सँगै अगाडि बढ्ने अवधारणा हाम्रो जस्तो मुलुकका लागि धेरै लाभदायी छ । कोरोना भाइरस नियन्त्रणमा नेपाललाई स्वास्थ्य उपकरण उपलब्ध गराएर चीनले यो एक वर्षमा धेरै सहयोग गरेको छ ।

अहिले नेपाललाई कोरोना खोपको धेरै जरुरत छ । खोपको विश्वभर नै अभाव छ । नेपालले माग गरेअनुसार सिरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड भ्याक्सिनको आपूर्तिकर्तामा ढिलाइ गरेको देखिन्छ । यस अर्थमा चिनियाँ खोप आपूर्ति भएमा हाम्रो लागि ठूलो सहयोग हुनेछ । नेपाल सरकारले अब चिनियाँ खोप खरिद प्रक्रिया अविलम्ब अगाडि बढाएमा हाम्रोमा कोरोना भाइरस नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्छ ।

बदलिँदो परिस्थितिमा विभिन्न संस्थाले ट्र्याक टु डिप्लोमेसी’ मा पनि जानुपर्छ । सरकार सरकारबीचको औपचारिक सहयोगबाहेक हामीले अलि सानो स्केलमा भए पनि कहाँनेर सहयोगको आवश्यकता छ त्यो क्षेत्र पहिचान गरेर चीनबाट सहायता लिन सक्छौँ । अर्को महत्वपूर्ण पक्ष सीप विकासको क्षेत्र हो । नेपालबाट मानिसहरुलाई चीनमा तालिमका लागि पठाएर उनीहरुको सीप, दक्षता र क्षमता विकासबाट द्विपक्षीय सहयकार्यमा थप काम गर्न सकिन्छ । चीन यसमा थप उदार भएर आएको छ ।

चीनबाट सिक्नुपर्ने कुरा धेरै छन् । विकसित क्षेत्रले अलि कम विकसित क्षेत्रलाई सहयोग र सहायता गर्दा सँगै सिक्ने र धनी र गरिबबीचको खाडल कम हुन्छ । यसले गरिबी निवारणमा सहयोग गर्छ । जसरी चीन आधुनिक समाजवाद निर्माणको चरणमा अगाडि बढेको छ, त्यसले हाम्रो जस्तो अल्पविकसित देशका लागि सरकार र जनताबीचको सम्बन्ध, आन्तरिक राष्ट्रियता, आन्तरिक उत्पादनको खपत, प्रविधिको विकास र नेतृत्वप्रति जनताको विश्वास जगाउन थप मेहनत गर्नुपर्ने देखाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष र सो पार्टीले जनवादी चीनमा शासन व्यवस्था सञ्चालन गरेको ७० वर्ष पुगेसँगै चीनले आफ्नो वैभव र छवि अन्तर्राष्ट्रियस्तरमा जसरी प्रस्तुत गरेको छ, यो दुई अधिवेशनले उक्त छविलाई थप उज्यालो पारेको छ । चीन हरेक समस्या समाधान गर्न एक सक्षम राष्ट्र भएर अगाडि बढेको सन्देश दिएको छ ।
–––
प्रा.डा गीताभक्त जोशी -केन्द्रीय कार्यसमिति सदस्य, राप्रपा

चीनको हालै संसद् बैठकको अधिवेशन सकिएको छ । उक्त बैठकले हाम्रा लागि केही महत्वपूर्ण सन्देश दिएको छ । चीनको दुई अधिवेशनले सहमतिको प्रक्रियालाई हरेक मुलुकले समृद्धि र विकासका लागि आवश्यक पर्ने उपकरण हुन् भन्ने कुरा प्रष्ट पारेको छ । चीनको अर्थतन्त्रमा तीन वटा मुख्य पक्ष छन् । वैज्ञानिक र प्रविधिको विकास, आन्तरिक माग र आपूर्तिमा विस्तार र खुलापन र सुधारको नीतिबाट छिमेकी मुलुकहरुले महत्वपूर्ण पाठ लिन सक्छन् । कोभिड–१९ पछिको सन्दर्भमा नेपालजस्तो मुलुकलाई चीनको सहयोग र सहकार्य यस अर्थमा महत्वपूर्ण छ कि नेपालले पाइरहेको सहयोग र सहकार्यबाट हामी अब भूपरिवेष्ठित बाट भूजडित मुलुकमा परिवर्तन भएका छौँ ।

आउँदा दिनहरुमा नेपालको विकास र समृद्धिका लागि चीनबाट अझ बढी सहयोग र सहकार्य हुनेछ भन्ने नेपालले विश्वास राखेको छ । त्यसैगरी गरिबी निवारणमा चीनले अंगीकार गरेको प्रयास र प्रक्रियाहरुबाट जसरी चिनियाँ विशेषतासहितको समाजवाद स्थापना भएको छ त्यसबाट पनि नेपालले महत्वपूर्ण पाठ सिक्न सक्छ । विगत ७० वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले यो उपलब्धि हासिल गर्न सफल भयो त्यसको पछाडि अत्यत्न बलियो राजनीतिक नेतृत्व र सहमतीय प्रक्रियाको सफल प्रयोग हुन् भन्ने मलाई लाग्दछ । यही मार्गमा अघि बढ्दै जाँदा राष्ट्रपति सि जिनपिङको नेतृत्वमा आगामी २० वर्षमा चीन संसारको पहिलो र समृद्ध मुलुकु बन्न सफल हुनेछ ।
–––
चीनको विकास र विश्वका लागि नमूना मार्गचित्र –दिलीप शर्मा (राष्ट्रिय समाचार समितिका सम्पादक )

विगत चार दशकमा चीनले आर्थिक उन्नतिमा पाएको सफलता जनताको मन जितेर व्यवस्थित योजनाहरू ल्याएमा प्रगति अबसम्भावी छ भन्ने कसिलो उदाहरण हो । चीनको यो सफलता विश्वका अन्य मुलुकका लागि शिक्षा हुनसक्छ । एक विकासोन्मुख मुलुक भएर पनि चीनले यो अवधिमा पाएको सफलतालाई सम्पन्न भनिने मुलुकका लागि समेत आरिस गर्ने विषय बनेको छ ।

बितेका केही वर्षयता ‘चीनको त्रास धारणा’ केही अमेरिकी राजनीतिज्ञ र सञ्चार माध्यमले महत्वसाथ प्रचारप्रसार गर्दै आएको विषय हो । वर्तमान चिनियाँ राष्ट्रपति सी जिन पिङले सहस्राब्दी लक्ष्य हासिल गर्नका लागि चालेको कदम कति सफल छ भन्ने कुरा चीनमा गरिबी नियन्त्रणका लागि उहाँ सत्तामा आएको पाँच वर्षमा नै पुष्टि भएको तथ्य हो । चीनको मौलिक शासन व्यवस्था यो सफलताको कडी हो ।

त्यस विषयबारे चर्चा गर्दै अमेरिकी प्रसिद्ध अर्थविद् प्रा. रिचर्ड वोल्फले चीनलाई भूतको रुपमा बङ्ग्याउन खोज्ने पश्चिमा विचारधारालाई सच्याउनुपर्ने भनी हालै आएको एक भिडियोले सामाजिक सञ्जालमा एक प्रकारको हलचल नै मच्याइदिएको छ । प्रा. वोल्फले चीन र अमेरिका दुवै देश बीचको भिन्नता त्यति ठूलो नरहेकाले चीनलाई एक विशेष किसिमको रुपमा व्यवहार गर्नुपर्ने कुनै आवश्यकता नभएको बताउनुभएको छ । भिडियोमा प्रा. वोल्फले विस्तृत र गहन रुपमा चीनको व्यवस्थाको श्रेष्ठताको विश्लेषण र ब्याख्या गर्नुभएको छ ।

उहाँको उक्त भिडियोलाई युट्युबमा सार्वजनिक गरिएपछि धेरै अमेरिकी इन्टरनेट प्रयोगकर्ताहरूले चीनबारे आफ्नो बुझाईमा परिवर्तन आएको दाबी उहाँको छ । राष्ट्रपति सि जिन पि¬ङले सन् २०१४ मा चीनको राजनीतिक तथा प्रशासनिक नेतृत्व सम्हालेपछि अघि सारेका प्रमुख दुई नारा भ्रष्टाचार विरोधी अभियान र गरिबी निवारण हुन् जसले हालसम्म आइपुग्दा सफलता पाइसकेको चीनबाट गरिबी नियन्त्रणका लागि विश्वले सिक्न जरूरी भनी राष्ट्रसंघका उच्च अधिकारीहरूले पटकपटक व्यक्त गर्ने गरेका धारणाबाट पुष्टि हुन्छ ।

दुई अधिवेशनको सन्देश
हालै सम्पन्न चीनका वार्षिक दुई अधिवेशनको भव्य सफलता अन्तर्राष्ट्रिय समाजले चिनियाँ नीतिमाथि ध्यान दिने अवसर भएको र यो विश्वले चीनको परिवर्तित शासन व्यवस्थाको विश्लेषण गर्ने महत्वपूर्ण झ्याल पनि हो । चीनले आफ्नो शासन व्यवस्थालाई एक ‘मौलिक प्रजातन्त्र’ भन्ने गरेको छ । चालू वर्षका दुई अधिवेशनमा चिनियाँ राष्ट्रिय जन काँग्रेसका करीब तीन हजार प्रतिनिधि र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका दुई हजार सदस्यले बेइजिङमा भेला भएर चीनको आगामी पन्ध्र वर्षसम्मको आर्थिक तथा सामाजिक विकास परियोजनाबारे मस्यौदामा छलफल गरेका छन् । चीनको यस कार्यले चिनियाँ शैलीको समाजवादी जोडदार जीवन्त शक्तिलाई फेरि एकपटक पुष्टि गरेको छ । सम्मेलनले विश्वको प्रजातन्त्र बहुपक्षीय रहेको र विभिन्न मुलुकले राष्ट्रिय अवस्थाबमोजिम आफूसँग सुहाउने विकासको बाटो छनोट गर्ने अधिकार रहेको भन्दै प्रजातन्त्र नारा नभई जनताको समस्याको समाधान गर्ने एक साधन हुनुपर्नेमा जोड दिएको छ ।

मे महिनाको २२ तारिखबाट बेइजिङमा शुरु भएको तेह्रौं राष्ट्रिय जनकङ्ग्रेसको तेस्रो सम्मेलन र मे २१ परामर्शदातृ सम्मेलन मार्चसम्म सकिएका छन् । राजधानीमा यो समयमा सम्पन्न राष्ट्रिय जनकँग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को वार्षिक बैठकले चीनले एक वर्षका लागि गरिने कार्य योजना मात्रै नभई विश्वका लागि चीन सम्बन्धमा अवलोकन गर्ने महत्वपूर्ण आधार पनि हो । यी दुई महत्वपूर्ण अधिवेशनमा गत आर्थिक वर्षको वार्षिक कार्य प्रतिवेदन समीक्षा, आर्थिक तथा सामाजिक विकास योजनाको समीक्षा र केन्द्रीय तथा स्थानीय बजेटको समीक्षा गरिनुका साथै आगामी आर्थिक वर्षका लागि वार्षिक कार्ययोजना तथा बजेट पारित गरिएका छन् । चीनको राजनीतिक मामिलाको मन्थन, समीक्षा, बहस, योजना र नीति तर्जुमाको यो सम्मेलनको कार्य प्रभावले चीन र आम चिनियाँ जनतालाई मात्रै नभई छिमेकी मुलुक र विश्वलाई समेत प्रत्यक्ष–प्ररोक्ष प्रभावित पार्ने गर्दछ । दोस्रो आर्थिक शक्ति राष्ट्र चीनका नीतिगत पहल र सामरिक तथा रणनीतिक कदमतर्फ विश्वको ध्यान खिचिनु स्वभाविक नै हो ।

दुवै अधिवेशनमा हाल सामना गरिरहेको कोभिड–१९ महामारी र यसले निम्त्याएका चुनौतीलाई परास्त गर्ने विषय नै प्रमुख विषय बनेको छ । यसबाहेक, यस वर्ष चीनको गरिबी निवारण (उन्मूलन) अभियानको अन्तिम वर्ष हो, धेरै हदसम्म सफल भइसकेको चीनले गरिबी निवारणको लक्ष्य हासिल गर्ने बाटोमा रहेका केही अवरोध पन्छाउने योजना ल्याएको छ साथै यी सम्मेलनले कोभिड–१९ ले निम्त्याएको रोजगार समस्या, वैदेशिक व्यापार तथा वैदेशिक लगानी र चीन अमेरिकाबीच जारी व्यापार युद्धका बारेमा आगामी दिनमा अगाडि बढ्नलाई मार्ग प्रशस्त गरेको छ । यसैगरी यो वर्ष चीनको तेह्रौँ पञ्चवर्षीय (२०१६–२०२०) योजनाको अन्तिम वर्ष हो । यस सम्बन्धमा पनि लेखाजोखा भएको छ । साथै विश्वव्यापीकरण र नवीन रेशममार्ग अर्थात् बेल्ट एण्ड रोड इनिसिएटिभलगायत, अन्तरीक्ष अन्वेषण र नवप्रविधिको खोज तथा अनुसन्धानका विषय पनि मुख्य मुद्दा रहेका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसहित सरकारका नेताहरू गरी तीन हजारभन्दा बढी राष्ट्रिय जनकँग्रेसका प्रतिनिधिहरू र जनराजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनमा दुई हजारभन्दा बढी सदस्यले चीनको समग्र विकास सम्बन्धमा छलफल गरेका छन् । सन् १९९५ देखि मार्चको प्रारम्भमा गरिँदै आएका यी दुई अधिवेशन कोभिड–१९ को महामारीको रोकथाम तथा नियन्त्रण नै देशको पहिलो प्राथमिकता भएका कारणपछि सारिएको थियो ।

शासन व्यवस्थाबारे चिनियाँ धारणा
चीनका राष्ट्राध्यक्ष सी जिनपिङले जनवरी २५ मा विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डाबारेमा भिडियोद्वारा विशेष सम्बोधन गर्दै चीनको विश्वलाई हेर्ने दृष्टिकोण र अपेक्षाबारे धारणा राखेका छन् । उनले विश्वव्यापी कहर बनेको कोरोनाभाइरस नियन्त्रणमा आइनसकेकाले महामारी नियन्त्रणमा चीनलगायत विश्वका विकसित मुलुकहरूको प्रमुख चासो र भूमिकालाई जोड दिनुभएको थियो । चिनियाँ नयाँ वर्षको थालनीका क्रममा गरेको उहाँको सम्बोधनले विश्वका लागि आशाको सन्देश प्रवाह गरेको छ ।

उनले सम्बोधनमा भने, “हाल महामारी समाप्त भएको छैन र महामारीविरूद्ध कार्य जारी छ । हिउँदे जाडो यामले वसन्तको पाइला रोक्न सक्दैन, रातले बिहानको घाम रोक्दैन भन्ने विश्वास व्यक्त गर्दै मानवजातिले अवश्य नै महामारीलाई जित्ने र प्रकोपविरूद्ध लडाईंमा प्रगति गरी पुनःजीवन प्राप्त गर्ने कुरामा हामीले विश्वास गर्नुपर्छ ।” विश्वमा ठ्याक्कै मिल्ने दुई समान पात हुँदैनन् । पूर्ण समान ऐतिहासिक संस्कृतिक तथा सामाजिक व्यवस्था पनि हुँदैन भन्ने कुरामा जोड दिँदै राष्ट्राध्यक्ष सीले कुनै देश वा समूहले निर्माण गरेको सिद्धान्तमा चीन अघि बढ्न बाध्य नहुने तर अन्तर्राष्ट्रिय कानून, सिद्धान्त र न्यायसङ्गत दृष्टिकोण चीनका लागि स्वीकार्य रहने बताए ।

विभिन्न देशको सामाजिक व्यवस्थाबीच उच्च–निच, बलमान–कमजोरबीचमा कुनै फरक छैन । सामाजिक व्यवस्था स्वदेशको अवस्थासँग अनुकूल हुन्छ । जनताले समर्थन गरे मात्र राजनीतिक स्थिरता, सामाजिक प्रगति, जनजीवनको सुधार हुन्छ र मानवको प्रगतिमा योगदान दिने विषयसँग केन्द्रीय सम्बन्ध रहेको मानिन्छ, सम्बोधनमा उनले जोड दिए ।

राष्ट्राध्यक्ष सीले अमेरिकी केही उच्च पदस्थ अधिकारीको चीनलाई हेर्ने धारणाबारे डाभोसमा व्यक्त भनाइ चिनियाँ आगामी रणनीति बुझ्नका लागि पर्याप्त हुने देखिन्छ । उनले भिन्नता नभएमा मानवको सभ्यता नहुने र चिनियाँ अनि भिन्नता डरलाग्दो नभएको तर डरलाग्दो कुरा घमण्ड, पूर्वाग्रह तथा घृणा भएको र मानवको सभ्यतालाई विभिन्न तहमा विभाजन गर्नुपर्नेमा जोड दिए । आपसी सम्मान हुने, सहमति खोज्ने र असहमतिलाई कायम राख्ने आधारमा विभिन्न देशले शान्तिपूर्ण सहअस्तित्व खोज्नुका साथै आपसी आदानप्रदान तथा सिकाइलाई घच्घच्याएर मानव सभ्यताको विकास तथा प्रगतिमा शक्ति थप्नुपर्ने राष्ट्रपति सीको विचार हो । उनले मानवजातिको सामु देखापरेका सबै विश्वव्यापी समस्या जुनसुकै मुलुक एक्लैले समाधान गर्न सक्दैन बरू विश्वव्यापी सामना गरेर सहयोगमार्फत् काम गर्नुपर्ने सम्बोधनमा बताए । इतिहास र वास्तविकताले हामीलाई भनेको, वर्तमान संसारमा प्रतिद्वन्द्वको बाटो हिँड्ने हो भने शीतयुद्ध, तापयुद्ध वा व्यापार युद्ध र विज्ञान युद्धले अन्त्यमा विभिन्न मुलुकको हितमा हानी पुर्याउने र जनतालाई विशाल क्षति पुग्ने उनले बताए ।

उनले अन्तर्राष्ट्रिय समाजले विभिन्न मुलुक बीचको नियम र सहमतिले संयुक्त रूपमा विश्वको सञ्चालन गर्नुपर्ने तर एक वा केही मुलुकले मात्रै आदेश निर्देशन दिन नहुनेमा जोड दिए । शासन व्यवस्था तथा नियममार्फत् विभिन्न मुलुकबीचको सम्बन्धलाई सामन्जस्य मिलाउनुपर्ने, बलियोपनको भरमा कमजोरलाई थिच्नु नहुने बहुपक्षवादको नाउँमा एकपक्षीय गतिविधि गर्नु न्यायसङ्गत नहुने र चीन यसप्रति प्रतिबद्ध रहेको बताए । सिले सिद्धान्तलाई पालना गर्नुपर्ने, नियम तोकिएपछि सबैले प्रभावकारी रुपमा पालना गर्नुपर्ने भन्दै ‘छनोटसहित बहुपक्षीयवाद’ निर्विकल्प रहेको बताए ।

प्रशंसाजनक उपलब्धिहरु
चीनले पछिल्ला दशकहरूमा स्वतन्त्र तथा शान्तिपूर्ण वैदेशिक नीति पालना गरेर विभिन्न देशसँगको मैत्रीपूर्ण सहयोग सम्बन्धको सक्रिय रूपमा विकास गरेको पाइन्छ । अर्थतन्त्रको तीव्र विकास र समाजको दीर्घकालीन स्थिरता दुवै चमत्कार कसरी सिर्जना भयो भन्ने बारेमा विश्वलाई आश्चर्य लागेको बेला चीनको विशेषतायुक्त समाजवादी प्रजातान्त्रिक राजनीतिले एक महत्वपूर्ण उत्तर दिएको छ । जनताको इच्छा देखाउने, जनताको हितको प्रत्याभूति गर्ने, जनता समर्थन दिइने समाजवादी प्रजातान्त्रिक व्यवस्था चीनको विकासको आत्मविश्वास हो र यसले मानवले प्रजातान्त्रिक सपना खोज्नका लागि बाटोलाई विस्तार गरेको र मानवको राजनीति, सभ्यता र प्रगतिका लागि चिनियाँ बुद्धि उपलब्ध गराएको छ ।

कठिनाइबाट पनि उत्साह भेट्न सकिन्छ,कठिनाइबाट उपलब्धि हासिल हुन सक्छ । यसवर्ष महामारीको नकारात्मक असरको सामना गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नुका साथै आर्थिक सामाजिक विकासमा विशाल उपलब्धि हासिल गरेको दाबी चीनले गरेको छ । ‘चीनको तेह्रौँ पञ्चवर्षीय योजना’ को कार्यभार सफलताका साथ पूरा गरी ‘चौधौँ पञ्चवर्षीय योजना’ चौतर्फी रुपमा पूर्वतयारी गरिसकेको छ । चीनमा नयाँ विकसित प्रारुप तीव्र रुपमा स्थापना गर्दै उच्च गुणस्तरीय विकास गहिरो रुपमा संचालन भइरहेको छ । यसवर्ष विश्व मुख्य आर्थिक समूहमा चीनले एकमात्र आर्थिक वृद्धि गरेर सन् २०२० चीनको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा एक हजार खर्ब चिनियाँ युआनको नयाँ पाइला सार्ने अनुमान रहेको छ । खाद्य पदार्थको उत्पादनमा निरन्तर १७ वर्षसम्म वृद्धि भएको छ । मंगल ग्रह र चन्द्रबारे अनुसन्धान गतिविधि, ‘फनतौच’ नाम दिइएको गहिरो समुद्री अनुसन्धान आदि वैज्ञानिक गतिविधिमा विशाल प्रगतिलाई साकार तुल्याएको छ । हाइनान स्वतन्त्र व्यापारिक बन्दरगाहको निर्माण क्रियाशील रुपमा संचालन गरिरहेको छ । यसवर्ष गम्भीर बाढी प्रकोपको प्रतिरोध गर्दा जनता र सैनिकले सँगसँगै अनगिन्ती कठिनाइको सामना गरेर पनि प्रकोपबाट क्षति न्यूनीकरण गरेको छ । कोभिड–१९ बाट बढी प्रभावित चीनका १३ प्रान्त, सहर तथा क्षेत्रमा निष्ठापूर्वक र ठोस रुपमा महामारीविरुद्धको कदमलाई चालेर समय मै पुनः उत्पादन र पुनः काम शुरु गरिएको छ । चीनभरि विभिन्न ठाउँका जनताले आत्मविश्वास लिएर संयुक्त प्रयास गरी उत्पादन र कार्यको सिर्जना गरेका छन् । उल्लिखित जीवन्त दृश्यले बाँकी विश्वका लागि उदाहरण बन्नसक्छ ।

सन् २०२० मा सम्पन्न समाजको पुनःनिर्माण पूरा भएको छ जसबाट चीनले महान् ऐतिहासिक उपलब्धि हासिल गरेका छ । गरिबी निवारण युद्धमा पनि निर्णायक विजय प्राप्त गरी अतिगरिबीमा रहेका नागरिकको जीवनस्तर उकास्ने सबैभन्दा गाह्रो कार्य र कठिन समस्यालाई पनि निर्मलीकरण गरेको चीनले आठ वर्षसम्मको अथक प्रयासपछि वर्तमान मापदण्डमा लगभग १० करोड ग्रामीण गरिब जनसंख्यालाई मुक्त पारेको छ भने ८३२ वटा गरिब जिल्ला पनि मुक्त भएका छन् । ग्रामीण क्षेत्रको पुनःउत्थानका लागि चीनले कठिनाइका बाबजुद अथक प्रयास गर्दै साझा समृद्धिको लक्ष्य पूरा गर्न स्थिरताका साथ अघि बढ्दै गएको छ ।

सन् २०२१ चिनियाँ कम्युनिष्ट पार्टी स्थापित भएको एक सयौँ वार्षिकोत्सव हो । एक सय वर्षको यात्रामा उतारचढाव देखा परेतापनि शुरूमा चीनले लिएको मन परिवर्तित नभएको चिनियाँ अधिकारीहरूले बताउँदै आएका छन् । शाङहाईस्थित सखुमनदेखि च्यासिङस्थित नान हु तालसम्म जनता र राष्ट्रको आशा बोकेर ती स–साना राता डुँगाहरूमा बसेका चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूले खतरनाक प्रवाहमा चीन स्थिरताका साथ अघि बढ्दै जाने यात्रामा पथ–निर्देशन दिइरहेका छन् र अहिले बल्ल ती ससाना डुँगाहरू विशाल जहाजको रूपमा परिणत भइरहेका छन् । महान कार्य मनमा राखी एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा हामीले जनतालाई केन्द्रमा राख्दै शुरूआतको विचार र आफ्नो कार्यभार मनमा लिइरहेका चिनियाँ जनता र चीन राष्ट्रको महान पुनःउत्थानलाई साकार तुल्याउने विश्वास वर्तमान नेतृत्वले सफलतासाथ अघि बढाउनेमा कुनै कमजोरी नगरोस् । यसले चीनलाई केही वर्षमा नै विश्वको सर्वशक्तिमान राष्ट्र बनाउने छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *